सबै श्रेणीहरू

‘हेट मेसेज’मा तानिँदै बालेन

‘हेट मेसेज’मा तानिँदै बालेन

काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर झापा ५ मा आगामी निर्वाचनका लागि उम्मदेवार रहेका बालेन्द्र साहमाथि ‘हेट मेसेज’ को आरोप लागेको छ । सामाजिक सञ्जालमा लेखेका विवादास्पद अभिव्यक्तिका कारण विवादमा तानिएका उनलाई घृणात्मक, भ्रामक र मानहानीको आरोपमा निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ ।

धर्मराज तिमिल्सिनाले आज निर्वाचन आयोगमा दर्ता गरेको निवेदनमा बालेनले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्ताव गरिएको पारदर्शी, तथ्यमा आधारित पब्लिक डिबेटप्रति दिएको प्रतिक्रिया लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख छ । निवेदनमा बालेनले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने’ जस्ता शब्द प्रमाण र अदालतको फैसलाबिना लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप भएको दाबी गरिएको छ। 

यस्ता अभिव्यक्तिले व्यक्ति र राजनीतिक दलको प्रतिष्ठामा क्षति पुर्याउने, जनघृणा फैलाउने र मतदाताको मानसिकता भ्रमित पार्ने खतरा बढाउने उल्लेख छ। उनले निर्वाचन आयोगसँग तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भए कारबाहीको माग गरिएको छ ।

निर्वाचनमा उम्मेदवार र तिनका दलबाट फेरि यस्ता अभिव्यक्ति नदोहोर्याउन, लोकतान्त्रिक बहसलाई नीति, कार्यक्रम र तथ्यमा सीमित राख्न लगाउन पनि आयोगसँग आग्रह गरिएको छ। सामाजिक सञ्जालमा बालेनको पछिल्लो टिप्पणीले चुनावी बहसमा मात्रै नभई लोकतान्त्रिक वातावरण नै बिगार्न खोजेको बताइन्छ ।