मध्यरातमा राष्ट्रिय झण्डा गायब
भक्तपुरको खेल मैदानबाट राष्ट्रिय झण्डा चोरी भएको छ । महेश्वरी खेल मैदानमा राखिएका झण्डासहित केही उपकरण चोरी भएको आयोजकले जनाएको हो । भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको समयमा मैदानबाट गएराति नेपालको राष्ट्रिय झण्डासमेत चोरी भएको हो ।
सोमबार साँझसम्म रहेका झण्डै दुई दर्जन ठूला आकारका राष्ट्रिय झण्डा मंगलबार बिहान हराएका हुन् । प्रतियोगितास्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिपे्ररित गर्न आयोजक भक्तपुर युवा टिमले मैदानमा २० वटा झण्डा राखेको बताइन्छ । अहिले मञ्चमा दुईवटा झण्डा मात्रै देखिन्छन् ।
मैदानको चारैतिरको बारमा डोरीले बाँधेर राखेका १८ वटा झण्डा हराएका हुन् । आयोजक भक्तपुर युवा टिमका सदस्य सुरेश कवाँले प्रतियोगितास्थललाई सभ्य र भव्य देखाउनुका साथै राष्ट्रिय भावना अभिपे्ररित गर्न राखिएका नेपालको राष्ट्रिय झण्डा चोरी हुनु दुःखद् भएको बताए ।
यहि फागुन ६ गतेदेखि भइरहेको प्रतियोगिताअन्तर्गत आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । प्रतियोगिताको फाइनल आगामी शनिबार हुने आयोजकले जनाएको छ ।
टिप्पणीहरू