महाधिवेशनबाट झन मूर्च्छित मार्क्सवाद

महाधिवेशनबाट झन मूर्च्छित मार्क्सवाद

मुलुककै सबैभन्दा ठूलो राजनीतिक दल एमालेले चार महिनाको अन्तरालमा दुई वटा महाधिवेशन सम्पन्न गर्यो । पहिलो पटक नीति र नेतृत्व निर्माणका लागि अलग-अलग महाधिवेशनको अभ्यास गरेको एमाले पार्टीलाई एकतावध्द बनाएर नयाँ बैचारिक दृष्टिकोण दिने आमअपेक्षा थियो । तर,प्रचारका आधुनिक शैली र बाहिरी साज्सज्जाले भरिपूर्ण मनोरन्जन दिन सफल एमाले महाधिवेशनले वैचारिक-राजनीतिक क्षेत्रमा थोरै पनि आशावादी बनाउन भने सकेन ।

एमाले संसदको सबैभन्दा ठूलो राजनीतिक दल मात्र होइन,उसले आफूलाई वाम आन्दोलनको मूल प्रवाह पनि दाबी गर्ने गरेको छ । मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जवज) को आलोकमा राष्ट्रिय राजनीतिको प्रमुख शक्तिका रुपमा उदाएको एमाले गोदावरी हुँदै चितवन पुगेर काठमाडौँ फर्किंदा झन् भुत्ते बनेको छ । जबज र लोकतान्त्रिक मूल्य,मान्यता र त्यसका आदर्शहरु केवल देखाउने दाँत सावित भएका छन् ।

अध्यक्ष ओलीको प्रशंसा समेटिएको लामो वृत्तचित्र देखाइयो । तर,मार्क्स,एंगेल्स, लेनिन,माओ र मदन भण्डारीका योगदानको सामान्य चर्चा पनि सुनिएन ।

हरेक राजनीतिक पार्टीका महाधिवेशन बैचारिक बहसको उच्चतम अभ्यासको थलो हो । महाधिवेशनले बिचार र नेतृत्व निर्माणका सवालमा नयाँ दृष्टिकोण पस्किने गर्छ । अझ आफूलाई जनवादका पक्षधर मान्ने कम्युनिष्ट पार्टीका लागि महाधिवेशनको झन् ठूलो महत्व हुन्छ । तर,एमाले महाधिवेशनले नयाँ बैचारिक-राजनीतिक दृष्टिकोण दिन त सकेन नै, आन्तरिक लोकतन्त्र (जनवाद)को अभ्यासमा समेत नराम्रोसंग चुक्यो ।

एमालेले मार्गदर्शक सिध्दान्त मानेको जबजले प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरालाई स्वीकार मात्र गरेको छैन,अनिवार्य ठानेको छ । जबजका १४ विशेषतामा नेतृत्व निर्माणमा आन्तरिक प्रतिष्पर्धालाई खुला गरिएको छ । तर,एमालेको दशौँ महाधिवेशनमा नेतृत्व चयनका दौरान जबजले अङ्गीकार गरेको प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरालाई आत्मसात गरिएन । फलत: जबज र आन्तरिक लोकतन्त्र नारायणीमा सेलाएर पार्टीमा वैधानिकरुपमै निरंकुशता स्वीकार गरेको आरोप एमालेमाथि लायो । आलोचकहरुले एमाले महाधिवेशनलाई ओलिवेशन नामाकरण नै गरिदिए ।

गैरमार्क्सवादी चरित्र उदाङ्गियो

महाधिवेशनपछि एमाले कम्युनिष्ट पार्टीकै रुपमा रह्यो कि रहेन भन्ने प्रश्नसमेत खडा गरिदिएको छ । नारायणीको तीरमा जुन तरिकाले महाधिवेशनको उद्घाटन गरियो, त्यसले पनि एमालेको गैरमार्क्सवादी चरित्र उदाङ्गो बनेको छ । उद्घाटन समारोहमा एमाले नेताहरुले वैचारिक विमर्श गरेनन् । बरु चुनावी प्रचारका लागि आयोजित आमसभामा जस्तै गरी अध्यक्ष केपी ओलीले फरक पार्टी र तिनका नेताको उछित्तो काढे । समारोहमा उपस्थित नभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चर्को विरोध गरेका ओलीले मञ्चमा कुम जोडेर बसेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई घोचपेच गर्न भ्याए ।

मार्क्सवादी विचारधाराका पिता कार्ल मार्क्सदेखि लेनिन,माओजस्ता कम्युनिष्ट आन्दोलनका विचारकहरु एमाले महाधिवेशनको आकर्षण बनेनन् । मञ्चमा न उनीहरुको तस्वीर देखियो,न वक्ताहरुले उनीहरुको चर्चा नै गरे । बरु अयोध्या,राम र हिन्दूधर्मको प्रचार गरियो । सदाझैं अध्यक्ष ओलीले अयोध्यापुरीदेखि राम मन्दिरसम्मको चर्चा गर्न छुटाएनन् । उनले नारायणी किनारमा रामायणको कीर्तन पनि गाए । अनि गायत्री मन्त्रकाे पहिलाे लाइन जपेर सूर्य चिह्नको चुनावी महिमा वाचन गरे ।

देशकै ठूलो कम्युनिष्ट पार्टीको महाधिवेशनमा अन्तराष्ट्रिय कम्युनिष्ट गीत बजाइएन । बरु, साजसज्जा र आधुनिक प्रविधिलाई बढीभन्दा बढी उपयोग गर्न खोजिएको उद्घाटन समारोहमा रेशम फिलिली टाइपका गीतमा युवा युवतीहरुले कम्मर मर्काए । अध्यक्ष ओलीको प्रशंसा समेटिएको लामो वृत्तचित्र देखाइयो । तर,मार्क्स,एंगेल्स, लेनिन,माओ र मदन भण्डारीका योगदानको सामान्य चर्चा पनि सुनिएन ।

६ हजार बढी प्रतिनिधि भेला भएर विधान महाधिवेशनबाट पारित गरिएको विधान २ सय केन्द्रीय नेता बसेर काटकुट गर्ने काम भयो । अध्यक्ष ओलीलाई जहाँ अप्ठेरो पर्छ त्यहिँ केरकार गरेर विधानलाई केवल कागजी खोस्टो बनाइयो ।

त्यतिमात्रै हो र,कम्युनिष्ट पार्टीका अध्यक्षले लाखौँ (उनीहरुकै दावी अनुसार) कार्यकर्तालाई सम्बोधन गर्दा ‘लालसलाम’ वा ‘अभिवादन शब्द’ समेत प्रयोग गरेनन् । दौरा सुरुवालमा सजिएर ओलीले कुनैबेलाका गिरिजाप्रसाद कोइराला शैलीमा हात हल्लाउँदै उपस्थित भीडलाई स्वागत गरे ।

अझ उदेकलाग्दो कुरा,दक्षिण एशियाली विभिन्न देशका दर्जनौँ प्रतिनिधिलाई सहभागी गराइएको महाधिवेशनमा नजिकैको छिमेकी चीनका कोही प्रतिनिधि देखिएनन् । दक्षिणतिरको छिमेकी भारतदेखि बंगलादेशलगायत अन्य कतिपय मुलुकका नेताहरुले सहभागिता जनाएको महाधिवेशन चिनियाँ कम्युनिष्ट पार्टीको प्राथमिकतामा नपरेको देखियो । तर,हिन्दूवादी पार्टीको पहिचान बनाएको भारतीय जनता पार्टी (भाजपा)का दुई जना केन्द्रीयस्तरका नेताको नाम भने मञ्चबाट धेरैचोटी उच्चारण गरेको सुनियो ।

जनवादको हत्या,केन्द्रीयता हावी

असारमै विधान महाधिवेशन गरिसकेकाले चितवन महाधिवेशन नितान्त नेतृत्व चयनको प्रयोजनका लागि आयोजना गरिएको थियो । आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न देशभरबाट छानिएका २१ सय बढी प्रतिनिधि सौराहा पुगेका थिए । तर, सार्वभौम प्रतिनिधिको अधिकार कुण्ठित हुने गरी नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई सुम्पिइयो ।

त्यति मात्र होइन,६ हजार बढी प्रतिनिधि भेला भएर विधान महाधिवेशनबाट पारित गरिएको विधान २ सय केन्द्रीय नेता बसेर काटकुट गर्ने काम भयो । अध्यक्ष ओलीलाई जहाँ अप्ठेरो पर्छ त्यहिँ केरकार गरेर विधानलाई केवल कागजी खोस्टो बनाइयो ।

ओलीलाई यति शक्तिशाली ठानियो कि,उहाँले बोलेको कुरा विधानभन्दा पनि माथि । दुई महिनाअघि त्यत्रो तामझामका साथ पारित गरेको विधानको हुर्मत लिँदासमेत एकजना प्रतिनिधिले पनि प्रश्न नउठाउनुले पनि एमालेमा मौलाउँदै गएको ‘बा’ प्रवृत्ति कुन तहसम्म पुगेको रहेछ भन्ने प्रष्ट हुन्छ ।

बाहिर ‘आइ लभ यू केपी बा’ को नारा घन्किइरहँदा बन्दसत्रका प्रतिनिधिहरुले सगौरव अध्यक्ष ओलीले नेतृत्वको नामावली पेश गर्ने र आफूहरुले ताली बजाएर पारित गर्ने बताइरहेका थिए । धन्न भीम रावल र घनश्याम भुसालले आफ्नो उम्मेद्वारी कायमै राखेकाले विधि पुर्याउन भने पनि निर्वाचनबाट नेतृत्व छानियो । फलत: नारायणीको तीरमा घिटीघिटीमा पुगिसकेको जनवाद थोरै तंग्रिएर काठमाडौँ फर्कियो ।

‘हामी जनवादी केन्द्रीयता भन्छौँ। महाधिवेशनमा जनवादको हत्या भयो,केन्द्रीयता मात्रै लागू भयो’, एमालेका एक जना पुराना नेता भन्छन्, ‘त्यत्रा प्रतिनिधि बोलाएर महाधिवेशन चाहिँ भूमिगतकालको जस्तो भयो ।’

पार्टीमा ओलीको एकछत्र वर्चश्व कायम हुनुमा पनि कहीं न कहीं धर्म र राष्ट्रवाद गाँसिएको छ ।

महाधिवेशनले नयाँ दृष्टिकोण मात्र दिन नसकेको नभई नेतृत्वमा समेत उही पुरानै अनुहार दोहोरिएकोमा पनि उनले उदेक माने । नयाँलाई नेतृत्वमा आउने बाटो खोल्दिनु पर्नेमा ओलीकै कारण त्यसो हुन नसकेको उनको भनाइ छ । ‘एमालेमा एक से एक नयाँ प्रतिभा छन्,त्यसको प्रस्फुटन महाधिवेशनमा हुने हो । तर,बाटो छेकेर नयाँ प्रतिभाहरुलाई आउनै दिइएन’,उनको गुनासो छ । ओलीलाई नेतृत्व चयनको सम्पूर्ण अधिकार सुम्पने निर्णयले कम्तिमा एक दशक नेतृत्व पुस्तान्तरणको गति पछाडि धकेलिएको उनको बुझाइ छ ।

एमाले महाधिवेशनले भारतीय जनता पार्टी (भाजपा)को झल्को दिएको बताउनेहरु धेरै छन् । उद्घाटन सत्रमा ओलीको धार्मिक भाषणदेखि उनको लवाइ र प्रस्तुतिले पनि त्यस्तो भन्नेहरुलाई बल मिलेको हो । भारतमा त्यहाँका प्रधानमन्त्री तथा भाजपाका नेता नरेन्द्र मोदीको कट्टर हिन्दुवाद र अन्धराष्ट्रवादले छुट्टै व्यक्तित्व निर्माण गरेको छ । पार्टीमा ओलीको एकछत्र वर्चश्व कायम हुनुमा पनि कहीं न कहीं धर्म र राष्ट्रवाद गाँसिएको छ । यति चैं ढुक्कका साथ भन्न सकिन्छ कि, मार्क्सवादी चिन्तन र आचरणकै कारण एमालेमा ओलीको स्वीकार्यता बढेको भने पक्कै होइन ।

टिप्पणीहरू