माइक र देउवा

राजनीतिमा शेरबहादुर देउवाको हालत कतिसम्म खस्किसक्यो भन्दा कुनै एउटा सार्वजनिकसभाको माइक मात्रै बिग्रँदा पनि देउवासँगै जोडिन आउने । जस्तो कि अस्ति राष्ट्रिय सभागृहमा भएको एउटा कार्यक्रममा माइकको कारण वक्ताहरूले बोलेको कुरा स्पष्ट सुनिएन । वक्ताहरूले के के बोल्लान् सुनौँला भनेर जाने, अनि वक्ताले बोलेकै राम्ररी सुनिएन भने नमज्जा त बेस्कन हुन्छ नै ! राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि त्यस्तै भएछ । उहाँले त कार्यक्रममै बोलिदिनुभयो – माइकले गर्दा राम्ररी बुझ्नै सकिएन । राष्ट्रपतिले माइकको कारणले बुझिएन भन्नुभएको थियो । तर, राष्ट्रपतिले बुझिएन भन्नुभएको कुरोलाई अरूले फेरि अर्कै किसिमले बुझिदिए । अरूले बुझे कि यो माइकको कारणले होइन देउवाको कारणले नबुझिएको हो । राष्ट्रपतिले पनि देउवालाई नै संकेत गर्नुभएको हो । 

कुरो कहाँबाट कहाँ आइपुग्यो । देउवाको तुलना सीधै माइकसँग हुन गइदियो । कुरो माइकको कारणले नबुझिएको हो कि देउवाका कारण नबुझिएको हो ? कि माइकको कारणले नबुझिएको पनि सही हो, देउवाको कारणले नबुझिएको पनि सही हो ? के हो कुरा ? 
वास्तवमा देउवालाई माइकसँग किन तुलना गरियो, खास त योचाहिँ बुझिएको छैन । 

टिप्पणीहरू