भारतीयको सुन बोकेर आएका बंगाली विमानस्थलमा च्याप्पै
दुबईबाट नेपाल आएका एक जना बंगलादेशी नागरिक झण्डै एक केजी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका छन् । आज बिहान हिमालयन एयरलाइन्सबाट नेपाल आएका बंगलादेशी नागरिक मोहम्मद तफिक्यु उल्लाहलाई विमानस्थल प्रहरीले सुनसहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ९ सय ३६ ग्राम सुन फेला पारेको छ । विमानस्थलको आगमन टनेल गेटमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा फल्स बटममा लुकाएर ल्याएको एक थान र भित्री वस्त्रबाट दुई थान सुन फेला पारेको हो । विमानस्थलका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा उल्लाहले भारतीय नागरिक पारसनाथ साहले भन्सार छल्न लगाएको बताएका थिए ।
प्रहरीले साहलाई समेत पक्राउ गरिसकेको छ । साहलाई सोधपुछ गर्ने क्रममा उनले स्वीकार गरेकाले दुबैमाथि थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । बरामद गरिएको सुनको मूल्य ७७ लाख १९ हजार ६ सय ६० रहेको प्रहरीको भनाइ छ ।
टिप्पणीहरू