न्यायालय विवाद,तिहारपछि होला त वार कि पार ?

न्यायालय विवाद,तिहारपछि होला त वार कि पार ?

न्यायालयमा देखिएको पछिल्लो विवाद तत्काल साम्य हुने लक्षण छैन । देखिने गरी प्रधान न्यायाधीश र अरु न्यायाधीश तर भित्रभित्रै दुई खेमामा ध्रुवीकृत न्यायाधीशहरुबीच समस्या समाधानका लागि सार्थक प्रयास नहुँदा विवाद अझै लम्बिने भएको हो ।

कुनै हालतमा राजीनामा नदिने प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अडान र राजीनामालाई एकमात्र शर्त बनाएर बेञ्च बहिष्कार गरिरहेका न्यायाधीशहरुबीच भएका पटक-पटकका छलफलले सहमतिको बिन्दु पहिल्याउन सकेको छैन । दुवै पक्ष आ-आफ्ना अडानमा कायम रहँदा विवाद घटेको छैन, झन् बढ्दो छ । जसका कारण एक सातादेखि प्रभावित हुँदै आएको मुध्दाको सुनुवाई अझै हुन सकेको छैन ।

“अवस्था कस्तो बन्यो भने, न राजीनामाको अडानबाट ब्याक हुन सकिन्छ, न यत्तिकै काममा फर्किन ।”

प्रधानन्यायाधीश राणाले तिहारपछि अप्रत्यासित निर्णय गर्ने गरी तत्कालका लागि कुनै स्टेप नचाल्ने संकेत गरेकाले कम्तिमा त्यतिञ्जेलसम्म विवाद यथावत रहने देखिन्छ । डिएलएको उच्च स्रोतका अनुसार राणाले तिहारपछि नियमित बेञ्च तोक्ने तयारी गर्नुभएको छ । ‘केही दिन कुर्दा कुरा मिल्छ भने ठीकै छ भनेर प्रधानमन्त्री ग्लास्गोबाट नफर्कुन्जेललाई पर्ख र हेरको नीति तय गरिएको हो,अब धेरै दिन यसरी चल्दैन । यो कसैको हितमा पनि हुँदैन । तिहारलगत्तै बेञ्च तोकिन्छ । बस्ने बस्छन्,नबस्ने बस्दैनन्’, उक्त स्रोतले हठ गर्दै भन्यो । उनका अनुसार त्यहीँबाट न्यायाधीशहरु को कता भन्ने प्रष्ट कित्ताकाटसमेत हुनेछ ।

तिहारपछि विदा बसेका सबै न्यायाधीश फर्किसक्ने भएकाले पनि त्यतिञ्जेलसम्म कुर्ने मनस्थिति बनेको बताइन्छ । अहिले न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीबाहेक तेजबहादुर केसीसमेत सबै न्यायाधीश बिदाबाट फर्किसकेका छन् । खतिवडा पनि तिहारपछि फर्किने बताइएको छ ।

“प्रधानमन्त्री ग्लास्गोबाट नफर्कुन्जेललाई पर्ख र हेरको नीति तय गरिएको हो,अब धेरै दिन यसरी चल्दैन । यो कसैको हितमा पनि हुँदैन ।”

तर,यहि अवस्थामा तिहारपछि पनि बेञ्च बस्ने अवस्था भने देखिंदैन । किनभने राणाको राजीनामालाई बटमलाइन बनाएका १५ जना न्यायाधीशको बेञ्च बहिष्कार कायमै छ । बार एशोसिएशन,कानुन व्यवसायीलगायतले तिहारपछि थप आन्दोलन चर्काउने बताइसकेका छन् । राणाले जवर्जस्ती गरे अदालत प्रवेशमा रोक लगाउनेसम्मका चेतावनी आइरहेका छन् । यस्तो अवस्थामा बेञ्च तोक्नु नै समस्याको समाधान हो त ? राणानिकट स्रोतले भने परिस्थिति फिफ्टी फिफ्टीको हिसावमा विकसित भैरहेकाले तिहारपछि विवाद हल्का निरुपण हुने दावी गरेको छ ।

न्यायाधीशद्वय अनिल सिन्हा र सपना मल्ल प्रधानले प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच सहमति निर्माणको वातावरण बनाउन भूमिका खेलिरहेको र त्यसैकारण प्रधानन्यायाधीश राणा उत्साहित भएको बताइन्छ । सिन्हा र प्रधान बिदाबाट फर्केलगत्तै अर्को दिन बन्दी प्रत्यक्षीकरण मुद्दाको पेशी तोकिनु र न्यायाधीशहरु अदालत फर्किनुमा उहाँहरुको समन्वयकारी भूमिकाले काम गरेको स्रोत बताउँछ ।

“राणाले जवर्जस्ती गरे अदालत प्रवेशमा रोक लगाउनेसम्मका चेतावनी आइरहेका छन् । यस्तो अवस्थामा बेञ्च तोक्नु नै समस्याको समाधान हो त ?”

‘उहाँहरु (न्यायाधीशहरु) भित्र पनि एकै मत देखिएको छैन । राजीनामा मात्रै समाधानको विकल्प होइन भन्ने उहाँहरु (सपना र अनिल)को लाइन छ’, त्यहि स्रोत भन्छ, ‘दुवै जना श्रीमानले उहाँहरुको आन्तरिक छलफलमा पनि राजीनामा माग्दै जाँदा भोलिका दिनमा गलत नजिर स्थापित हुनसक्छ भनेर फरक मत राख्नुभएको भन्ने बुझिएको छ । त्यसपछि नै सम्माननीयज्यूसँग छलफलका लागि उहाँहरुले वार्ता टोली बनाउनुभएको हो ।’ न्यायाधीशहरुको पछिल्लो बैठकमा न्यायाधीश सिन्हा निकै कडा रुपमा प्रस्तुत हुनुभएको पनि बुझिएको छ । ‘बूढी मरी भन्दा पनि काल पल्कियो’ भन्नेतर्फ उहाँको कन्सर्न देखिन्छ’, स्रोत दावी गर्छ ।

जनाइएअनुसार हिजोको छलफलमा पनि राणाले राजीनामा नदिने तर,अन्य सबै कुरामा खुला छलफल गर्न तयार भएको बताएपछि दबाब बढेको हो । छलफलका क्रममा उहाँले न्यायालय सुधारका लागि गर्नुपर्ने कामबारे प्रस्ताव ल्याउन आग्रह गर्नुभएको थियो । त्यसो त राणा चौतर्फी दवावका सामु गल्दै गएको पनि देखिन्छ । भूल सुधार गर्दै जाने तर भूल गरेजस्तो नदेखाउने त उहाँको आनुबँशिक विशेषता नै भैगयो । डा.गणेश रेग्मीवाला रीट प्रशासनिक निर्णयबाट संबैधानिक इजलासमा पठाउनु यसैको नमूना हो ।

प्रधान न्यायाधीश मात्र हैन एक सातादेखि लगातार बेञ्च बहिष्कार गर्दै आएका न्यायाधीशहरु पनि आफैँ अप्ठेरोमा हुनुहुन्छ । अवस्था कस्तो बन्यो भने, न राजीनामाको अडानबाट ब्याक हुन् सकिन्छ, न यत्तिकै काममा फर्किन । एकातिर सार्वजनिक रुपमै राजीनामा मागिसकेकाले अडान छोड्न नैतिक रुपले पनि अप्ठेरो छ । अर्कोतिर राणाले संवैधानिक बाटोबाट मात्र पद छोड्ने प्रष्ट भनिसक्नु भएको छ । त्यो भनेको संसदले महाभियोग लगाउने कुरा हो । तर, दलहरु त्यसका लागि तयार देखिएका छैनन् ।

‘कमजोरीरहित मान्छे कोही हुँदैन। आरोप-प्रत्यारोपको शैलीमा उत्रिने हो भने सबैका कुरा बाहिर आउन थाल्छन्, त्यसले झन् अप्ठेरो पार्छ’, ‘न्यायाधीशहरुको बैठकमा भएका कुरालाई उधृत गर्दै सहभागी एक न्यायाधीशले भनेका छन्, ‘एकले अर्कोलाई खुइल्याउने हो भने समस्या अझै बढ्दै जान्छ । त्यसैले बरु मिलेर जाने गरी समाधान खोज्नुपर्छ भन्ने मत उठ्न थालेको छ ।’

बताइएअनुसार न्यायाधीशहरु अनिल सिन्हा,सपना मल्ल प्रधान, कुमार चुडाल,तेजबहादुर केसी,प्रकाश ढुंगाना,बमकुमार श्रेष्ठ,मनोज शर्मा,कुमार रेग्मीलगायतका न्यायाधीशहरु बैठकमा नरम रुपमा प्रस्तुत हुने गरेका छन् । केही न्यायाधीश भने राजीनामाको अडान नछोड्ने तर, वार्ता र छलफललाई पनि निषेध गर्न नहुने पक्षमा रहेको बताइन्छ ।

टिप्पणीहरू