जीवन न हो, नता कहाँ तोडिन्छ, कहाँ जोडिन्छ
– राजेन्द्र स्थापित
ऐ दिल ना मुझसे छुपा, सच बता क्या हुआ
जाने भी दो दिलरुबा, जो हुवा सो हुवा !
तारे गिने रातभर, जाने कब यादमें सो गयी
वो ख्वाब था दभरा, जिसमें बेहासमें खो गयी
कोइ निंदमे हमसे रुठके, हमको लुटके चल दिया– २
खिडकी ना छोडो खुली, प्यारके चोर है ताक में
कितनों कि चोरी हुइ, मदभरी चाँदनी रातमें
एैसी मर्ज कि दिलके दर्दकी, दिलका दर्द हि है दबा– २
बातें बनाओ ना जी, राज तो आपके खुल गए
आखें चुराओ ना जी, नैनसे नैन तो मिल गए
क्या बुरा हुआ, दिल मचल गया, घर बदल गया आपका–२
जाने भि दो दिलरुबा, जो हुआ सो हुआ ।
हिन्दी चलचित्र जगतमा सर्वाधिक लोकप्रिय गीतमध्येको एक हो यो । सन् १९५१ मा प्रदर्शित ‘बादल’ को यो गीत पर्दामा नायक प्रेमनाथ र नायिका मधुबालाले गाएका थिए । प्रेमनाथ बादल सिंहको भूमिकामा थिए । चलचित्र अंग्रेजी लोकश्रुतिका नायक रोबिन हुडको कथामा आधारित थियो । लेखक तथा निर्देशक अमिया चक्रवर्तीले रोबिन हुडलाई बादल सिंहमा परिणत गरेका थिए । उक्त चलचित्रमा कूल ७ गीत थिए, सबै हिट भए । हिन्दी चलचित्रका पारखी नेपाली दर्शकले पछिल्लो समय प्रेमनाथलाई खलपात्रको रुपमा देखे तर पहिला नायक थिए । बादल, साकी, औरत, अबे–हयातजस्ता दर्जनौं फिल्ममा नायक बने । पछि उनका भाइहरु राजेन्द्रनाथ र नरेन्द्रनाथ पनि चलचित्रमा प्रवेश गरे । राजेन्द्रनाथ हाँस्य कलाकार बने भने नरेन्द्रनाथ खलनायक । हिन्दी चलचित्र जगतका ग्रेट शो मैन राजकपुर र प्रसिद्ध खलनायक प्रेम चोपडा उनका ज्वाईं हुन् । बहिनी कृष्णाको बिहे राजकपुरसँग र अर्की बहिनी उमाको प्रेम चोपडासँग भएको थियो ।
प्रेमनाथ जन्मेको शहर पेशावर यतिखेर पाकिस्तानमा पर्छ । थर उनको मल्होत्रा हो । सन् १९४७ मा जब भारत विभाजन भयो, परिवार बसाइँ सरी जबलपुर पुग्यो । प्रेमनाथले कानुन पढे तर सपना संगीत साधक बन्ने थियो । त्यसैले सपना साकार पार्न ‘सपनाको शहर’ मुम्बई पुगे । मुम्बई पुगेपछि संगीतज्ञ बन्ने सपना अभिनेता बन्नेमा परिवर्तन भयो । र, पृथ्वी थिएटरमा काम थाले । अभियान सिके । पहिलो चलचित्र ‘दौलतके लिए’ मा काम पाए । तर यो चलचित्र चलेन । एक वर्षपछि मोहन भवानी निर्देशित ‘अजित’ मा खेले । पहिलोपटक आरके प्रोडक्सनको पहिलो चलचित्र ‘आग’ मा काम पाए । यो राजकपुरद्वारा निर्मित र निर्देशित पहिलो फिल्म हो । तर यसमा राजकपुर र नरगिसको कारण प्रेमनाथ ओझेलमा परे । बल्ल आरके ब्यानरकै चलचित्र ‘बरसात’ देखि उनलाई दर्शकले चिने । ‘दौलतके लिए’ मा अभिनय गर्दा २१ वर्षका थिए । मोनिका देसाइ उनकी नायिका । बादल उनको नवौं चलचित्र थियो ।
चलचित्र ‘बादल’ मा नायिका थिइन् मधुबाला । मधुबालालाई भिनस (सौन्दर्यकी देवी) मानिन्थ्यो भने प्रेमनाथ ह्याण्डसम नायक । चलचित्रको छायांकन शुरु हुँदाको समय प्रेम २४ र मधु १७ का थिए । छायांकनकै दौरान नजिकिए । दुवैले बादल, आराम र साकीमा काम गरे । दुवैको यो पहिलो प्रेम थियो । मधुबाला त प्रेमनाथलाई पाएर यति खुशी थिइन् कि महिनौं सँगै बस्न राजी बनिन् । तर उनीहरुको प्रेमको सामु धर्म पर्खाल बन्यो । प्रेमनाथ चाहन्थे मधु धर्म परिवर्तन गरी हिन्दु बनुन् । मधु प्रेमसित जीवन बिताउन त चाहन्थिन् तर मुस्लिम (पठान) धर्म छाड्न सकिनन् । धर्मकै कारण बिहेको समय टर्दै गयो । यसबीच सन् १९५२ मा ‘तराना’ फिल्म बन्यो । जसमा मधुका नायक दिलिपकुमार थिए । मधु दिलिपतर्फ पनि आकर्षित भइन् । दुवैको धर्म मिल्थ्यो । आफ्नो जीवनमा दिलिप आइसकेपछि पनि मधुको हृदयमा प्रेमनाथप्रतिको प्रेम यथावत थियो । उनले एकै समय दुई पुरुषसँग प्रेम गर्न थालिन् । एकदिन प्रेमनाथले मधु–दिलिपको रोमान्स देखे । मन खिन्न भयो । यद्यपि त्यसबेलासम्म पनि मधुले हरेक बिहान दुवै प्रेमीलाई गुलाफको फूल पठाइरहेकै थिइन् । दिलिप र प्रेम मिल्ने साथी थिए । एक–अर्काको मनको कुरा खोल्थे । एकदिन दिलिपले मधुप्रतिको आफ्नो भावनाको कुरा सुनाए । यसपछि भने प्रेमले दिलिप र मधुको जीवनबाट टाढा बस्ने निधो गरेपछि दिलिपले पनि मधुसित बिहे गरेनन् । दिलिपले सायरा बानुसँग र मधुबालाले किशोरकुमारसँग बिहे गरे । यसपछि भने प्रेमनाथले आफ्नी प्रेमिका दिलिपकुमारलाई समर्पित गरेकोमा पछुतो माने ।
मधुबालापछि प्रेमनाथको जीवनमा अर्की अभिनेत्री बिना रोयले प्रवेश गरिन् । भगवानदास बर्माले ‘औरत’ बताए । चलचित्रमा प्रेमनाथको हिरोइन थिइन् बिना रोय । बिना २० वर्षको उमेरमा ‘काली घटा’ मा हिरोइन बनेकी थिइन्, सन् १९५१ मा । ‘औरत’ मा बिनाको भूमिका एउटी चुलबुले केटीको थियो । तीखो बोली बोल्थिन् तर हरेक दृश्यको छायांकनपश्चात् लजाउँथिन् । प्रेमनाथले उनको यो स्वभावलाई असाध्यै मन पराए । हरेकपटक प्याच्च बोल्ने र पछि लजाउने बानी देखेर प्रेमनाथ जिस्क्याउँदै भन्थे, ‘तिमीजस्ती केटीले चलचित्रमा काम गर्नुको साटो बिहे गरेर घरजम गरी बस्नु राम्रो ।’
उक्त चलचित्रको छायांकनकै दौरान दुवै प्रेमी–प्रेमिका बने । मधुबालासितको विछोडबाट विक्षिप्त बनेका प्रेमनाथले समय खेर फाल्न उचित ठानेनन् र तुरुन्तै बिहेको प्रस्ताव राखे । जब यो समाचार ‘भाइरल’ बन्यो, सबैले सोचेका थिए, ‘भर्खर चलचित्र जगतमा जम्न थालेकी बिनाले यो प्रस्तावलाई कदापि स्वीकार्ने छैनन् ।’ तर सबै प्रशंसकको अनुमानविपरीत उनी तयार भइन् । र, दुई महिनाभित्र सन् १९५२ को सेप्टेम्बर २ मा बिहे भयो । हनिमुन मनाउन अमेरिका गए । प्रेमनाथ चाहन्थे, पतिपत्नी नायक–नायिका बनेर फिल्ममा खेलौं । दुवैले ‘शगुफा’, ‘गोलकुण्डाका कैदी’, ‘चंगेज खाँ’ जस्ता फिल्म सँगै खेले तर सफल भएनन् । बरु बिहेपछि नायिकाहरुको लोकप्रियता समाप्त हुन्छ भन्ने आमधारणाविपरीत बिना रोयको चलचित्र भने एकपछि अर्को ‘हिट’ हुँदै गयो । सन् १९५३ मा प्रदर्शित चलचित्र ‘अनारकली’ले सफलताको नयाँ रेकर्ड कायम ग¥यो । त्यस्तै १९६३ मा प्रदर्शित ‘ताजमहल’ सुपर डुपर हिट भयो । ‘तलाश’, ‘घुँघट’, ‘दादी माँ’ आदि चलचित्र पनि सफल भए । अनारकली र ताजमहलका गीतहरु आजपर्यन्त धेरैको मनपर्ने गीतमा पर्छन् । अनारकलीको गीत ‘ये जिन्दगी उसीका है, जो किसिका हो गया, प्यार में हि खो गया…’, ताजमहलका गीतहरु ‘पाँव छू लेने दो फूलाेंको इनायत होगी, बरना हमको नहीं, इनको भी सिकायत होगी’, ‘जो वादा किया वो निभाना पडेगा’, ‘जो बात तुझमें है, तेरी तस्बिर में नहीं’ हिन्दी सिनेमा जगतका कालजयी गीतहरु हुन् । फिल्ममा बिनाको जोडी प्रेमनाथसित हैन, भारतभूषण र प्रदीपकुमारसित बढी सफल भएको देखिन्छ । बिनाको अन्तिम फिल्म सन् १९६७ मा प्रदर्शित ‘रामराज्य’ थियो । त्यसपछि अभिनय त्यागिन् र घर सम्हालेर बसिन् ।
‘गोलकुण्डाका कैदी’ प्रेमनाथ आफैंले बनाएका थिए तर नराम्रोसित असफल भयो । ठूलो आर्थिक नोक्सानी ब्यहोरे । यसपछि ‘जागिर’, ‘गैम्बलर’, ‘पठान’, ‘रुस्तम और सोहराब’, ‘सिकन्दरे आजम’जस्ता फिल्ममा अभिनय गरे । तर, त्यसबेलासम्म उनको मन सबैतिरबाट निराश बनिसकेको थियो । त्यसैले अचानक संन्यासी बनेर हिँडे । धेरै वर्षको संन्यासी जीवनपछि सन् १९७० मा पुनः फिल्म ‘जानी मेरा नाम’ मा देखा परे । स्मरणीय छ, यो चलचित्रको कतिपय छायांकन नेपालमा गरिएको थियो । यसमा उनले पहिलोपटक खलनायकको भूमिका निभाएका थिए । यसपछि प्रायः खलनायकको भूमिकामै रमाए । सन् १९७५ मा प्रदर्शित चलचित्र ‘धर्मात्मा’ मा भने नयाँ रुपमा देखापरे । यो फिल्म अमेरिकी लेखक तथा पत्रकार मारियो पुजोको बहुचर्चित उपन्यास ‘गडफादर’ मा आधारित थियो । उनले रोटी, कपडा और मकान, कालिचरण, शोर, बबीजस्ता सफल फिल्ममा अभिनय गरे । प्रेमनाथ कवि पनि थिए । श्रद्धाञ्जली, टियर्स अफ हार्ट उनका काव्य संग्रह हुन् । टियर्स अफ हार्ट पछि हिन्दीमा (दिलके आँशु) प्रकाशित भयो । त्यसमा समाविष्ट कविताको दुई लाइन यस्तो छ :
जो जलते है जलने दो, वो जलकर हो जाएंगे राख,
हम तो इसी तरह जिन्दगीको बहारोंमें गुलिस्ताँ के नजारे देखेंगे ।
प्रेमनाथको ७६ वर्षको उमेरमा सन् १९९२ मा र बिना रोयको ७८ वर्षको उमेरमा सन् २००९ मा निधन भयो । प्रेम किशन र कैलाशनाथ प्रेम–बिनाका छोरा हुन् ।
टिप्पणीहरू