बिजुलीको चिमसँगै कुलमान मोबाइल र बाँसुरी पनि नियाल्दै
रास्वपासँग छुट्टिएका उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारलाई बिजुलीको चिम र समानुपातिकतर्फ अर्कै चुनाव चिन्हमा भोट हाल्न लगाउने भएका छन् । रविको घण्टीसँग १२ दिनमा सम्बन्ध टुटेपछि पुस १४ गते मध्यरात बुझाइएका समानुपातिक उम्मेदवार १७ जनाको नाम कुलमानका लागि भुससरह भएको छ ।
आगामी निर्वाचनमा उनी प्रभु साह नेतृत्वको आम जनता पार्टीको मोबाइल चिन्हका लागि समानुपातिक मत माग्ने अभियानमा लाग्ने सम्भावना बढेको बताइन्छ । उनेपाले पुस १४ गते घण्टी चिन्हबाट आफ्ना उम्मेदवार उठाएको थियो । साह निकट एक नेताले भने, ‘अब घण्टी होइन,समानुपातिकतर्फ मोबाइल भन्दै भोट माग्छन् होला ।’
तर प्रत्यक्ष निर्वाचनमा भने बिजुलीको चिम चिन्ह लिएर उम्मेदवार उठाउने तयारी छ । अर्को एउटा स्रोतले यसबीचमा प्रभुसँगै जनार्दन शर्माको प्रलोपासँग पनि कुराकानी भएको दावी गरेको छ । मतपत्रको १३ नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टीको आँखा चिन्ह छ ।
उता झापाका राजेश पोर्तेलको अध्यक्षतामा खुलेको राष्ट्रिय परिवर्तन पार्टीसँग पनि समानुपातिकका लागि कुराकानी भइरहेको बुझिएको छ । राई, लिम्बू र जनजातिका धेरै जेन जी रहेको पोर्तेलको पार्टीको चुनाव चिन्ह बाँसुुरी हो । जेन्जी आन्दोलनका क्रममा एक खुट्टा गुमाएका अभियन्ता राजेश पोर्तेलको पार्टी चुनाव चिन्ह मतपत्रको ३३ नम्बरमा छ ।
मतपत्रमा उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बिजुलीको चिम ६४ नम्बरमा छ भने आमजनता पार्टीको मोबाइल १०२ नम्बरमा देखिन्छ । चिम समानुपातिकमा छैन ।
टिप्पणीहरू