​श्रीमानको आदेश सुकुटी

ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारीले केशव पुरीको घरबार खाइदिएकै शैलीमा एक जना मेयरका कारण अर्काे व्यक्ति सडकमा पुगेका छन् । विदुर नगरपालिका नुवाकोटका सञ्जु पण्डितले व्यक्तिको सम्पत्ति खाइदिएका हुन् । उनले  उच्च अदालतको आदेशसमेत अवज्ञा गर्दै आएका छन् । सात वर्षअघि घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटमा दर्ता भएर ढुंगा, बालुवा, रोडा, चिप्सलगायत निर्माणजन्य वस्तुको काम र कारोबार गरिरहेको प्रसोभना सप्लायर्सका मालिक प्रकाश राईको निजी जग्गा मेयरले कब्जा गरेको बताइन्छ । राई नुवाकोट जिल्ला कांग्रेस कार्यसमिति सदस्य हुन् । तल्लो पिपलटारमा अवस्थित उनको  डिपोमा नगर प्रहरी लगाएर नगरपालिकाकै खर्चमा फलामे गेट हालिएको छ ।

मेयरले एक सय एक जनाको हस्ताक्षरसहित डिपो नै कब्जा गरेका हुन् । उच्च अदालत पाटनबाट प्रकाश राईले १० महिनाअघि नै आदेश पाएको कागज जनआस्थासँग सुरक्षित छ । उनले त्यहाँ बालुवा थुपारेबापत नगरपालिकालाई १ लाख ६४ हजार ४ सय १४ रुपैयाँ कर तिरेको प्रमाण पनि सुरक्षित छ । 

अदालतको आदेशविपरीत मेयर पण्डितले प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेललाई प्रयोग गरी सात दिनको मात्रै समयावधि दिएको पत्र लेखे । ०७५ साल चैत ७ गते डिपोमा रहेको बालुवा, डोजर, टिपरलगायत मेसिन उपकरण हटाउने समय सकिएको भन्दै विदुर नगरपालिकाले प्रकाश राईको नाममा चैत ८ गते पत्र लेख्यो । राई पुनः अदालतको ढोका ढकढक्याउन पुगे ।  उच्च अदालत पाटनले कित्ता नम्बर ८१७ मा रहेको बालुवा उपभोग गर्न पाउने आदेश दियो । तर, आदेशको समेत अवज्ञा गर्दै त्यहाँ अहिले नगरपालिकाले फलामको बार हालेर ताल्चा लगाएको छ । त्यो पनि राति नगर प्रहरी प्रयोग गरेर । 

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितविरुद्ध अदालतको आदेश नमानेको भन्दै मानहानिको मुद्दा दर्ता भएको छ । यसरी  वैध रूपमा सञ्चालन भइरहेको बालुवा डिपोमा लगाइएको ताल्चाको साँचो मेयर पण्डितले आफ्नै टेबलमा राखेका छन् । मेयरले  स्थानीय सरकारको अधिकार, नियमावली र निर्देशिकाविपरीत काम गरिरहेको नगरपालिकाकै कर्मचारी बताउँछन् ।

– भोटु तामाङ

टिप्पणीहरू