प्रधान न्यायाधीशबाट छ महिनाको समय माग

प्रधान न्यायाधीशबाट छ महिनाको समय माग

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले न्यायाधीशहरुसँग आफूलाई अब ६ महिना काम गर्न दिन आग्रह गरेका छन् । आइतबार अपरान्ह चार बजे भेट्न पुगेका र पौने पाँच बजेसम्म छलफलमा बसेका वार्ता टोलीका सदस्यहरु सपनामल्ल प्रधान,अनिलकुमार सिन्हा र मनोजकुमार शर्मासङ्ग भएको वार्तामा आफूले न्यायालयमा केही सुधार गरेर मात्र बाहिरिन चाहेको कारण चैत्रसम्ममा प्रशासनिक सुधारका काम गर्ने र वैशाखबाट बिदा लिने बताएका हुन् ।

राणाले हिजो अपरान्ह आफू निकटस्थ न्यायधीश मनोजकुमार शर्मासँग आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश पठाए पछि आन्दोलनरत न्यायाधीशहरुले तीन सदस्यीय समिति बनाएर वार्ताका लागि खटाएका थिए ।

संवैधानिक निकायमा भागबण्डा खोजेको,मन्त्रिपरिषद् बिस्तारमा भागबण्डा खोजेकोलगायतका आरोपहरु लागेको र अहिले राजीनामा दिएर हिंड्दा नराम्रो सन्देश जाने भएको कारण राणाले ६ महिना अवधि काम गर्न दिन आग्रह गरेको बताइन्छ । न्यायालय सुधारका लागि काम गर्न समय चाहिने भन्दै उनले न्यायाधीशहरुसँग ६ महिनाको समय माग गरेका थिए ।

उनले ६ महिनासम्म आफू कुनै इजलाशमा पनि नबस्ने,गोलाप्रथाबाट पेशी तोक्ने र यो अवधिमा न्यायालयको प्रशासनिक सुधारका काम गर्ने बताएको भेटमा सहभागी एक न्यायाधीशले जनआस्थालाई बताए ।

हिजो पहिलो चरणको वार्तापछि बिहान साढे ११ बजेदेखि न्यायाधीशहरुको बैठकबाट गठित तीन सदस्यीय वार्ता टोली र प्रधानन्यायाधीश राणाबीच दोश्रो चरणको वार्ता हुने बताइएको छ ।

टिप्पणीहरू