सभापति र उपसभापतिको अनुपस्थितिमा गगन दुःखी

सभापति र उपसभापतिको अनुपस्थितिमा गगन दुःखी

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थित हुँदा महामन्त्री गगनकुमार थापाले दुःख व्यक्त गरेका छन्।

महाधिवेशन उद्घाटन सत्रमा बोल्दै थापाले भने, ‘उद्घाटन हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं। हाम्रो कार्यवाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं। यसले हामीलाई खुशी पार्दैन,’ उनले थपे।

थापाले कांग्रेसमा बाहिरबाट झन् झगडा भइरहेको जस्तो देखिए पनि, भित्र भइरहेको संघर्ष विचारको हो, शक्ति वा विवादको होइन भनी स्पष्ट पारे। उनले भने, ‘कतिलाई बाहिरबाट हेर्दा झगडा भइरहेको जस्तो लाग्न सक्छ। तर यो संघर्ष नै विचारको हो। जिउँदो कांग्रेसले समाजप्रतिको जिम्मेवारी पूरा गर्न सक्छ।’

महामन्त्री थापाले आफू बीपी कोइराला वा गणेशमान सिंहको छोरा नभए पनि उनीहरूको विचार र साहस बोकेर हिँड्ने सच्चा सिपाही भएको उल्लेख गरे। ‘म बीपीको छोरा होइन, म गणेशमानको छोरा पनि होइन। मेरो शरीरमा उहाँहरूको रगत बगेको छैन। तर मसँग उहाँहरूको विचार र साहस छ,’ उनले भने।

थापाले गणतन्त्र स्थापनापछि ‘नेपो–बेबी’ नेतृत्व देख्दा नयाँ पुस्तामा असन्तोष भएको बताए। उनले भने, ‘जनताले भ्रष्टाचार र कुशासन देखेर रिस पोखेका थिए। यसमा हामी पनि सहभागी थियौं, व्यक्तिगत रूपमा होइन।’

विशेष महाधिवेशनको महत्वसमेत उल्लेख गर्दै उनले भने, ‘यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर देखाउनुपर्छ।’

टिप्पणीहरू