​कम्युनिष्ट शासनमा विचरीलाई कठोर कारावास

  • राजेन्द्र स्थापित

लिन चाओको जन्म जियाङ्सु प्रान्तको सुचाउमा भयो । सानैदेखि पत्रकार बन्ने भूत सवार थियो, त्यसैले जब चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ताको लागि पत्रकारिता पढाउने स्कुल सञ्चालन गर्दै आएको जानकारी पाइन्, लगत्तै पार्टी सेल–कमिटीको सदस्य बनिन् र पत्रकारिता पढ्न थालिन् । अध्ययन सँगसँगै च्याङ काइसेक सरकारको आलोचना गर्दै कलम चलाउन थालिन् । उनले कक्षा लिन थालेको ठीक तीन महिनामा राष्ट्रिय सरकारको पतन भयो । र, चीन माओत्सेतुङको नेतृत्वमा नवजनवादी गणतन्त्र बन्यो । ७० करोड जनताले हर्षोल्लास मनाए । च्याङ काइसेक भागेर ताइपेइ (ताइवान) पुगे । त्यसबेला लिनको उमेर १६ वर्ष मात्रै थियो । 

माओको नेतृत्वमा नयाँ सरकारले राष्ट्रिय अर्थव्यवस्थामा सुधारका कार्यक्रम अघि सा¥यो । आर्थिक अवस्था सुधार्न औद्योगिक निर्माण र कृषिमा सुधार आवश्यक थियो । जनसरकार गठनलगत्तै १३ करोड जनसंख्या भएको क्षेत्रमा भूमिसुधारको काम अघि बढाइयो । कृषि कानुनमा संशोधन गरी धनी किसानसित रहेको हदबन्दीभन्दा बढी जग्गा जफत गर्नुको साटो त्यसैलाई अर्थतन्त्रको हिस्सा बनाउने काम गरियो । केही केही स्थानमा मात्र हदबन्दीभन्दा बढी जग्गा राज्यले नियन्त्रणमा लियो । माओले यसैलाई भूमिसुधारको रुप दिए । उनी चाहन्थे– किसान आफैंले भूमिसुधार आन्दोलनको नेतृत्व गरुन् । उनीहरुमा शोषक र जमिन्दारप्रति आक्रोश जागोस् । उनीहरुमा राजनीतिक सचेतना आओस् र परिवर्तन पनि सम्भव होओस् । 

भूमिसुधार आन्दोलनमा अधिकांश ग्रामीण लाल सैनिक, बुद्धिजीवी र विद्यार्थीलाई सहभागी गराइयो । यो आन्दोलन सन् १९५० देखि शुरु भयो । जसमा भाग लिनेहरुलाई चेतावनी दिइएको थियो, ‘कसैलाई कुटपिट नगर्नु, कसैको सम्पत्ति नष्ट नगर्नु, संघर्षको शुरुवात जनताको सचेतना र संगठनलाई ध्यानमा राखेर मात्र गर्नु । स्थानीय विशेषतालाई नजरअन्दाज नगर्नु ।’

टोलीमा लिन पनि सहभागी बनिन् । किसानहरुलाई जागरुक बनाउन गाउ“–गाउ“ घुमिन् । उनलाई कम्युनिष्ट पार्टीप्रति ठूलो विश्वास थियो । अध्यक्ष माओ उनका आदर्श थिए । नभन्दै भूमिसुधार आन्दोलनले ठूलो फड्को मा¥यो । सन् १९५४ सम्ममा २० लाख परिवार कृषि सहकारी संस्थामा संगठित भए । १ लाख १४ हजार सहकारी संगठन निर्माण भयो । अध्यक्ष माओले ‘कसैलाई नपिट्नु, कसैको सम्पत्ति नाश नगर्नु’ भने तापनि जब आन्दोलन उत्कर्षमा पुग्यो, कार्यकर्तामा उग्रता छायो । उनीहरुले आफूले भनेको नमान्ने जमिन्दारमाथि कुटपिट गर्न र उनीहरुको सम्पत्ति नष्ट पार्न थाले । युवा लिन आफैं पनि यो गतिविधिमा सामेल भइन् । उनमा पनि उग्रताले घर जमाएको थियो । जब कम्युनिष्ट कार्यकर्ताहरुको उग्रता फैलिँदै देशव्यापी बन्यो, तब उनमा नैराश्यता छायो । आफू संगठित पार्टीप्रति वितृष्णा उत्पन्न भयो । अध्यक्ष माओको आलोचक बन्न पुगिन् । 

नेतृत्व र पार्टीप्रतिको वितृष्णाका कारण साहित्यतर्फ अग्रसर भइन् र सन् १९५७ मा पेकिङ विश्वविद्यालयको साहित्य संकायतर्फ भर्ना भइन् । विशेषतः कविता उनको मनपर्ने विधा थियो । कवितामार्फत असन्तुष्टि पोख्न थालिन् । सोही विश्वविद्यालयको पुस्तकालयमा कार्यरत युवक गान कुइसित खुब कुरा मिल्थ्यो । गान पनि लिनजस्तै असन्तुष्ट युवक थिए । विचार–भावनाले दुवैलाई नजिक बनायो । उनीहरु प्रेममा बाँधिए । यसबीच सन् १९५६ को मेमा माओले दोष–निवारण अभियान थाले । पछि यसलाई ‘सयौं फूललाई फुल्न देऊ’ को नाउँ दिइयो । यो वास्तवमा राष्ट्रिय स्तरको महाविवाद थियो । पार्टी सदस्य, बुद्धिजीवी, मजदुर र सहकारीमा आबद्ध किसानलाई एउटै मञ्चमा उभ्याएर बहस, तर्क गराउने सोच थियो तर अभियान थालेको तीन महिना नबित्दै उग्ररुप लियो । कलकारखानाका मजदुर हड्तालमा उत्रिए । विद्यार्थी तोडफोडमा उत्रिए । किसानहरु विद्रोहमा । बुद्धिजीवीहरुले पत्रपत्रिकामा लेख्न थाले । शहर–गाउँमा पोष्टर टाँस्न थालियो । माओ र प्रधानमन्त्री चाओ एनलाइको समेत आलोचना हुन थाल्यो । ‘सत्ता छोड’ को नारा लाग्यो । ठाउँ–ठाउँमा झडप भए र पार्टी सदस्यसमेत मारिए ।

दक्षिणपन्थीहरुले सत्ता कब्जा गर्न लागेको भन्दै सत्तारुढ पार्टीले बुद्धिजीवीहरुलाई दबाउने नीति लियो । लिनले मौकाको फाइदा उठाउँदै इसाइ धर्मको वकालत गर्न पुगिन् । बाइबलको प्रचार गरिन् । अध्यक्ष माओ र कम्युनिष्ट पार्टीको आलोचना गरिन् । लालसैनिक जवान र पार्टीप्रति बफादार कार्यकर्ताले दक्षिणपन्थीहरुलाई लखेट्न र सताउन शुरु गरे । लिन र उनका प्रेमी गान पनि निशानामा परे । विश्वविद्यालयमै लिनलाई जबर्जस्ती दासको अभिनय गर्न लगाइयो । त्यसबेला त्यहाँ ‘चार किरा फट्यांग्रा’ मास्ने अभियान सञ्चालन थियो । मुसा, झिंगा, लामखुट्टे र सुगाले धानबाली नष्ट गर्ने र मानवको स्वास्थ्यलाई रोगी बनाउने भएकाले देशव्यापी रुपमा यसलाई निर्मूल पार्ने अभियान थालिएको थियो । माओलाई लाग्यो– मुसाले प्लेग रोग, लामखुट्टेले मलेरिया, झिंगाले हैजा फैलाउने र सुगाले धानबाली तथा फलफूल नष्ट पार्छ । यहाँसम्म कि चिनियाँ सरकारले ‘यी चरा र पशु पुँजीवादी हुन्’ भनेर घोषणा नै गर्न पुगेको थियो । यो अवधिमा हजारौं लाखौं चरा र पशु मारिए । सुगाको गुँड भत्काइयो । अण्डा फुटालियो । चल्ला मारिए । आकाशमा उडेका चरा गोली लागेर भुइँमा खस्थे । हाँसोलाग्दो कुरा विद्यार्थी, सरकारी कर्मचारी, प्रहरी–सेना यी चरा र पशु मार्न तँछाडमछाड गर्थे । किनभने राज्यले मार्न लगाएका चरा, किरा र पशुका पुच्छर संकलनको आधारमा पुरस्कार पाइन्थ्यो । रेडियो पेकिङका अनुसार यो अभियानमा कूल ३० लाख जनसंख्या परिचालित भए । 

एकपटक बेइजिङस्थित पोलिस दूतावासमा सुगा देखिएपछि त्यहाँका कर्मचारीले सुगा मार्न आउने चिनियाँहरुलाई कम्पाउण्डमा छिर्न दिएनन् । रुष्ट चिनियाँहरुले दूतावास घेरे । सुन्नै नसक्ने गरी ठुल्ठूला बाजा बजाएर हैरान पारे । दूतावासका कर्मचारी पनि टसमस भएनन् । बाजा दुई दिनसम्म बजेको बज्यै भयो । अन्त्यमा कर्मचारीले साबेल प्रयोग गरी मरिसकेका सुगालाई कम्पाउण्डबाहिर ल्याइदिए । पछि सन् १९६० मा बल्ल पन्छीविद् त्सो–ह्सिन चेङको कुरा सुनेपछि यो अभियान रोकियो । उनका अनुसार सुगाले वर्षमा जति अन्न खान्छ, त्यत्तिकै परिणाममा अन्न बालीमा लाग्ने किरा खान्छ । लाखौं सुगा मारेकै कारण चीनले ६० को दशकमा अनिकाल व्यहोर्नुप¥यो । 

लिन यो अभियानमा लागेकी थिइनन् तर सरकारको आलोचना गरेको दण्डस्वरुप उनलाई पनि यो अभियानमा जबर्जस्ती सरिक गराइयो । लिन र गान बिहे गर्न चाहन्थे । गानले पार्टीसित अनुमति मागे तर पाएनन् । फलतः लिनलाई त्यागेर पार्टी काममा लागे तर लिन डराइनन् । लगातार सरकार र पार्टीको आलोचना गर्दै हिँडिन् । कारवाहीमा परिन् । श्रम शिविरमा धपाइइन् । त्यहाँ बरफयुक्त ट्यांकीमा डुबाइदिएपछि र कानैमा ठूलो स्वरले अरुलाई चिच्याउन लगाइएपछि उनले भनिन्, ‘माओ मेरोनिम्ति मेरो हृदयमा बसेका रातो तारा हुन् ।’

लिनको स्वभाव बेग्लै खालको थियो । गाउँथिन्, नाच्थिन्, जोसँग पनि बहस गर्थिन् । लवाइ पनि अचम्मको हुन्थ्यो । कहिलेकाहीं त पत्रिकाले शरीर छोपेर हिँड्थिन् । गानले छाडेपछि जीवनमा साहित्यकार झाङ युआनसुनले प्रवेश पाए । दक्षिणपन्थीविरुद्ध माओले चलाएको अभियानमा उनी पनि परे । पछि झाङले आत्मालोचना गरे तर पनि जेल परे । लिनले पछिल्लोपटक पनि आत्मालोचना गर्न र सच्चिन अस्वीकार गरिन् । यसैबीच सन् १९६० को अक्टोबरमा सुचाउमै पक्राउ परिन्– एउटा गोप्य पत्रिका निकालेर सत्तारुढ कम्युनिष्ट पार्टीको विरोध गरेको अपराधमा । त्यसबेला त्यहाँ ‘लामो फड्को अभियान’ सञ्चालित थियो । लिनले २० वर्षको कारावास सजायँ पाइन् । उनलाई राजबन्दीको दर्जा त दिइयो तर जेलमा ठूलो यातना पाइन् । यसका बाबजुद जेलमै बसेर पनि सरकार र पार्टीको आलोचना गर्न छाडिनन् । 

जेलमै इसाइ धर्मबारे लेखिन् । सरकारको आलोचनामा कलम चलाइन् । पछि उनीसित भएको कलम खोसियो । त्यसपछि कपालमा भएको हेयरपिन र बाँसको ठुटोलाई कलम बनाएर आफ्नै रगतलाई मसीको रुपमा प्रयोग गरी लेख्न थालिन् । लिनले यसरी १ लाख ४० हजार शब्द कोरेकी थिइन् । जेल डायरी, कविता र आमालाई लेखेको पत्र एक सुरक्षागार्डले गोप्य तवरमा सुरक्षित राखेका थिए, पछि उनले लिनकी बहिनी लिंगफान पेङलाई हस्तान्तरण गरिदिए । माओको निधनपश्चात् त्यो ‘रक्तपत्र’को नाउँले प्रकाशित भयो । यसबीच साँस्कृतिक क्रान्ति शुरु भयो । सन् १९६६ मा क्रान्ति चरमोत्कर्षमा पुग्यो । पार्टीकै धेरै नेता–कार्यकर्ता घटुवामा परे । जेल परे । मारिए । देङ सियाओ पिङ र राष्ट्रपति लिउ शाओचीजस्ता घागडान नेताहरु सताइए । यसैक्रममा लिनविरुद्ध पनि आरोपपत्र तयार भयो । उनीमाथि अध्यक्ष माओ र कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन कोशिश गरेको, सर्वहारा सत्ता र समाजवादी व्यवस्थाको खिलाफ गएको, सार्वजनिक तवरमा प्रतिक्रियावादी नारा लगाएकोे र कैदीहरुलाई विद्रोह गर्न उक्साएको, अपराध स्वीकार नगरी प्रतिक्रियावादीहरुको खेमामा उभिने दुस्साहस गरेको आरोप लाग्यो र सन् १९६८ को अप्रिल २९ का दिन गोली हानेर मृत्युदण्ड दिइयो । त्यसबखत उनी ३६ वर्षकी थिइन् । 

उनका एक प्रेमी झाङ सन् १९६६ मा जेलबाट रिहा भए तर त्यसबखत लिन जेलमा थिइन् । अर्का प्रेमी गान पनि २० वर्षको जेल बसाइपछि सन् १९७९ मा बल्ल छुटे, त्यसबखत लिनले मृत्युदण्ड पाइसकेकी थिइन् । पछि अर्कैसँग बिहे भयो तर उनी भन्थे, ‘म लिनलाई पत्नीलाई भन्दा बढी माया गर्थें ।’

सन् १९७६ मा माओको निधनपछि साँस्कृतिक क्रान्ति रोकियो । तीन–चार वर्षपछि पार्टी र सरकारमा देङ सियाओ पिङको उदयपश्चात् सन् १९८१ मा लिनको अस्तित्वलाई पुनस्र्थापित गरियो । शहीद मानियो । त्यसपछि बल्ल उनले जेलमा आफ्नै रगतले लेखिएको रचना, टिप्पणी र पत्रहरु सार्वजनिक भयो । सन् २००५ मा उनको जीवनीमा आधारित वृत्तचित्त ‘लिन चाओको आत्माको खोजीमा’ बन्यो । सन् २००८ मा ‘माओको छायाँ बाहिर’ पुस्तक निस्क्यो । सन् २०१८ मा इसाइ धर्मका प्राचार्य सि लियानले लिनको जीवनी प्रकाशित गरे । ‘ब्लड लेटर्स ः दि अन्टोल्ड स्टोरी अफ लिन चाओ, अ मार्टियर इन माओज चाइना’ मा लिनले रगतले लेखेका अक्षरहरु छन् । जसमा युवावस्था, इसाइ र कम्युनिष्ट बनेको बेलाको अनुभव, कम्युनिष्ट पार्टीबाट विकर्षण हुनाको कारण, सन् १९५८ मा कम्युनिष्ट पार्टीले अभियानको रुपमा थालेको दक्षिणपन्थीविरोधी अभियान, जेलमा भोगेको यातना, आमासितको विछोडबारे उल्लेख छ । उनले जेल बसाइको क्रममा कागज नपाएपछि लुगा र तन्नामा समेत रगतले आफ्ना भावना पोख्ने गरेकी थिइन् । उनले जेलमा पटक–पटक आत्महत्याको कोसिस गरिन् । क्षयरोगले ग्रस्त बनिन् ।

टिप्पणीहरू