राष्ट्रिय वाणिज्य बैंकले लियो सुन, दियो पित्तल
इलामकी एक महिलाले राष्ट्रिय वणिज्य बैंकको स्थानीय शाखाबाट सुन धितो राखेर ऋण लिँदा ठगिएको बताएकी छिन् । सक्कली सुन राखेर कर्जा लिएको तर बैंकले पछि फिर्ता गर्दा नक्कली दिएको उनको दाबी छ ।
बैंकबाट धितो फिर्ता लिँदा आफूले राखेको सुन नभएर जलप लगाएको सिक्री दिएको इलाम नगरपालिका–८ कि बिना चेम्जोङले गुनासो गरेकी हुन् ।
गत असार १० गते दुई थान सिक्रीसहित पाँच थान सुनको गहना धितो राखेर एक लाख ४७ हजार ऋण लिएको र तीन किस्तामा साँवाब्याज तिरेर गत फागुन १ गते सुन फिर्ता लिँदा एक तोलाको सिक्री सक्कली नभएर जलप लगाएको नक्कली दिएको चेम्जोङले बताइन् ।
उनले यो मेरो होइन भन्दा ‘बैंकलाई विश्वास नगर्ने’ भनेर कर्मचारीले हप्काएको दुःखेसो पोखिन् । चेम्जोङले सिक्री, पञ्चरत्न चुरा र एउटा औँठी बैंकमा धितो राखेर ऋण लिएकी थिइन् । पाँच थान सुनको गहना फिर्ता लिँदा अरु आफ्नै भएको तर एक थान सिक्री सुनको जलप लगाएको नक्कली दिइएको उनको भनाइ छ ।
बैंकबाट फिर्ता लिएर घरमा राखिएको गहना नारी दिवसको दिन लगाउन खोज्दा सिक्रीको हुक नभएपछि हुक लगाउन सुन पसल पुग्दा आफू ठगिएको थाहा पाएको चेम्जोङले सुनाइन् । ‘नारी दिवसको दिन बैंक बन्द भएकाले भोलिपल्ट बैंकमा पुगेर गुनासो गर्दा तपाईंले यही सुन राखेको हो भनेर फर्काएको चेम्जोङले बताइन् । ‘आफूले जलप लगाएको सुन दिएको भए बैंकले कसरी पैसा दियो ?’, चेम्जोङले भनिन्, ‘मेरो गहना यो होइन भनेर त मैले त्यतिबेलै भनेको थिएँ ।’
चेम्जोङले दिउँसो साढे २ बजेतिर बैंकमा पैसा बुझाएको र कर्मचारीले साढे ३ बजेतिर आउन भनेपछि कर्मचारीले बोलाएको समयमा आफू बैंक गएको बताइन् । ‘साढे ३ बजेतिर बैंक पुग्दा किन यति चाडै आउनु भयो भनेर पर्खिन लगाए । पाँच बजेतिर मात्रै गहना पाएँ’, उनले भनिन् ।
चेम्जोङले आफू ठगिएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । प्रमुख जिल्ला अधिकारीलाई समेत भेटेर गुनासो गरेको उनले बताइन् । तर, प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीले उनलाई ढिलो भएको भन्दै फर्काइदिएका छन् ।
यता, राष्ट्रिय वाणिज्य बैंक इलामका शाखा प्रबन्धक इन्द्र कार्कीले उनले सुन मेरो होइन भनेर गुनासो नगरेको बताए । ‘यो मेरो होइन भनेर आउनुभएको छैन । त्यहि दिन आएको भए भेरिफाइ गर्न सकिन्थ्यो’, उनले भने । २५ दिनपछि ल्याउँदा भेरिफाइ गर्न नसकिने शाखा प्रबन्धक कार्कीको भनाइ छ ।
टिप्पणीहरू