न्यायालय थप अन्यौलको भुमरीमा

न्यायालय थप अन्यौलको भुमरीमा

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले सर्वोच्च अदालतका न्यायाधीशसँगको भेटमा पद त्याग नगर्ने अडान लिएपछि न्यायालय विवाद जटिल मोडमा पुगेको छ । न्यायाधीशहरुको मागअनुसार मार्गप्रशस्त गर्न प्रधानन्यायाधीश राणा टसको मस नभएपछि श्रीमानहरुवीच इज्जतको लडाइँ शुरु हुने संकेत देखिएको हो ।

हिजो न्यायाधीशहरु अनिल सिन्हा,सपना मल्ल प्रधान र मनोज शर्माले प्रधानन्यायाधीश राणालाई भेटेका थिए । राणाले सम्मानजनक बहिर्गमनका लागि तयार भएको सन्देश पठाएपछि आन्तरिक छलफल गरेर तीन जनाको वार्ता टोली भेटवार्ताका लागि गएको भनिएको थियो । भेटमा सहभागी एक न्यायाधीशका अनुसार राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानन्यायाधीश राणा सहमत हुनुभएन ।

प्रधानन्यायाधीश राणाले वैधानिक बाटोबाहेक स्वेच्छिकरुपमा पद त्याग नगर्ने अडान राखेको ती न्यायाधीशले बताए । राणा आफ्नो अडानबाट पछि नहटे केही न्यायाधीश आफै पद त्याग गर्ने मानसिकतामा पुगेको बताइन्छ । ‘उहाँले वैधानिक प्रक्रियाअनुसार मात्र आफू बाहिरिने कुरा राख्नुभयो । समस्याको गाँठो फुकाउन मार्गप्रशस्तको विकल्प सुझाए पनि उहाँको पुरानै अडान रह्यो,’ती न्यायाधीशले भने, ‘समस्या समाधानमा सहजीकरण गरिदिन प्रधानन्यायाधीशलाई आग्रह गरिएको हो । तर त्यस्तो कुनै लक्षण छैन ।’

‘न्यायविहीनताको अवस्था टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन । हामी केही न्यायाधीशले राजीनामा दिएर विदाई हुने अवस्था पनि आउन सक्छ,’ती न्यायाधीशले भने, ‘उहाँ नहट्ने हो भने हामी हट्नुपर्ने हुनसक्छ ।’

एक सातादेखि सम्पूर्ण मुध्दाको सुनुवाई बहिष्कार गर्दै आएका न्यायाधीशहरु आज बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न तयार भएका थिए । न्यायालय सुधारका लागि आफूहरुले उठाएका कुरा सम्बोधन नभए अन्य मुद्दा अझै नहेर्ने न्यायाधीशहरुले बताइसकेका छन् ।

यता,नेपाल बार एसोसिएसनले पनि राणाको राजीनामा माग गर्दै विरोध कार्यक्रमलाई निरन्तरता दिने भएको छ । उसले ‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानरसहित केन्द्रीय बार परिशरमा धर्ना दिँदै आएको छ । राणाको अडानले न्यायपालिकाप्रतिको विश्वसनीयता,जनआस्था र स्वतन्त्रतामाथि गम्भीर प्रश्न उब्जेको भन्दै पूर्वन्यायाधीश र नागरिक समाजसमेत विपक्षमा उभिदै आएका छन् ।

चारैतिरबाट घेरावन्दीमा परेका प्रधानन्यायाधीश राणा भने परिस्थिति समाल्न कठिन अवस्थामा पुग्नुभएको छ । उहाँसँग विकल्पसमेत सीमित हुँदै गएका छन् । ‘न्यायविहीनताको अवस्था टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन । हामी केही न्यायाधीशले राजीनामा दिएर विदाई हुने अवस्था पनि आउन सक्छ,’ती न्यायाधीशले भने, ‘उहाँ नहट्ने हो भने हामी हट्नुपर्ने हुनसक्छ ।’

प्रधानन्यायाधीशको लाइनमा नरहेका न्यायाधीशले राजीनामा दिनसक्ने चर्चासमेत चल्न थालेको छ । यही अवस्था थप लम्बिँदै गए न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हासहितको राजीनामा आउन सक्ने जानकार स्रोतको दावी छ ।

राणाका विरुद्ध देशव्यापी माहोल खडा गरिंदै छ । बारले थप आन्दोलनको कार्यक्रम ल्याउने यसअघि नै बताइसकेको छ । जिल्ला र उच्च अदालतका न्यायाधीशसमेत विरोधमा उत्रने तयारीमा रहेको जनाइएको छ । अब न्यायपालिका द्वन्द्वको भुंग्रोमा फस्ने संकेत देखा परेको ती न्यायाधीश दावी गर्छन् ।

प्रधानन्यायाधीश राणामाथि मन्त्रिपरिषद र संवैधानिक निकायमा भागबण्डा खोजेको, न्यायालयमा बेथिति भित्र्याएको, पेशी तोक्दा सेटिङ्ग मिलाउने गरेको जस्ता गम्भीर आरोप लागेका छन् । जसका कारण उहाँमाथि नैतिक आचरण र व्यवहारमा नै गम्भीर प्रश्न खडा भएको बताइन्छ । संविधानले प्रत्याभूत गरेको शक्ति सन्तुलन र नियन्त्रणको मूलभूत सिद्धान्त नै समाप्त हुने गरी राणाले न्यायालयलाई सेटिङको अखडा बनाएको भन्दै न्याय क्षेत्रका जानकारहरु चिन्ता व्यक्त गरिरहेका छन् ।

यसैबीच प्रधानन्यायाधीश राणाको सहज र शीघ्र बहिर्गमन नभए न्यायाधीशहरुले चाँडै नै नयाँ कदम उठाउने तयारी गरिरहेको बुझिएको छ ।

टिप्पणीहरू