कर्णालीमा लक्ष्य भेट्नै कठिनाइ

कर्णालीमा लक्ष्य भेट्नै कठिनाइ

कर्णाली प्रदेशमा दिगो विकासको लक्ष्य हासिल गर्न कठिन रहेको पुष्टि हुँदै गएको छ । कर्णालीको सामाजिक विकास मन्त्रालयले हिजो आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

कर्णाली प्रदेशलाई सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न बाँकी रहेकोमा अबको ९ वर्षमा पनि स्वच्छ खानेपानी, स्वास्थ्य,वातावरण,गुणस्तरीय शिक्षामा लक्ष्य हासिल गर्न चुनौती थपिएको सरकारी तथ्याङ्कबाट पुष्टि भएको छ ।

भौगोलिक विकटता,दक्ष जनशक्तिको अभाव, कुपोषणलगायतमा कर्णाली प्रदेश राष्ट्रिय सूचकाङ्कभन्दा निकै पछाडि रहेको देखिन्छ । तिनै कमजोर सूचकाङ्कका कारण उक्त लक्ष्य हासिल गर्न चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले दिगो विकास लक्ष्य पूरा गर्ने योजनामा सरकार कटिबद्ध रहेको र यसको कार्यान्वयनमा कर्णाली सरकारले शिक्षा,स्वास्थ्य र रोजगारीलाई प्रथामिकता दिएको जानकारी गराउनुभएको छ । सरोकारवालाहरुभन्दा फरक ढंगले उहाँले भन्नुभयो, ‘सहश्राब्दी विकास लक्ष्य कर्णालीमा सन् २०३० सम्म पूरा गरिनेछ ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले कर्णालीमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेर सबैलाई सूचनामुलक जानकारी गराइएको बताउनुभएको छ । उहाँले कर्णाली प्रदेशमा स्वास्थ्य,शिक्षा र पोषणलाई सरकारले विशेष जोड दिनुपर्ने उहाँको भनाइ छ ।

टिप्पणीहरू