कोहलपुरमा चोरिएको मोटरसाइकल स्वयम्भूमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकलसहित एक जनालाई काठमाडौंको स्वयम्भूस्थित भुईंखेलबाट नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले कालिकोटको महाबी गाउँपालिका २ घर भई भक्तपुर सल्लाघारी बस्ने २३ वर्षका पञ्चबहादुर सिंहलाई पक्रेको हो ।
उनलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३–०२, ००३ प २४७३ नम्बरको कालो रंङको २०० सिसीको पल्सर एनएस मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । सिंहले गत बुधबार यातायात व्यवस्था कार्यालय बागमतीले सञ्चालन गरेको सवारी चालक अनुमति–पत्र ‘ए’ वर्गको परिक्षामा बाँके खजुरा ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाणपत्रमा आफ्नो फोटो टाँसेर प्रयोगात्मक परिक्षा दिएको समेत खुल्न आएको छ ।
वास्तविक नम्बर भे. १० प ४३६२ रहेको उक्त मोटरसाइकल आशिष गुरूङ्गको रहेको खुलेको हो । सिंहलाई चोरी मुद्दाअन्तर्गत अनुसन्धान एवम् कारवाहीका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको छ ।
टिप्पणीहरू