बच्चाले पनि अब के हुन्छ भन्नसक्ने बेला आयो

बच्चाले पनि अब के हुन्छ भन्नसक्ने बेला आयो

बाहिर आकाश कालो बादलले ढाकिएको छ र पानीका छिटा पर्न शुरु गरेको छ भने अब के होला भनेर मौसम जान्न गुगल गरिरहनु आवश्यक रहन्न । बच्चाले पनि भन्नसक्छ अब पानी पर्नेछ भनेर । यति ठूलो राजनीतिक दल नेकपा (नेकपा ) थियो । यसैको नेतृत्वमा ब्रुट मेजोरिटीको सरकार थियो र शक्तिशाली पार्लियामेन्ट ।

भन्दाखेरि,बृटेनकै जस्तो पुरुषलाई महिला र महिलालाई पुरुष बनाउनबाहेक अरु सबै गर्न सक्ने पार्लियामेन्ट थियो । तर आज न त त्यो अजङ्गको दल छ,न त सरकार छ , न त त्यस्तो पार्लियामेन्ट नै छ। तीन महाबिकट हुन्छ भन्छन् गाउँतिर अन्धविश्वास नै सहि । चुनाव सम्मुख छ,एउटा फुटेर तीनवटा बनेको छ ।

“यसमा कुनै रकेट साइन्स चाहिन्छ र कसले जित्छ र क-कसले हार्छन् भनेर जान्नलाई ? “

यसमा कुनै रकेट साइन्स चाहिन्छ र कसले जित्छ र क-कसले हार्छन् भनेर जान्नलाई ? यथार्थ भन्दा बाहिर रहँदा आत्मतुष्टीकरण त होला तर त्यसले उभिन होइन लडाउननै मद्दत गर्छ।मुखले भन्दाखेरि जित्न एक कदम अगाडि, दुई कदम पछाडिको मुभ पनि गर्नुपर्छ भनेर भन्छन् तर ब्यवहारमा एक कदम पछि हट्दैनन् । यस्तो भएपछि कसरी जितिन्छ चुनाव ?

कम्युनिस्टहरू प्रति जनताको मनमा रहेको पहिलो सकारात्मक कुरा भनेको यिनीहरुको देशभक्तिमाथिको अटल निष्ठा हो । यिनीहरुको देशभक्तिमाथि शंका गर्नु पर्दैन भन्ने कुरा हो । उन्नाईस सय पचासको सन्धि ,कोशी सम्झौता,गण्डक सम्झौता लगायतका अपमानपूर्ण र असमान सन्धिहरुको बिपक्षमा निरन्तर बोल्ने र लड्ने काम कम्युनिस्टहरूले गर्दै आए। इतिहासको ब्याज सधैंभरि खानलाई त त्यस कुरामा सदैव अडिग रहनुपर्छ ।

“कोशी सम्झौता,गण्डक सम्झौता लगायतका अपमानपूर्ण र असमान सम्झौताहरु त बिर्सिए नै बरु अब शंकास्पद अरु सन्धि-सम्झौताहरु पो गर्दैछन् कि के हो भन्ने भान जनतामा पर्न गएको छ ।”

आजका कम्युनिस्टहरूले यी सन्धि सम्झौताहरु त बिर्सिए नै बरु अब शंकास्पद सन्धि सम्झौताहरु पो गर्दैछन् कि के हो भन्ने भान जनतामा पर्न गएको छ । नेपाली जनताले कम्युनिस्टहरूको देशभक्तिमाथि पनि अब सन्देहको नजरले हेर्न थालेका छन् । हामीले बुझ्नैैैपर्ने कुरा के हो भने अब देशभक्त छु वा हौं भनेर दावा गरेर, भाषण गरेर देशभक्ति प्रमाणित हुनसक्दैन ।

त्यस्तो दावालाई जनताले पत्याउने छन् भनेर बुझ्नु ठूलो मूर्खता हुनेछ। अबको दिनमा देशभक्त सुनिने होइन देखिने हुनुपर्छ र मात्रै जनताले विश्वास गर्छन् । जनता आज धेरै जागरुक र सचेत भइसकेका छन्।सञ्चार,सामाजिक सञ्जाल र ओैपचारिक शिक्षाले जनताको चेतना स्तरलाई असाध्यै माथिल्लो स्तरमा पुर्‍याउने काम गरेको छ,यसमा ठूलो बिकास भएको छ ।

प्लस टु नगरेका युवा बिरलै भेटिन्छन् गाउँघरमा। मास्टर्स डिग्रीसमेत अहिले सामान्य भएको छ । यो शिक्षित युवा समूहले देशभक्ति के हो र यो कसरी अभिब्यक्त हुन्छ भन्ने कुरा राम्रोसँग बुझेको छ । यो समूहले पत्याउन नसक्ने किसिमको देशभक्तिको भावना प्रस्तुत गरेर भोट पाइन्न, त्यसकारण चुनाव पनि जितिन्न । बुझ्नुपर्ने कुरा यो छ ।

“खुट्टामा काँढा बिझे त तेल बेसार लाउने चलन हुन्छ,अब यो फुटेको पार्टी जोड्न अर्थात चुनाव जित्न के गर्नुपर्ला समय छँदै बिचार पुर्‍याउँँदा नै बुद्धिमानी ठहर्नेछ।”

अहिले सबैले लिएको राजनीतिक लाइन भनेको जनताबाट चुनिएर संसदमा बहुमत ल्याउने र सरकार बनाएर जनताको पक्षमा काम गर्ने लाइन हो । चुनाव नजिती सरकारमा पुगिन्न र सरकारमा नपुगे जनताको काम गर्न सकिन्न । हाम्रो संविधानअनुसार कुरा गर्ने हो भने त सरकारमा नगइकन समाजवादको आधार निर्माण गर्नै सकिन्न ।

त्यसकारण चुनाव जितेर सरकार बनाउने हैसियत बनाउनु आजको मुख्य काम हो । यस्तो हैसियत कसरी बन्छ त भन्दा सर्वप्रथम अहंकार त्यागेर यथार्थलाई आत्मसात गर्नुपर्छ।

दोस्रो कुरा,बदला लिने वा देखाइदिने सोँचलाई त्याग्नुपर्छ । तेस्रो कुरा एकता नै शक्ति हो,तागत हो भन्ने कुरालाई मानेर शक्ति हासिल गर्न मेलमिलाप र एकतालाई अँगाल्न सिक्नुपर्छ । ब्यक्तिले प्राप्त गर्ने सत्ताको शक्ति अनन्त हुँदैन । जो आज सत्तामा छन् त्यहीँ ठाउँमा हिजो अरु नै थिए। तिनीहरु मध्येका धेरैजसो इतिहासको गर्तमा छन् । तिनहरुको नामसमेत सम्झना छैन धेरैलाई । कम्युनिस्टहरूले पुष्पलाल र काङ्ग्रेसीजनले बिपीलाई सम्झिने कारण छ ।

सत्तामा रहँदैमा अमर रहने भन्ने सोचाइ मिथ्या हो ।जनताको र खास गरेर गरिब मजदुर- किसानको हितमा सत्ताको सदुपयोग गरेर सम्झनायोग्य काम गरे मात्र इतिहासले सम्झने हो र इतिहासले सम्झने भनेको पनि जनताले सम्झिने भनेको हो । अहिले फेरि समय उस्तै बनेको छ मिल्ने,एकता गर्ने,सहमति गर्ने र जनताको मन जित्ने ।

खेतमा पानी लगाउने कुलो नभत्काओस् भनेर रातीको समयमा आएर पिँढीमा गो ब्र्याइदिने दुष्ट छिमेकीसंग त मिलेर बस्छन् जनता भनेपछि देश बनाउनको निम्ति,जनताको जीवनोस्तर माथि उठाउनको निम्ति र सारमा समाजवादको आधार निर्माण गर्ने ध्यय पुरा गर्न आफ्नै बर्गी मित्रहरूसंग मिल्न नसक्नुपर्ने वा नमिल्नुपर्ने कुनै कारण नै छैन । भाइ फुटेर गवाँरलाई लुटाउने कि अम्लिसोको कुचोजस्तो एकठ्ठा भएर फोहर बढार्ने ? रोजाइ आ-आफ्नै ।

के भन्छन् हाम्रो छरछिमेकतिर भने जसको खुट्टामा काँढा बिझेको छ उसैलाई मात्रै थाहा हुन्छ कत्तिको दुखेको छ भनेर । यो छन्छँदाको ठूलो दल फुटेर तीनवटा बन्दाको पीडा, राजकीय अधिकारहरु गुमाउनुपर्दाको पीडा तीन दलका मुखियालाई जत्तिको अरुलाई पक्कै पनि नहोला । खुट्टामा काँढा बिझे त तेल बेसार लाउने चलन हुन्छ,अब यो फुटेको पार्टी जोड्न अर्थात चुनाव जित्न के गर्नुपर्ला समय छँदै बिचार पुर्‍याउँँदा नै बुद्धिमानी ठहर्नेछ।

टिप्पणीहरू