दही चोरेर खाएको भन्दै दलित बालिकालाई यातना दिने घरधनी समातिए
रामेछापमा चोरको आरोप लगाएर एक दलित बालिकालाई २१ घण्टासम्म डोरीले बाँधेर यातना दिने एक व्यक्तिलाई प्रहरीले समातेको छ । मन्थली नगरपालिका–६ भलुवाजोरकी १३ वर्षीय बालिका सरिता नेपालीलाई यातना दिने ६३ वर्षीय शेरबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।
बालिकालाई २१ घण्टासम्म डोरीले बाँधेर यातना दिएर राखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए । उनका अनुसार घरधनी श्रेष्ठले घरभित्र पसेर दही खाएको र दालमोड, चाउचाउ चोरेर भाग्दै गरेको अवस्थामा बालिकालाई समातेका थिए । त्यसपछि अस्ति दिउँसो साढे ४ बजेदेखि हिजो १२ बजेसम्म बालिकाको हातखुट्टा बाधेर राखेका थिए ।
स्थानीयले भने सानो जातको मान्छे घरभित्र पसेर दही खाएको र घर अछुतो भएको भन्दै पीडितका परिवाले रुद्री लगाएर घर चोख्याउन खर्च नदिएसम्म नछोड्ने भन्दै श्रेष्ठले बालिकालाई बाधेर राखेको बताएका छन् ।
पीडित बालिकाले आफूलाई घरभित्रबाट निकालेर दलिनमा डोरीले बाँधेर सिस्नु लगाउँदै लौरोले कुटेको बताएकी छिन् । पीडितका बाबु केहि दिनअघि बितेका थिए भने आमा उपचार गराउन अस्पतल गएकी थिईन । बालिका र उनका भाइमात्र घरमा भएको बेला उक्त घटना भएको प्रहरीले जनाएको छ ।
डिएसपी थिङले पीडक श्रेष्ठविरुद्ध पीडितको परिवारले शरीर बन्धक बनाएको जाहेरी दिएको र श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धन प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
टिप्पणीहरू