लामो समयपछि मधेश यात्रामा निस्किएका नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बारामा भव्य स्वागत गरिएको छ । केहीबेर अघि सिमरा विमानस्थल पुगेका उनलाई शुभचिन्तक र समर्थकहरुले फूलमालासहित भव्य स्वागत गरेका हुन् ।
अबको केही दिन गगनले मधेशका विभिन्न जिल्लामा पुगेर चुनावी सभा तथा प्रचारमा सहभागी हुने बताइएको छ । प्रतिनिधिसभा सदस्यको लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेद्वारी दिएका उनी कांग्रेसकै पृष्ठभूमि भएका रास्वपाका उम्मेद्वार अमरेशकुमार सिंहसँग प्रतिस्पर्धा गर्दैछन् । उक्त निर्वाचन क्षेत्रको लागि एक दर्जन बढीले उम्मेद्वारी दर्ता गराए पनि गगन र अमरेशलाई नै बलियो उम्मेद्वार मानिएको छ ।
पार्टीले धनुषाको जनकपुरधाममा चुनावी सभा आयोजना गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आचारसंहित लागू गरेपछि अन्तिम अवस्थामा स्थगित गरिएको छ ।
यसअघि रास्वपाले पनि जनकपुरमै चुनावी सभा आयोजना गरेको थियो ।
उता नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल समेत मधेश यात्रामा निस्कन लागेको जानकार एक नेताले बताए ।