​बढेको भाउ, घटेको भाउ

देशमा के भएर हो तरकारीको भाउ बढेको छ । खाद्यान्नको भाउ बढेको छ । चामलको भाउ बढेको छ । यति धेरै कुराको भाउ बढिरहेको छ, तर प्रमुख प्रतिपक्षी भने यसरी चुप छ मानौं भाउ बढेको उसलाई थाहै छैन । यति धेरै भाउ बढिरहँदा पनि प्रमुख प्रतिपक्षी किन चुप ?

महंगीले रन्थनिएका एक सर्वसाधारण सीधा गएछन् सानेपाको कार्यालयमा । प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा आफ्नै कार्यकक्षमा हुँनुहुँदो रहेछ । सर्वसाधारणले जाने बित्तिकै सोधेछन्, ‘प्रमुख प्रतिपक्षी नेताज्यू, देशमा यति धेरै सामानको भाउ बढिरहेको छ । तपाइँ भने केही नबोली बसिरहनुभएको छ । के तपाइँलाई भाउ बढ्नुको कुनै चिन्ता छैन ?’

प्रमुख प्रतिपक्षी नेता देउवाले जिब्रो लक्पकाउनु भयो । अनि भन्नुभयो, ‘हैन मैले कता मात्रै ध्यान दिने र भन्या ? यता भाउ घटिरहेको हेर्ने कि उता भाउ बढिरहेको हेर्ने हो ? ए बाबा, मसँग भएकै दुइटै आँखा हा,े चारतिर कसरी हेर्न सकिन्छ र भन्या ?’

सर्वसाधारणले भने, ‘कहाँ घटेको छ भाउ नेताज्यू ? भाउ त जताततै बढिरहेको छ । अलि राम्ररी हेर्नुहोला ।’

देउवाजीले भन्नुभयो, ‘अरुको भाउ बढेर के गर्ने भन्या, यहाँ मेरो आफ्नै भाउ घटेर पो त मा¥यो नि मलाईऽऽ । सभापति भएदेखि भाउ घटेको घट्यै छ । अब म यो घटेको भाउ बढाउनतिर लाग्ने कि बढेको तरकारीको भाउ घटाउनतिर लाग्ने ? कुरा त बुझिदिनु प¥यो नि बाबाऽऽ’ !

टिप्पणीहरू