​डिआइजीको अचम्मको डंका

डिआइजीले फेरि पनि सेलिब्रेटी बन्न फेसबुकबाट राजीनामाको फण्डा निकालेपछि पुलिस हेडक्वार्टरलाई दुःख भएको छ । संयुक्त राष्ट्रसंघीय मिसनमा तोकिएको अवधि पूरा नगरी घुमफिरमा निस्किएका रमेश खरेल अहिलेसम्म न मिसनमा छन्, न संगठनको ड्युटीमा । तर, उनले फेसबुकमा स्ट्याटस र केही अनलाइनमा समाचार हाल्न लगाई हल्ला पिटेपछि उनको अराजकता देखेर हेडक्वार्टर हैरान भएको हो । 

नेपाल प्रहरीबाट खटिएर सुडानको डार्फरस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा पि–४ (फिल्ड कमाण्डर) रहेका उनी एक महिनाभन्दा लामो समयदेखि प्रहरी हेडक्वार्टरको सम्पर्कमा छैनन् । यता, प्रहरी प्रवक्ता मनोज न्यौपाने हैरान छन्, उनीबारे सोध्नेहरूले दिनैपिच्छे फोन गर्दा । भन्ने गरेका छन्, ‘उहाँको बारेमा हेडक्वार्टरलाई केही पनि थाहा छैन ।’ विद्यमान प्रहरी सेवा ऐनअनुसार चैतमा अहिलेका आइजिपीसहितका सबै एआइजी रिटायर्ड भएपछि आइजी हुने व्याचका दुई नम्बरी हुन् उनी । वास्तविकताचाहिँ यस्तो रहेछ, उनी जम्मा एक वर्षका लागि त्यहाँ खटिएका थिए । अवधि पूरा भएपछि थप अवधिका लागि उनले निवेदन दिए ।

संयुक्त राष्ट्रसंघको प्रावधानअनुसार सम्बन्धित कमाण्डरले इच्छा गरेमा र निजको हेडक्वार्टरले स्वीकृत दिएमा बढीमा ६ महिनासम्मको अवधि थप्न सकिन्छ । सोही प्रावधानअनुसार उनले पाँच महिना पहिला अवधि थपका लागि निवेदन दिएका थिए र प्रहरी हेडक्वार्टरले स्वीकृति पनि दिएको थियो । अहिले थपिएको ६ महिनामा पाँच महिना नपुग्दै बजारमा छाउनका लागि उनले फेसबुक र अनलाइनमार्फत हल्ला पिटेका छन् । सामान्यतया संसारको कुनै पनि फौजी संगठनमा यस्तो चल्दैन । अर्थात्, संगठनसँग सम्बन्धित विषय अनुमतिबेगर सार्वजनिक माध्यमबाट घोषणा गर्ने र संगठनलाई वास्ता नगर्ने । तर, उनले चाहिँ फेसबुकबाटै राजीनामा दिए, गृह मन्त्रालयलाई धन्यवाद भने । जबकि, संयुक्त राष्ट्रसंघले आफ्ना मिसनका लागि विभिन्न देशका सुरक्षा निकायबाट माग गर्ने अधिकृतको सबभन्दा पहिलो उत्तरदायित्व आफ्नो संगठनप्रति हुन्छ । अर्थात्, ती अधिकृतले राष्ट्रसंघमा राजीनामा दिने भन्ने विषय नै हुँदैन । परेको मर्का वा इच्छालाई निवेदनमा उल्लेख गर्ने र सो निवेदन उनको मुख्यालयले स्वीकृत गरेमा कार्यान्वयन गर्ने त्यसको प्रावधान हो । खरेलले मिसन छाडेर घुम्न निस्कनुअघि न राष्ट्रसंघ, न आफ्नो मुख्यालय, कोहीसँग स्वीकृति मागेका छैनन् । 

यता, अहिले काठमाडौंमा खरेलका एकसे एक वारेस देखा पर्न थालेका छन् । ‘पेड’ पत्रकारले चलाएका अनलाइनमा उनले ‘राजीनामा’ को फण्डा लेखाइसकेका छन् । उनको आइजी बन्ने अर्जुनदृष्टिमा अहिले ठेकेदारको कनेक्सन फेला नपारेर समस्या भएको छ । राजनीतिक नेतृत्वलाई ठेकेदारहरूको कनेक्सनले मात्र प्रभाव पार्ने कारण उनी यस्तो भाउँतोमा लागेका हुन् । रमेशले समातेका सेनाका ठेकेदार लोकेन्द्र कार्की अहिलेका बहालवाला अर्थमन्त्री ज्ञानेन्द्र कार्कीका भाइ त हुन् । तर, उनी आइजी बन्नुपर्ने चैतमा, चुनाव हुँदै छ मंसिरमै । आजसम्मको स्थिति हेर्दा ज्ञानेन्द्रको पार्टीले चुनावपछि सरकार चलाउलाजस्तो छैन ।

पहिला–पहिला ठेकदारहरूलाई ‘दलाल’ भन्ने रमेश हिजोआज पुलिसका खरिद ठेकेदार, तिनका कनेक्सन खोज्दै हिँड्न थालेको देखेर हेडक्वार्टरका हाकिमहरू अचम्म पर्न थालेका छन् । एमालेसँग उनको सम्बन्ध यसै पनि बिग्रिएको छ । केही महिनाअघि डिआइजी बढुवालगत्तै केपी ओलीकहाँ एकजना एमालेसम्बन्धित व्यक्तिले उनलाई पु¥याए । तर, उतिबेला बेकसुर अमित लामालाई समातेर थुन्ने, ‘छोडिदेऊ’ भन्दा मुख छाड्ने, ‘गृहमन्त्रीलाई सलाम गर्दिनँ’ जस्ता अभिव्यक्तिले अहिले उनलाई पार्नुसम्म अप्ठ्यारो पारेको छ । एमालेको सरकार हुँदा सार्वजनिक कार्यक्रममै आफ्नै संगठनका डिआइजीहरू एआइजी बन्न एमाले नेताकहाँ ब्रिफकेस बोकेर हिँडेका छन् भन्ने रमेश यतिबेला आफ्ना लागि ब्रिफकेस पु¥याइदिने ठेकेदार खोज्दै हिँड्दा हेडक्वार्टरमा हाँसोको विषय बनेको हो । 

उता, नेपाल प्रहरीसँग टियर ग्यासको जोगाड नहुँदा बिर्तामोड घटना भएको निष्कर्ष प्रहरी हेडक्वार्टरले निकालेको छ । प्रहरीका खरिद प्रक्रिया कहिले संसदीय समितिले त कहिले अख्तियारले रोक्दा प्रहरीसँग अहिले चाहिँदो मात्रामा टियर ग्यास र गोलीगठ्ठाको अभाव छ । बिर्तामोडमा आक्रोशित भीडलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास फालिएको भए स्थिति साम्य हुन्थ्यो । तर, केही उपाय नलागेपछि हवाईफायर खोलियो र त्यसले एकजनाको ज्यान लिँदा अहिलेसम्म पनि बिर्तामोड सामान्य स्थितिमा फर्किएको छैन ।

त्यस्तै, निर्वाचन आयोगको सहमति लिएर आइतबार राति सार्वजनिक गरिएको इन्स्पेक्टर सरुवामा आइजिपीका भन्दा एआइजी जयबहादुर चन्द र प्रमपत्नी आरजुका सिफारिस बढी परेपछि महानिरीक्षक सचिवालयमा तनाव छ ।

टिप्पणीहरू