​जेलभित्र कहाँ सजिलो छ र जीवन !

कारागार पनि रक्सी र तासको अखडा बन्न सक्छ ? जेलबाहिर जुवा–तास खेल्नेलाई प्रहरीले नियमित पक्राउ गरेको खबर आइरहे पनि केन्द्रीय कारागार जगन्नाथ देवलमा जबर्जस्ती अवैध यौन सम्बन्ध राख्नु, मदिरा सेवन गरी झल्लु हुनु र सय रूपैयाँ प्वाइण्ट म्यारिज खेल्नु आउटरहरूको दैनिकी बनेको छ । गलत कार्यको रेखदेख र अनुगमन गर्ने सहायक जेलर गोकर्ण खनाललाई रिझाएर आउटरहरूले कारागारभित्र कैदीसँग नियमित पैसा उठाउने, नदिनेलाई कुटपिट र यातना दिने गरिरहन्छन् । कारागार प्रमुख (जेलर) छोटो समयमै परिवर्तन भइरहने र नयाँ प्रमुखले गोकर्णबाटै सबै जानकारी लिनुपर्ने भएकाले पनि उनैको धारणा र योजनाअनुसार जेलर चल्न बाध्य हुने गरेको बताइन्छ । 

नयाँ आएका जेलरलाई पनि १९ जना आउटरका तर्फबाट प्रभाकर राणा, यमबहादुर केसी र सुरेश अर्यालले चाहेबमोजिम मौखिक प्रतिवेदन खनालले सुनाएका छन् । दैनिकझैं म्यारिज खेल्ने प्रभाकर, सुरेश र यमबहादुरको सम्बन्धमा सकारात्मक कुरा गोकर्णले सुनाए पनि याम भने तासमा हारेको दशौं लाख कसरी जोहो गर्ने भन्ने छट्पटीमा छन् । सिन्धुपाल्चोकका ज्यानमुद्दाको दोषी उनको तास खेलेरै दश लाखभन्दा बढी ऋण छ । त्यसैले जसरी पनि कैदीसँग बढीभन्दा बढी पैसा असुल गर्ने तरिका सुझाइरहन्छन् । नदिनेलाई कुट्दै त्यहाँबाट सारिदिन्छु भनी धम्क्याएर नियमितझैं लाभ हासिल गरिरहन्छन् । 

वेदप्रसाद खरेल कडा स्वभावका र कैदीलाई मान्छे नै नगन्ने खालका जेलर थिए । उनलाई हटाउन १९ जना आउटर मिलेर पैसा उठाए र गोकर्णमार्फत गृह मन्त्रालयका एक सहसचिवसम्म प्रस्ताव लगे । उनले शुरुमा सरुवा गरिदिने वचन दिए पनि भनिएको समयसम्म काम नसकेपछि गोकर्णकै अग्रसरतामा गृह मन्त्रालयमा राम्रो सम्बन्ध भएका पोखराका एक होटल सञ्चालकलाई अघि सारियो । उनलाई नै कैदीबन्दीसँग उठाइएको १५ लाख जिम्मा लगाएर वेदलाई सरुवा गराइयो । कीर्तिपुर बस्ने वेदले विश्वविद्यालय परिसरतिर बोलाएर कैदीका आफन्तसँग मर्निङ वाकको समयमा पैसा बुझ्ने गरेको आरोप छ । 

कारागारमा नियमित मदिरा पु¥याउने र राम्रो कमाइ गरिरहने प्रहरी जवान जीवन सापकोटा हुन् । सिन्धुपाल्चोकका जीवन नेता अग्नि सापकोटाको भतिज हुँ भनी कैदीसँग हप्ते र मासिक उठाउँछन् । उनलाई त्यहाँ अपराध अनुसन्धान महाशाखाले कैदीबारे रेखदेख र नियमित विवरण पेश गर्न खटाएको हो । चार वर्षभन्दा बढी समयदेखि उनी त्यहीँ छन् र खराब विवरण पठाइदिने धम्की दिएर कैदीसँग पैसा बटुुलिरहन्छन् । केही समयअघि जनआस्थामै उनको समेत नाम जोडिएर समाचार आएपछि जीवन आफैं टेकुमा गई यस्तो गलत समाचार आएछ भन्दा हाकिमले नगरेको भए किन आउँथ्यो भनी हप्काएका थिए । 

टिप्पणीहरू