महाराजले तोडिदिएको प्रेमीको मन

महाराजले तोडिदिएको प्रेमीको मन

टर्कीका सुल्तान अब्दुल हमिद (द्वितीय) का चतुर सल्लाहकार इज्जत पाशा अल अविदकी सुन्दरी पुत्री लैलाको बिहे गोप्य तवरले भारत, पञ्जाब प्रदेशको कपुरथला राज्यका मन्त्री दिवान जर्मनीदाससित भयो । उनीहरु एकअर्कालाई अधिक प्रेम गर्थे । कपुरथलाका महाराज जगतजित सिंह आफ्ना मन्त्री जर्मनीदासको बिहे लैलासँग होस् भन्ने चाहन्नथे, त्यसैले लैलाको दबाबमा जर्मनीदासले गोप्य तवरबाट बिहे गरे । बिहेमा संलग्न पुजारी एक जना र दुवैतर्फका एक–एक जना साक्षीबाहेक जर्मनीदास र लैलाको बिहेको सुइँको कसैले पाएका थिएनन् ।

एक दिन महाराज जगतजित सिंहले दक्षिण अमेरिका जाने योजना बनाए । जर्मनीदास महाराजको विदेश भ्रमणमा सधैं साथै हुन्थे । जब जर्मनीदास महाराजसँग जान तयार भए, लैलाले रोकिन् । उनले दक्षिण अमेरिका नजान र आफ्नो बिहे भइसकेको जानकारी महाराजलाई दिन भनिन् । महाराज र नयाँ पत्नी दुवैतर्फबाट पेलिएका जर्मनीदासले लैलाले भनेजस्तै गरे । आफूले लैलासँग गुप्त बिहे गरेको सुनाए । साथै आफूलाई दक्षिण अमेरिका नलैजान निवेदनसमेत गरे । यो सुनेर महाराज क्रोधित बने । तुरुन्त मन्त्री पदबाट राजीनामा दिन भने । जर्मनीदास असमञ्जसमा परे । उनी महाराजको त्यति राम्रो नोकरी छाड्न चाहँदैनथे । फेरि उनलाई थाहा थियो, उनको राजीनामाको अर्थ सरकारी जागिरमा रहेका परिवारजन तथा नातेदारहरु सबैले जागिरबाट हात धुनुपर्ने हुन्छ ।

जर्मनीदास पत्नीको दबाबलाई नकार्दै दक्षिण अमेरिकातर्फ रवाना भए । महाराज जगतजित सिंह र जर्मनीदास घुम्दै फिर्दै पनामा नहर भएर न्युयोर्क छिरे । र, होटल प्लाजामा बसे । बिहेअघि आफ्ना प्रेमीलाई भेट्न जर्मनदिास जहाँ–जहाँ जान्थे, त्यहीं–त्यहीं जाने गरेकी लैला अमेरिका पुगेर सोही होटलमा बसिरहेकी थिइन् । जर्मनीदास पत्नीलाई त्यहाँ देखेर दंग परे । महाराजको आँखा छलेर उनीहरु भेट्न थाले । जर्मनीदास महाराजसँग उक्त होटलमा धेरै दिन बसे तर लैला पनि त्यही होटलमा आएर बसिरहेको कसैलाई भनेनन् । उनीहरु त्यताबाट फ्रान्स जाने तय भयो । ‘इलाद फ्रान्स’ जहाजको टिकट काटे । लैलाले पनि सोही जहाजमा डबल बर्थयुक्त आलिशान क्याबिन रिजर्भ गरिन् । महाराजले थाहा नपाउने गरी सवार भइन् । जहाजमा जर्मनीदासको निम्ति छुट्टै क्याबिन बुक थियो तर यात्राभरि जर्मनीदास लैलाकै क्याबिनमा बसे । पेरिस पुगेपछि महाराजले जर्मनीदासलाई आफ्नो कुरा मानेर आफूसँगै यात्रा गरेकोमा धन्यवाद दिए । खुशी भए ।

तर लैला र जर्मनीदासको सम्पूर्ण दुस्साहसको खबर लैलाका पिता इज्जत पाशाले पाए । त्यसबखत पाशा देशबाट निश्कासनमा परेर कायरोमा थिए । उनले आफ्नी पत्नीसँग सम्बन्धबिच्छेद र लैलाले अंश नपाउने घोषणा गरिसकेका थिए । उनको खर्चसमेत जर्मनीदासको काँधमा आइलाग्यो । लैलाको पेरिस बसाइको खर्च र ससुराको ऋण तिर्दातिर्दै सञ्चित धन सकिँदै गयो । यसबीच ७६ वर्ष पुगिसकेका पाशा सख्त बिरामी परे । लैला आमालाई लिएर कायरो गइन् । बिरामी बाबुको सेवामा लागिन् । अन्त्यमा पाशाले पत्नी र छोरीलाई माफी दिए । बाबुको निधनपश्चात् लैलाले पाशाको नाउँमा रहेको लाखौं पौण्डको सम्पत्ति पाइन् ।

पिताको मृत्युपछि भारतको मुम्बई पुगेर । ताजमहल होटलमा बसिन् । भारत विभाजनपछि पाकिस्तानको प्रधानमन्त्री बनेका मोहम्मद जिन्ना र सरोजनी नायडुले उनीहरुलाई आशीर्वाद दिए । जर्मनीदास र लैला मैसुर घुम्न गए । त्यहाँका प्रधानमन्त्री मिर्जा इस्माइल र युवराजले भव्य स्वागत गरे । सम्मानमा साँस्कृतिक कार्यक्रम आयोजना गरे । त्यहाँबाट उनीहरु बनारस पुगे । हस्तरेखा हेर्ने एकजना पण्डितले लैलालाई भारत बस्न नपाउने बताएपछि लैला उदास बनिन् । उदास मन बोकेर जर्मनीदाससँगै कपुरथला गइन् । कपुरथलामा त्यसबखत राति सडकको बत्ती निभाउन लगाइन्थ्यो तर जर्मनीदास र लैला रेलबाट उत्रेर ‘अमलतास निवास’ नपुगुञ्जेल बत्ती ननिभाउन महाराजले आदेश दिए । लैलाको स्वागत जर्मनीदासका परिवारजनले भव्य तवरमा परे । जर्मनीदासकी आमाले सिख परम्पराअनुरुप बुहारीलाई गृहप्रवेश गराइन् । त्यसबेला लैलाले दुई लाख भारु. बराबरको गहना लगाइराखेकी थिइन् । अन्य राज्यका राजा, महाराजा तथा राजनीतिक नेताहरुले पठाएको उपहार ग्रहण गरिन् ।

कपुरथलाका सम्पूर्ण जनता खुशी देखिए । यहाँसम्म कि महाराज जगतजित सिंहले समेत उनीहरुको स्वागतमा दरबारमा रात्रिभोजको आयोजना गर्न लगाए तर त्यहाँका प्राइममिनिष्टर अब्दुल हमिद भने खुशी देखिएनन् । उनी आफैं मुसलमान थिए । एउटी मुसलमान केटी हिन्दूको घरमा बुहारी बनेको उनलाई चित्त बुझेन । यसबीच त्यहाँ हिन्दू समाज सुधारक स्वामी श्रद्धानन्दको हत्या एकजना मुसलमानले गरिदियो । हिन्दूहरुको क्रोध लैलातर्फ मोडियो । महाराजले अब्दुल हमिद र लैलालाई दरबारमै बोलाएर सुलह गराउन कोसिस गरे तर महाराजकै सामु अब्दुल हमिदले लैलाविरुद्ध आगो ओकले । उनले लैलालाई भारतमा रहन दिन हुन्न भने । कपुरथलाका हिन्दू र मुसलमान दुवै सम्प्रदायले लैलालाई स्वीकार्न नसकिने बताए । उता, दिल्लीस्थित दरगाह हजरत निजामुद्दिन औलियाका धार्मिक नेता पीर हसन निजामीले पनि जर्मनीदास र लैलाको बिहेलाई स्वीकार्न नसकिने बताए । यसपछि पटक–पटक मुसलमानहरुको समूहले लैलाको नाउँमा पत्र लेखेर हिन्दुसँग बिहे गरी जिन्दगी खतरामा पारेको चेतावनी दिन थाल्यो । अब लैला रोएर दिन काट्न थालिन् । पत्रपत्रिकाले पनि उनीविरुद्ध लेखेपछि लैलाले भारतबाट बाहिरिने अठोट गरिन् ।

हिन्दू त हिन्दू, मुसलमान प्रधानमन्त्री अब्दुल हमिदसमेत लैलाको पछि लागेपछि एकदिन जर्मनीदासले महाराजसमक्ष असन्तुष्टि पोखे तर महाराजले पनि थाहा नपाएझंै गरी टार्न खोजे । उल्टो लैलालाई देशबाट भगाउने कुरोबाट महाराज प्रसन्न भएको आभाष पाए । जर्मनीदास र लैला दिल्ली र कपुरथलामा बस्न नसकेपछि मुम्बईतर्फ रवाना भए । मुम्बई बसाइको क्रममा लैलाले लोग्नेमाथि सरकारी जागिर छाड्न दबाब दिइन् । कायरोमा बाबुको सम्पत्ति रहेकाले त्यसैबाट गुजारा चलाउने र संसार घुमेर दिन बिताउने भनिन् ।

अन्तिममा लैला युृरोप जान तयार भइन् । महाराज जगतजित सिंहले लैलालाई बिदाइ गर्न जर्मनीदासलाई केही दिनको छुट्टी दिए । लैला र जर्मनीदास मुम्बई जाने क्रममा दिल्लीको मेडेन्स होटलमा बसे । लैलाले आफूसँगै युरोप नहिँड्ने हो भने होटलको तेस्रो तलाबाट हामफालेर आत्महत्या गर्ने धम्की दिइन् । जर्मनीदासले महाराजको स्वीकृतिबिना आफू कतै जान नसक्ने बताए । लैलाले तत्कालै ५० लाखको चेक काटेर दिइन् र भनिन्, ‘यो रकम महाराजकोमा जिन्दगीभर सेवा गरेबापत पाउने तलबभन्दा धेरै छ ।’

जर्मनीदास लैलाको सौन्दर्यबाट मोहित थिए । अत्यन्त धेरै प्रेम पनि गर्थे तर मन्त्रीको पद छाड्न अझै तयार थिएनन् । त्यसैले रिसाउँदै चेक च्यातिदिए । जति पैसा पाए पनि दरबारको जागिर नछाड्ने अडान राखे । बरु महाराजसँग बिन्ती गरेर बिदा थप्न लगाउने र सँगै पेरिसम्म जानसक्ने बताए । थप बिदाका लागि निवेदन पनि दिए । त्यसबेला दुवैजना मथुरास्थित रेलवे स्टेशनमा थिए । त्यसैबेला महाराजको सन्देश आयो । सन्देश लैलाले पढिन् । लगत्तै उनी चलिरहेको रेलबाट हामफालिन् । रेल भर्खर चल्न शुरु मात्र भएकाले सामान्य चोटपटक मात्र लाग्यो । जर्मनीदासले दोस्रोपटक बिन्ती चढाए । दोस्रोपटक पनि महाराजले मानेनन् । पछि महाराजको अत्यन्त विश्वासपात्रमार्फत बिदा स्वीकृत गराउन सफल भए ।

महाराजले जर्मनीदासलाई फ्रान्स जाने अनुमति त दिए तर परिवारका सदस्यले नजान भने । परिवारले पठाएका सबै पत्र लैलाले पढिन् । दुःखी भई आइन्दा भारत नफर्किने निधो गरिन् । उनीहरु फ्रान्स पुगे । केही समयपछि महाराज जगतजित सिंह पनि नियमित भ्रमणमा फ्रान्स गए । महाराजले बिदा स्वीकृत गर्दैखेरी फ्रान्समा भेट्न आउनुपर्ने शर्त तेस्र्याएका थिए । त्यसैले मार्सेलिजमा भेट्न गए । बन्दरगाहमा उत्रिएका जर्मनीदासलाई महाराजले देखिहाले । देख्नेबित्तिकै सोधे, ‘लैला पनि तिम्रो साथमा छिन् ?’

जर्मनीदासले भने, ‘हो महाराज, उनी मसँगै छिन् ।’

मन्त्रीको कुरा सुनेर महाराजको पारो चढ्यो । उनले जर्मनीदासलाई आफूसितै भारत फर्किन र लैलालाई त्यतै छाड्न आदेश दिए । महाराज स्वयं पनि आफूहरुलाई छुटाउन लागिपरेको देखेर लैलाले मन दुखाइन् । रिसले चुर भएर पुनः सरकारी जागिर छाड्न दबाब दिइन् । जर्मनीदास जस्तोसुकै परिस्थिति सिर्जना भए पनि महाराजको जागिर छाड्न र आफ्नो कारण परिवारजन तथा नातेदारहरु बेरोजगार हुने परिस्थिति सिर्जना गर्न चाहँदैनथे । उनले पत्नीको सम्पत्तिमा ऐश–आरामको जीवन गुजार्नुभन्दा महाराजकै सेवामा लीन भइरहने अठोट गरे । महाराज जगतजित सिंह अरुबेला जहाँ–जता रहे पनि नोभेम्बर २६ भन्दा अघि जसरी पनि स्वदेश पुग्थे । उनको जन्मदिन हो, उनी जहिले पनि जन्मोत्सव धुमधामसँग मनाउन मन पराउँथे ।

जर्मनीदास महाराजसँगै भारत फर्कन तयार भएको देखेर लैलाले रोइकराइ बिन्ती बिसाइन् । जर्मनीदासले दुई–चार महिनापछि पुनः भेट्न आउने आश्वासन दिए । जर्मनीदासको कुराले लैलालाई ठूलो धक्का लाग्यो । बेहोस भइन् । चिकित्सकले चिन्ता लिनुपर्ने कारण छैन भनेपछि र स्वास्थ्यमा सुधार देखापरेपछि जर्मनीदास महाराजसँगै भारत फर्किए । लैलाकी आमाले छोरीलाई भारत फर्कने इच्छा मार्न र जर्मनीदाससँग बाँकी जीवन बिताउने सपना नदेख्न सम्झाइन् ।

लैलाले केही समय जर्मनीदासलाई सम्झेर रोएरै दिन बिताइन् । जर्मनीदास फर्केर आउने आशा मरेपछि नचाहँदा नचाहँदै आमाको दबाबमा परेर कार्ल होम्स नामक एकजना करोडपतिसँग बिहे गरिन् तर यो विवाह सफल भएन । एक महिनापछि नै सम्बन्धबिच्छेद भयो । कार्ल होम्सले सम्बन्ध बिच्छेद मात्रै गरेनन्, एउटै समयमा दुई जना लोग्नेसँग बसेको भनेर अमेरिकी अदालतमा बहुविवाहको मुद्दासमेत दायर गरे । लैलाको निधन अमेरिकामै भयो ।

टिप्पणीहरू