​अध्यक्ष बन्ने कोही छ ?

चुनाव हारे पनि पार्टीको नेतृत्व नछाड्ने कुनै देश छ भने त्यो नेपाल मात्रै होला । नेपाली कांग्रेसको हालत हेर्नोस् त, कत्रो मारामारी छ । भारतमा झैं यता पनि चुनाव हारेर बिजोग छ । तैपनि नेतृत्वमा आउन नेताहरूबीच उत्तिकै मारामार छ । 

तर, छिमेकी देश भारतमा हेर्नोस् त, भारतीय कांग्रेस पार्टीमा अध्यक्ष हुने मान्छे नपाएर हैरान छ । चुनाव हार्नेबित्तिकै अध्यक्ष राहुल गान्धीले पद त्यागे । त्यसपछि कसलाई अध्यक्ष बनाउनुपर्ला भनेर खोजी हेर्दा कोही अगाडि आएन । राहुल गान्धीलाई लाख मनाउँदा पनि उनी मान्दै मानेनन् । आखिर अध्यक्ष हुने मान्छे नै नपाएपछि उनकै आमा एवं पुरानै अध्यक्ष सोनिया गान्धीलाई फेरि अध्यक्ष बनाइएको छ । नयाँ अध्यक्ष नपाएर बिचरा पुरानै अध्यक्षबाट काम चलाउनुपरिरहेको छ । 

यता, एउटै अध्यक्ष पदमा दर्जनौंको दाबी, उता अध्यक्ष बन्ने मान्छे नै नभेटिने । सोनिया गान्धी अध्यक्ष त बनिन् तर अर्को अध्यक्ष कहिले भेटिने हो ठेगानै छैन । 

यस्तो अवस्थामा हाम्रा कांग्रेस नेताजीहरूलाई भन्न मन लागिरहेको छ – अरे भाइ, यो एउटै पदका लागि किन तपाईंहरू यत्रो विधि झगडा गर्नुहुन्छ ? एकपटक भारतीय कांग्रेसतिर पनि आँखा लगाउने हो कि ? 

टिप्पणीहरू