कलियुगका अर्का एक कपुत

कलियुगका अर्का एक कपुत

पोखरामा एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । जग्गा बेच्न नदिएको रिसमा पोखरा-१२ शीतलादेवीकी नौमाया नेपालीलाई उनकै छोरा ओमले साथीसँग मिलेर मारेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चैत ४ गते बिहान ओमले साथीसँग मिलेर आमाको हत्या गरेको खुलेको हो । उनले जग्गा बेच्न गरेको आग्रह आमाले नमानेपछि हत्या गरिएको प्रहरीले बताएको छ ।

‘ओमले जग्गा बेच्न लागेका रहेछन् । आमाको नाममा भएकोले सजिलोसँग बेच्न पाएनन् । उनले आमालाई आग्रह गर्दा पनि नमानेको स्वीकारे,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, ‘आमाले कुनै पनि हालतमा जग्गा बेच्न नमानेपछि हत्या गरेको पाइयो ।’

आमाको हत्याका लागि सोही ठाउँका आफ्नै साथी कुमार गुरुङलाई १ लाख रुपैयाँ दिने सहमति गरेर ओमले हत्या गरेको तिवारीले बताए ।

घटना यसरी भयो

ओमले आमाको नाममा भएको जग्गा बेच्ने योजना बनाए । तर, आमा नौमायाले मानिनन् । जसरी पनि जग्गा बेच्ने मनस्थिति बनाएका ओमले आमालाई तगारो देखे र पन्छाउने योजना बनाए । चैत ३ गते होलीको दिन अबेरसम्म ओम र कुमार मिलेर रक्सी पिए । सोही क्रममा योजना बनेको हो ।

त्यसपछि भित्रबाट चुकुल लगाएर सुतिरहेकी आमालाई मार्न गर्न ओमले कुमारलाई पठाए । राति साढे १० बजे कुमारले नौमायाको हत्या गरे ।

भित्र पसेर कुमारले आमाको हत्या गरिसकेपछि दुवै जना कुमारकै घरमा गएर बसेका थिए । ‘बिहान आएर ओमले आमाको हत्या भएको देखेर हारगुहार गरेको पाइयो । वरपर कसैले पनि ओमले त्यस्तो गरेको आशंका गर्न सकेनन्,’ तिवारी भन्छन्, ‘अनुसन्धान गर्दै जाँदा उनै दोषी देखिए ।’

प्रहरीले हत्या आरोपमा पक्राउ परेका नेपाली र गुरुङ दुवैजनालाई फौजदारी अपराध संहिता अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

दुवैजनालाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी कारबाही अघि बढेको प्रहरीले जनाएको छ । नौमाया प्यारालाइसिसबाट पीडित भएकाले प्रतिकार गर्न सक्ने अवस्थामा नभएको तिवारी बताउँछन् । उनको घाँटीमा नीलडाम र अनुहारमा चोट लागेको थियो ।

टिप्पणीहरू