शिवरात्रिको नशाले १ को हत्या, ३ समातिए
पोखरामा एक युवकको हत्या भएको छ । महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको हो । पोखरा–२० मौजामा स्थानीय युवाले आयोजना गरेको मेलामा झगडा भएको थियो ।
मेलामा मदिरा सेवन गरेर स्थानीय युवाहरुबीच झगडा हुँदा ३५ वर्षीय चोकबहादुर गुरुङको हत्या भएको प्रहरीले बताएको छ । हत्या आरोपमा कास्की प्रहरीले निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ ।
पीडित परिवारको किटानीका आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘घटना हुने बित्तिकै भागिरहेको अवस्थामा दुई जनालाई चक्कुसहित प्रहरीले पक्राउ गरेको र अर्का एक जनालाई आज समातेका छौं,’ उनले भने, ‘अनुसन्धान जारी छ । बाँकी अनुसन्धानपछि खुल्छ ।’
गाउँकै दुई युवाबीच झगडा भइरहेको बेला चोकबहादुर बीचमा परेको प्रत्यक्षदर्शीहरुको भनाइ छ । ‘चोकबहादुर घटनामा थिएनन्, अरुको बीचमा उनी परेका हुन्,’ एक प्रत्यक्षदर्शीले भने ।
चक्कु लागेपछि घाइते भएका चोकबहादुरलाई उपचारका लागि गाउँलेले मणिपाल अस्पताल लगेका थिए । तर, ढिलो भइसकेकोले उनको बाटैमा मृत्यु भएको बताइएको छ । उनलाई चिकित्सकले अस्पताल पुग्ने बित्तिकै मृत घोषणा गरेका हुन् । घटना मध्यराति साढे १ बजे भएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू