अगस्ती बन्न अझै पुगेन र कमरेड अग्रजहरु ?

अगस्ती बन्न अझै पुगेन र कमरेड अग्रजहरु ?

-केशव थापा

विगतमा कत्राकत्रा विवाद झेलेर यहाँसम्म आइपुगेको नेकपा एमाले अहिले सैध्दान्तिक विवादबिना नै विभाजनको सङ्घारमा पुगेको छ । विभाजन केका लागि भनेर घोत्लिदा खासै आधार कारण भेटिन्न । भेटिन्छ त केवल एउटा नेताले अर्को नेतालाई स्वीकार नगर्ने वित्थाको दम्भ ।

विगतमा क. सिपी मैनाली,क.मदन भण्डारी,क. मनमोहन अधिकारीहरुमा पनि नेतृत्व कम,नेता बढी हुने दम्भ पलाएको भए नेपालको कम्युनिष्ट आन्दोलन अहिलेको अवस्थामा आइपुग्ने थिएन,सायद । विगतका महाविवादकै भुमरीमा पनि विशेष गरी क. मदन भण्डारीको सुझबुझ र अन्य नेताको देश,जनता र पार्टीप्रतिको जिम्मेवारबोधले अन्यथा हुन पाएन । वि.सं. २०४६ सालको बहुदलीय प्रजातन्त्रको स्थापनासङ्गै क.मदन भण्डारीको सार्वजनिकीकरणपछि पार्टी अधिकाधिक जनतामा स्थापित हुन सकेको हो ।

‘सबको मुखमा झुण्डेको छ- जोगी हुन कम्युनिष्ट पार्टीमा लागेको होइन । जसरी हुन्छ अमिर बन्नु छ ।’

चालिसको दशकको मध्यसम्म रामेश-मञ्जुल र सहकर्मी प्रगतिशील कलाकारका गीत र सङ्गीतझैं जनजनमा लोकप्रिय थिए,क. मदनका दमदार भाषणहरु । अबकाे बाटोको सम्बन्धमा पनि उहाँले गोरेटो हैन बहुदलीय जनवादको सिध्दान्त प्रतिपादन गरेर राजमार्ग नै बनाई दिनु भएको थियो । तर, त्यसपछिका नेतृत्वले त्यसको महत्व बुझेर हिफाजत र सदुपयोग गर्न सकेनन्। र,अहिले बीभत्स दुर्घटना बेहोर्नुपर्ने अवस्थामा पुगेको छ ।

विग्रहका श्रृङ्खलाहरु एकपछि अर्को चाङ् लाग्दै थिए । नेतृत्व क. मदनले खनिदिएको मार्ग छाडेर अस्वभाविकरुपले छेउभित्तो गर्दै थियो । तर,शुभेच्छुक,बुध्दिजीवी, जनवर्गीय सङ्गठन,लेबीधारी लाखौं कार्यकर्ता कसैले पनि देखिदै गरेको ताल ठीक भएन भनेर आवाज उठाउने हिम्मत गरेनन् ।

काममार्फत उदाहरण प्रस्तुत गर्ने कर्मीमौरी हुन छाडेर सरकार काम र ज्ञानकोबीच तादात्म्यता राख्नु नपर्ने पण्डितको रुपमा प्रस्तुत हुँदैछ ।

बैठक बस्न नपरेको,लेबी नियमित बुझाउन नपरेको, नियुक्तिको लागि जन्मकुण्डली नेताको खल्तीमा पुगेकोमा मख्ख परेर कसैले प्रश्न सोध्ने साहस गरेनन् । उपल्लो नेता मालिक र आफू भूँईतहको कार्यकर्ता भएको मानसिकताले घर गर्दै जान थाल्यो । निज र आफू साझा उद्देश्यका लागि जुटेका सहयोध्दा हौं भन्ने सत्य भुल्ने काम भयो । नेता दिने र बाँकी अलोख जगाउने अवस्थामा पुर्याइए । र,आज यो दुर्दिनको निमित्त आधारभूमि तयार पार्ने काम भयो ।

वरिष्ठ पत्रकार विजयकुमार पाण्डेको आशय सापट लिएर भन्नुपर्दा अहिले नेकपा एमाले अधिकांश कार्यकर्ता जस्ता छन्,नेता पनि दुरुस्त त्यस्तै छन् । र,तिनै नेता गुनाका कार्यकर्ता “बलशाली” बन्दैछन् । कसलाई हुनुपरेको छ खै सादगी र त्यागी कम्युनिष्ट नेता वा कार्यकर्ता ? बस्,सबको मुखमा झुण्डेको छ- जोगी हुन कम्युनिष्ट पार्टीमा लागेको होइन । जसरी हुन्छ अमिर बन्नु छ ।

गफाडी पण्डितले ईश्वरकोबारे बताउन त धेरैथोक सक्ला तर ईश्वरसँगै साक्षात्कार गराउन सक्दैन

जनताले दुईतिहाई नजिकको मत ओइर्याएपछि सोहीअनुसार देश र जनताप्रति बढी उत्तरदायी र जिम्मेवार,अधिकाधिक जनकल्याणसम्बन्धी कामको शुरुवात,पोस्नै परे पनि अहोरात्र खट्ने इमान्दार कार्यकर्ताको पहिचान र पुरस्कार,मेरो/हाम्रोभन्दा सुयोग्यको पक्षधरता,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो सरकारको रुपमा यसको संस्थागत विकास,आवश्यक प्रणाली स्थापना र कार्यान्वयनमा भविष्यका लागिसमेत अनुकरणीय विरासत छाड्ने जस्ता महत्वपूर्ण काम छाडेर सरकार खै के केमा नमज्जाले अल्झिरहेको देखिन्छ ।

काममार्फत उदाहरण प्रस्तुत गर्ने कर्मीमौरी हुन छाडेर सरकार काम र ज्ञानकोबीच तादात्म्यता राख्नु नपर्ने पण्डितको रुपमा प्रस्तुत हुँदैछ । प्रतिपक्षी, सहकर्मी,अन्य सरोकारवाला सबैलाई बाम पुड्कने देख्ने रोगले ग्रस्त पारेको छ । गफाडी पण्डितले ईश्वरकोबारे बताउन त धेरैथोक सक्ला तर ईश्वरसँगै साक्षात्कार गराउन सक्दैन भन्ने हेक्का कमैले मात्र राखेको देखिन्छ । अधिकांश त सरकार नै ईश्वर हो भने झैं गरी अारती उतार्नमा नै व्यस्त देखिन्छन् ।

महाधिवेशनबाट छानिएकाहरु रङ्गमञ्चबाट घोक्रेठ्याक लगाइएका थिए । वरिष्ठ कनिष्ठ बनाइने र कनिष्ठ बरिष्ठ बनाइने उपक्रम रचिएको थियो ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको “पार्टी एकीकरण” पछि त झन् डब्बल ईञ्जिनवाला जेटका पाइलटद्वयको हुँकार सुनिनसक्नु थियो । कमिटी,नेता कसैको किञ्चित मान,मूल्य केही थिएन । महाधिवेशनबाट छानिएकाहरु रङ्गमञ्चबाट घोक्रेठ्याक लगाइएका थिए । वरिष्ठ कनिष्ठ बनाइने र कनिष्ठ बरिष्ठ बनाइने उपक्रम रचिएको थियो । उहाँहरुको मनले खाएका र गणेशभक्तिमा अब्बलहरु भकाभक के.क. मा पदोन्नत भएका थिए । के.क.पनि नाममात्रको,चुरिफुरि सबै सचिवालयको थियो । अन्य सङ्गठनात्मक संरचनाहरु विघटित थिए । अचम्मको थियो यतिबेलाको कम्युनिष्ट पार्टीको सङ्गठनात्मक संरचना !

तिनताकै सरकारी कार्यालयमा कोठाचोटा,बार्दली,बाथरुम जताततै टाँसिएका ‘म भ्रष्टाचार गर्दिन …..’ जस्ता नारा शरमले पानीपानी भैसकेका थिए ।

जित्नेले हार्नेको यथोचित सम्मान गर्नुपर्ने,हार्नेबाट पनि महाधिवेशनको कार्यादेशलाई सहज स्वीकार गर्दै देश,जनता र पार्टीलाई हानी हुने अति संवेदनशील बाहेकका अन्य विषयमा काम गर्न दिएर प्राप्त हुने परिणामको आधारमा आलोचना/ प्रशंसा गर्ने जस्ता उदात्त व्यवहार प्रदर्शन हुन सकेन । निकटकाहरुले म नै छोटे महाराज नबनेर मेरो कर्तव्य त तालुकवालाको काममा सहयोग गर्नु हो,निजको प्रतिष्ठामा आच आउन नदिनु हो,तथ्यलाई तर्कले ओझेल नपार्नु हो,अभेद्य पर्खाल खडा गरेर नेतालाई जनताबाट टाढा नराख्नु हो,अनेक तिक्डम गरेर नेताहरुको बीच दरार खडा नगर्नु हो,यहाँनेर गल्ती भो, हुँदैछ भनेर भन्ने साहस जुटाउनु हो भन्ने सोच्न सकेनन् ।

एमालेका कार्यकर्ता पनि यो दुर्दशा निम्त्याउन नेताहरु सरह नै जिम्मेवार छन् भन्दा अत्युक्ति हुँदैन ।

राज्यको तलबसुविधा उपभोग गर्ने म निजी भारदारजस्तो बन्नु हुन्न भन्ने कर्तव्यबोधसहितको स्वाभिमानको भावना जागृत हुन सकेन । नेताको शारीरिक चालढाल हेरेर हनुमानभक्तिमा आफूलाई तल्लिन राख्ने मात्र काम भयो । नेता र नेताका अासेपासेहरुको यी प्रवृत्ति र प्रवृत्तिकाधारकहरुलाई स्मरण नगरी पछिल्लो घटनाक्रमलाई सहीढङ्गले बुझ्न सकिन्न ।

पार्टीको सदस्य भएकोमा गौरवबोध गर्ने,चुनावमा खाइ नखाई खटेर अाफ्नो नेता वा सहकर्मीलाई छोटे महाराज बनाउन सक्ने तर तिनीहरुले जनमतको अवमूल्यन गरेर पार्टी,जनता र देशलाई प्रत्यक्ष हानी हुने हदसम्मको हर्कत गर्दा पनि त्यसको विरुध्द खबरदारी नगर्ने नेकपा एमालेका कार्यकर्ता पनि यो दुर्दशा निम्त्याउन नेताहरु सरह नै जिम्मेवार छन् भन्दा अत्युक्ति हुँदैन । अतः नेतातिर धारेहात लगाउनुपूर्व ऊनीहरुले आफूतर्फ पनि दृष्टि दिन सक्नुपर्छ ।

प्रतिनिधिसभा विघटन श्रृङ्खला १-२ सम्मका जे जति वाञ्छित /अवाञ्छित कामहरु भएका छन् अधिकांश तह र तप्काबाट तिनीहरुलाई रुचाइएक छैन । सरकारप्रमुख स्वयम् पनि अाफ्नो नेतृत्वमा सर्वदलीय सरकार बनाउन तयार भन्ने समाचारले सरकार स्वयं पनि अाफूले चालेको कदमप्रति विश्वस्त हुन नसकेको देखिन्छ । जे भएपनि सरकार जस अपजसको पर्याय भएकाले उसलाई यो कामले खासै असर नगरेता पनि सम्मानित राष्ट्रपति नामक संस्था सरकारको पक्षधरताको आरोपमा महाआलोचित हुन पुगेको छ । गणतन्त्रको स्थायित्वको लागि यो सुखद् विषय होइन । हेक्का राख्ने कसले खै ?

विवाद समाधानको लागि भनी कार्यदल बनिसकेको अवस्थामा यदि नेतृत्वलाई भित्रदेखि पार्टीको असमझदारी हल गर्ने चाहना थियो र यो देखाउने दाउपेच मात्र थिएन भने छिटोछरितोसङ्ग अत्यावश्यक काम सकेर राष्ट्रियसभा निर्वाचनसम्बन्धमा सर्वस्वीकार्य निर्णय लिन केले बाधा गर्थ्यो र ?

पार्टीलाई मिलाउने नै मनसुवा थियो भने गर्न खोजिएको कामसम्बन्धी निर्णय प्रक्रियामा थोरै मात्र भएपनि अर्कोपक्षलाई सहभागी तुल्याएको भए सायद यो अवस्था आउने थिएन कि ? अर्को पक्षले पनि यससम्बन्धी काममा चासो र सक्रियता लिएको देखिएन । दोस्रो पुस्ताका केही नेता कुदेको समाचार त आयो तर त्यसको परिणाम आएन । भएको दही पनि बिग्रार्ने तर घ्यु ननिकाल्ने भएपछि त्यस्तो मोही मथाइको पनि के प्रयोजन र ?

पार्टीले जिम्मेवारी नदिने र पटकपटक उचाल्ने,थचार्ने कामले उतर्सिएका वरिष्ठ नेताको प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँगको लसपसलाई लिएर व्यापक चर्चा परिचर्चा र सत्तोसराप भैरहेको छ । असंभवप्राय: लाग्ने काममा नेताको हतारोले यस्तो तरङ्ग सिर्जना गर्नु स्वभाविकै

हो । तर यता पनि हिजो आफैले उछित्तो काढेको नागरिकता विधेयकलाई अध्यादेशरुपी किस्तामा राखेर मधेसवादी दल ज.स.पा.सँगको गठजोडलाई कसरी औचित्यपूर्ण ठहर्याउने होला ? भावी परिणामको दृष्टिकोणले कुनचाहिं बढी घातक होला विचारणीय देखिन्छ । क्षणिकलाभ पाका नेताहरुलाई सुहाउने विषय होइन । हो,यहाँनेर निश्चय नै एउटा फरकचाहिं छ ।

सत्ताधारी नेता आफै बेहुलो बनेर अन्यलाई जन्ती बनाउन सफल हुनुभयो भने अर्का नेता बनाउने भनिएको बेहुलोबाट हुत्याँइदा पनि लुखुरलुखुर शीतलनिवाससम्म जन्ती बनेर जानुभयो । जहाँसम्म बूढानिलकण्ठधामको यात्रा छ, त्यसको शुरुवात लावालस्करसहित पहिला बालुवाटारबाट नै भएको जस्तो लाग्छ । पछि बल्ल अरुले त्यो पदचापको अनुशरण गरेका हुन् । तरै पनि विधि र प्रणालीको कुरा गर्ने,लामो नेतृत्वको अवसर प्राप्त गरेका पाको नेताले परिस्थिति, संभावना,परिणाम,कार्यकर्ताको चाहना अादि केहीको हेक्कै नराखी भावावेशमा अाएर भोलि जुन शक्तिसँग प्रतिष्पर्धा गर्नुपर्ने हो उसैसँग गठजोठ गर्न गरेको हतारोलाई वाम समर्थकहरुले बुझ्न सकेका छैनन् ।

नेकपा एमालेको उच्च नेतृत्व सामूहिक त्याग,बलिदानको पुञ्ज भएकोले वामपन्थी लगायत देशभक्त राष्ट्रवादीहरु सामु सम्मानित थियो । अहिले शक्ति र सत्ताको अाडमा मान खोज्ने र सत्ताबिना त एकछिन पनि बाँच्न सकिन्न जस्तो गर्ने प्रवृत्तिले यसमा ह्रास आउँदैछ । सत्ता साधन नभएर अब गुमाउनै नहुने साध्य बन्दो छ ।

समाधानको मुखमा पुगिसकेको समस्यालाई फेरि भताभुङ्ग पारेको,कम्युनिष्ट आन्दोलनको रक्षा र कार्यकर्ताको भावनाको सम्मानको लागि आफ्नो अहं त्याग्न अलिकति पनि तयार नदेखिएको,निकटकाहरुलाई गरुडको छायामा परेको सरिसृपजस्तो बोल्नै नसक्ने तुल्याएको देख्दा अहिलेको सङ्कट पार लगाउने मनसुवा देखिदैन । एकातिर प्रचण्ड बहुमत ल्याएर अझ कसिलो तवरले सत्ताको बागडोर हाँक्ने भोक देखिन्छ । अर्कातर्फ जसरी हुन्छ देखाइदिने झोकमात्र देखिन्छ । फुटेको पार्टी,विभाजित कार्यकर्ता, कम्युनिष्ट सिध्याउने अनेक खेलले कसरी भारी मत आउला ? अनि टेक्ने जमिन नै भासिएपछि कहाँ उभिएर देखाइदिने होला, बुझिनसक्नु छ ।

यस अवस्थामा दोश्रो पुस्ताका नेताहरुले भावी दुःखद् परिणामलाई ख्याल गर्दै सामूहिकरुपले यदि नेताहरुले नमिल्ने नै कसम खाएको हो र मिल्दा कतैबाट कुरीकुरी गर्छन् भनेर डराएको हो भने समृध्द नेपाल र सुखी नेपाली बनाउने महाअभियान र विधि प्रक्रियाको लागि भिड्दाभिड्दा पसिनाले निथुक्क भएका दुवै नेतालाई केही समय आरामका लागि आग्रह गरेर कम्युनिष्ट आन्दोलन जगेर्ना गर्ने साहस नदेखाउने हो भने नेताहरुले घचेट्दैघचेट्दै डिलमा पुर्याएको आन्दोलन भीरबाट खस्ने निश्चित छ ।

नेताहरुलाई भन्न सक्नुपर्छ भारतमा महात्मा गान्धी,चीनमा देङ्सियाओ पिङ्,नेपालमै पनि सर्वमान्य नेता गणेशमानसिंह सत्तामा नबसेर पनि सर्वाधिक सम्मानित भए । यहाँहरुले त वि.सं.२०४६-७८ सम्म पटकपटक सत्ताको पोखरीमा मनग्गे पौडी सक्नु भयो । अगस्ती नबन्नुहोस्, अब अघाउनुहोस् । हामीलाई पार्टी एकता कायम राख्ने काममा सहयोग गर्नुहोस् । एक भएको पार्टीको लगाम यहाँहरुलाई नै सुम्पियौंला । यो मनको तिर्सनामात्र होला कि कसैले आट गर्ला हेरौं !

टिप्पणीहरू