बानेश्वरपछि भक्तपुरबाट पनि चिनियाँ नागरिक समातिए
भक्तपुरको सानोठिमीबाट एक चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् । कल बाइपास गरेको आरोपमा ४७ जना महिला र ३३ जना पुरुष पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ पर्ने चिनियाँ नागरिकको नाम वाङ जिनाऊ रहेको प्रहरीले बताएको छ । उनी केही समयदेखि सन सिटी अपार्टमेन्टको रुम नम्बर १२०६ मा बस्दै आएका थिए ।
उनले, सानोठिमीस्थित तीन तले घरमा नेपाली युवा युवतीहरु प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । वाङले भारतीय मूलका युवा युवतीहरुलाई छोटो समयको लागि विभिन्न माध्यमबाट ऋण प्रवाह गर्दै आएको समेत अनुसन्धानको क्रममा खुलेको छ ।
निश्चित ब्याजसहित तोकिएको समयभित्र रकम तिर्न नसक्ने ऋणीहरुलाई उनीहरुले कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य पनि गर्दै आएको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरुको साथबाट १४ थान कम्प्युटर, ४८ थान ल्यापटप, २ थान आइप्याड बरामद गरिएको छ ।
आजै बिहान बानेश्वरबाट पनि प्रहरीले कल बाइपास गरेकै आरोपमा एक चिनियाँसहित ३७ जनालाई समातेको थियो ।
टिप्पणीहरू