हिजोदेखि गाडी चढ्नासाथ खुरुक्क १८ रुपैयाँ

हिजोदेखि गाडी चढ्नासाथ खुरुक्क १८ रुपैयाँ

बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनमा बढाएको भाडादर हिजोदेखि लागु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्धारण गरेको भाडादरअनुसार यातायात व्यवसायीहरुले हिजोदेखि नयाँ भाडादर लिन थालेका हुन् ।

जसअनुसार सार्वजनिक यातायात चढ्नासाथ अब सर्वासाधारणले १८ रुपैयाँ तिर्नुपर्नेछ । यो दर ५ किलोमिटरसम्म लागु हुने बताइएको छ ।

यस्तै १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ तोकिएको छ । यो भाडादर राजधानी उपत्यकामा चल्ने सार्वजनिक यातायातको निम्ति निर्धारण गरिएको हो ।

त्यस्तै यात्रुले १५ केजी सामानसम्म निःशुल्क र त्यसपछि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँको दरले लैजान पाइने व्यवस्था गरिएको छ ।

सर्वसाधारणले भने बागमती प्रदेश सरकारले बढाएको भाडा दरप्रति आपत्ति जनाएका छन् । सरकारले तोकेको भाडा महँगो भएको गुनासो आइरहँदा बस र अन्य सवारी साधनका सहचालकले भने त्योभन्दा बढी भाडा उठाइरहेको गुनासो सुनिएको छ ।

टिप्पणीहरू