गाडिएको शवको रहस्य खुल्यो
करिब एक महिनाअघि मोरङको केराबारी गाउँपालिका–८ स्थित हजार बिघा सामुदायिक वनमा भेटिएको लाशको रहस्य खुलेको छ । स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्यापछि खाल्डोमा पुरिएको प्रहरीको ठहर छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले केराबारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बुलाई पक्राउ गरेको छ । भट्टराईको लाश माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो । शव फेला परेपछि घटनाको प्रहरीले सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको बताइएको छ ।
अनुसन्धानबाट भट्टराई पुस २७ गतेदेखि नै बेपत्ता भएको भोलिपल्ट पुस २८ गते वादविवाद हुँदा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको स्वीकार गरेको रहस्य खुलेको हो । लिम्बुले हत्यापछि घटना ढाकछोप गर्न खाल्डो खनेर भट्टराईको लाश गाडिदिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
टिप्पणीहरू