​यहाँ यस्ता मरण त कति हो कति !

सेनाको सल्लाघारी स्कुलबारे गतांकमा पत्र प्रकाशन भएपछि जेठ ११ गते शनिबार बिहान ९ बजे सबै अभिभावकलाई बोलाएर अन्तक्र्रिया गरिएको छ ।

उता छाउनीस्थित सैनिक अस्पतालमा त्यस्तै बेथिति छ । दरबन्दी करिब १३ सय जनाको छ तर कुनै पनि विभागमा समयमा काम हुँदैन । बिरामीको चाप बढी छ तर ओपिडीमा डाक्टर ढिलो आउँछन् अनि छिट्टै निस्केर क्लिनिकतिर पस्छन् । बिरामीलाई सेवा दिने उपकरणहरु जस्तै लिथ्रोट्रिप्सी, एमआरआई, एक्सरे इत्यादिको सानो पार्ट बिगँ्रदा पनि कमाण्डरलाई वास्ता हुँदैन । प्रशासनले यस्तो उपकरण बिग्रियो भन्दा जर्नेल सुनिल सिंह मागफाराम भरेर ल्याउनु अनि मात्र मर्मत हुन्छ भन्छन् । मर्मत गर्दासम्म सिकिस्त अवस्थाको बिरामी परलोक भइसक्छन् ।

लापरवाही कतिसम्म भने, सिपाहीका श्रीमतीको पाठेघरमा क्यान्सर भई अपरेसन गरेपछि रेडियोथेरापी वा केमोथेरापी दिँदैनन् । बिचरी एउटी बहिनीको अपरेसनको दुई महिनामै मृत्यु भयो । क्षयरोग लागेर रगत वान्ता गरिरहेको अवस्थामा अस्पताल आइपुगेको पाँचथर ब्यारेकको एक सिपाहीलाई रुघाखोकीको औषधि दिएर पठाइयो । धन्न उसले बेलैमा शिक्षण अस्पतालमा जँचाएर टिबीको औषधि खान थाल्यो । इन्द्रध्वज गणका एक खेलाडी हवल्दारलाई मिर्गौलाको समस्या रहेछ, दुई वर्षसम्म प्रेसरको औषधि खुवाएर राखियो । पछि ग्रान्डी अस्पतालमा जँचाउँदा दुवै मिर्गौला फेल भइसकेको रहेछ, उसको गत साता मृत्यु भयो । यस्ता घटनाबाट सैनिक अस्पतालमा कतिसम्म हेलचेक््रयाइँ हुन्छ भन्ने पुष्टि हुन्छ । 

सैनिक अस्पतालमा त्यत्रो दरबन्दी छ, तर प्याथोलोजी टेस्टका लागि पुर्जी दिने ठाउँमा सिर्फ दुई जना जवान खटाइएको हुन्छ । दुई हजार जना बिरामी दर्ता गर्न दुई जनाले भ्याउँछन् ? टाढा टाढाबाट आउने वृद्ध बिरामीहरुको प्याथोलोजी टेस्टको दर्ता गर्न कमसेकम ५ जना हुनुपर्छ । भर्खरै दुईतारे भएका सुनिल सिंहले के हेरी बसेका छन् ?

बिरामी भोकै पेट दिसा, पिसाब, रगत जाँच गर्न आउँछन्, स्याम्पल दिन्छन् तर रिपोर्ट फेला पर्दैन । यो कसको बदमासी हो ? प्रशासन प्रमुख इन्फेन्ट्री जर्नेल प्रयोग राणा छन् तर उनले भनेको सुनिल सिंहले मान्दैनन् । प्रयोगले अस्पतालमा सिष्टम बसाल्न खोजे पनि सकेका छैनन् । अस्पताललाई कमाण्ड कन्ट्रोल गर्न दुईतारे जर्नेल हुनु आवश्यक छ ।

सैनिक अस्पताल छाउनीको मुख्य भवन र भेटेरान अस्पतालबीच ठूलो भवन बन्दै छ । त्यो भवनको पिल्लरमा प्रयोग भएको रडको साइज हेर्नोस् त सुनिल सिंह जर्नेल साब, त्यो रडले चार तले भवन धान्न सक्छ ? आफ्नै अफिसनजिक निर्माण भइरहेको भवनको काममा चासो राख्नु पर्दैन ? भर्खरै कर्णेल केशव कार्कीको भ्रष्टाचार आरोपमा जागिर गयो । धन्न ४९ लाख रुपैयाँ तिरी जेल चलान भए । केशव एउटा सानो मुसा मात्रै हुन्, ठूला बिरालाहरु सेनामा कति छन् कति ! राजेन्द्र क्षेत्री, योगेन्द्र खाँण, सम्भारका धमिराहरु, कल्याणकारीका धमिराहरु, शिक्षालयका धमिराहरुलाई औषधि हाल्नुप¥यो । त्यस्ता धमिराहरूको स्कुल, अस्पताल, फ्याक्ट्री आदिमा समेत लगानी छ । 

सेनाभित्र भ्रष्टाचार मात्रै होइन, बहुविवाह, महिला सैनिकमाथि दुव्र्यवहार अनि प्रलोभनमा पारेर स्थानीय महिलाको शोषण गर्ने जर्नेल–कर्णेलहरु छाडा राँगाजस्तै भएर हिँडेका छन् । उनीहरू नै राम्रा–राम्रा ठाउँमा कमाण्ड गरिरहेका छन् । के त्यस्ता राँगाहरुलाई डाम्न उजुरी नै हाल्नुपर्ने हो ? त्यस्ता कलंकितलाई कारवाही गरी संगठनलाई निष्कलंकित पार्न कसले रोकेको छ ? 

– सेनाको भलो चिताउने प्रत्यक्षदर्शी अधिकृतहरू
 

टिप्पणीहरू