नक्कली प्रहरी बनेर लुटेका भिटेनसहितको टोली फेला पर्यो

नक्कली प्रहरी बनेर लुटेका भिटेनसहितको टोली फेला पर्यो

प्रहरी हौं भन्दै लुटपाटमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्रेको छ । फागुन १२ गते साँझ करिब साढे ७ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँबजारस्थित समृद्ध फार्मेसीमा लुटपाट गरेर भागेका उनीहरुलाई प्रहरीले समातेको हो ।

उनीहरुले फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई ‘हामी प्रहरी हौं, तपाईंको पसलमा अवैध औषधि बिक्री वितरण गर्ने गरेको रहेछ भन्ने सूचना आएकाले खानतलासी गर्न आएका हौं’ भन्दै लुटपाट गरेका थिए ।

उनीहरुले पसल काउण्टरमा भएको नगद, साथमा रहेको स्यामसङ एस २० मोबाइल, लगाएको घडी, ग्लोबल आइएमई बैंकको खाताबाट ई–सेवामा दश हजार, कुमारी बैंकको खाताबाट ई–सेवामा १ हजार ७ सय रुपैयाँ पठाएर स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको खातामा रहेको ३ हजार ५ सयसमेत गरि ६५ हजार रुपैयाँ लुटेका थिए ।

उक्त कार्यमा भिटेन उपनाम राखेका संगीत थापा भनिने २१ वर्षीय कमल सुनार, २६ वर्षीय देवीप्रसाद धिताल, ३० वर्षीय शंकर रेग्मी, २८ वर्षीय हिक्मत महत, २७ वर्षीय सुवास रतोकी, ३४ वर्षीय मिलन बोहोरा, ३२ वर्षीय लिम्बु भनिने भविन्द्र बेगा तथा २७ वर्षीय जीवन भनिने योगेन्द्रबहादुर चन्द संलग्न थिए ।

पक्राउ परेपछि उनीहरुको साथबाट मोबाईल ११ थान, घडी १ थान, नागरिकता प्रमाण पत्र १ थान, विभिन्न बैंकका एटीएम कार्ड ५ थान र चेक २ थान बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

टिप्पणीहरू