​अदालतमा यस्तो पनि अचम्म

कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा भनेजस्तै देखिएको छ काठमाडौं जिल्ला अदालतमा । भर्खरै पदस्थापन भएका जिल्ला न्यायाधीशमा फौजदारी संहिता र देवानी संहिताबारे प्रष्ट ज्ञान नहुँदा अदालत धाउनेहरू बिचल्लीमा परिरहेका छन् । गत महिना मात्र पदस्थापना भएका श्रीमानहरू छलफल र बहस त सुन्छन् नै, जब फैसला वा आदेश दिनुपर्ने हुन्छ, तब अलमलमा पर्ने गरेका छन् । कति न्यायाधीशले त्यहींका अधिकृतलाई ती संहिताबारे सोध्ने गरेका छन् । यसबखत थप मार पीडितले नै खेप्नुपर्छ जब ती अधिकृतसमेत भर्खर लोकसेवा आयोग पास गरी अदालतमा खटिएका मध्येमा पर्छन् । आलाकाँचा अधिकृतले संहिताका पाना पल्टाएर मनलाग्दी व्याख्या गरी न्यायाधीशलाई सुनाएकै आधारमा आदेश दिने गरिएको समेत भेटिएको छ । 
तर, न्यायाधीशको यही अज्ञानता र मिहिनेत नगर्ने बानीलाई समेत भर्खरै लोकसेवा उत्तीर्ण अधिकृत विराट विष्टले थप शुभलाभ हासिल गर्ने मौकाको रूपमा प्रयोग गरिरहेका छन् । सामान्यत फौजदारी अभियोगमा बिगो बराबरको धरौटी माग गरिन्छ । तर, कतिपय ५ लाख बिगो दाबी गरिएका मुद्दामा ५० लाखसम्म धरौटी माग्ने गरिएको छ । यसले गर्दा धरौटी राख्न नसकी अधिकांश अभियोगी जेल जान थालेका छन् । विराटले धरौटी राख्न नसक्ने अवस्थामा जेथा पनि राख्न सकिन्छ र यसका लागि मै सहयोग गरिदिउँला भन्ने गरेका छन् । बिचौलियासम्म पु¥याएर तिनीहरुबाट पनि पैसा बटुल्नु उनको नियमित धन्दा बनेको छ । यस्तो अवस्थामा उनले आफ्नो दर २५ हजार तोकेका एक बिचौलियाले बताए ।

टिप्पणीहरू