धरौटीमा छुटेका हत्यारा आरोपित ३ जना पुनः समातिए

धरौटीमा छुटेका हत्यारा आरोपित ३ जना पुनः समातिए

कैलालीका भुपेन्द्र बडुवाल हत्या प्रकरणका तीन जना फरार अभियुक्त समातिएका छन् । जिल्ला अदालतले थुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुनरावेदन मुद्दामा उच्च अदालत दिपायलले अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका ३ बस्ने २६ वर्षे सविनजंग शाही, लम्की चुहा नगरपालिका ३ बस्ने २८ वर्षिय विकास खड्का र बर्दगोरिया गाउँपालिका २ बस्ने २५ वर्षे लोकेन्द्र कुँवर हुन् ।

उच्च अदालतको आदेशअनुसार यसअघि जिल्ला अदालतको तत्काल धरौटी तारेखमा छुटेका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश कार्यान्वयनको निम्ति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको टोलीले नियन्त्रणमा लिएका तीनै जनालाई आज जिल्ला अदालत कैलालीमा पेश गरिने छ ।

लम्की चुहा नगरपालिका बस्ने २३ वर्षीय बडुवालको पुस २३ गते आफ्नै साथीहरुबाट हत्या भएको थियो । त्यसमध्येका मुख्य योजनाकारलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।

टिप्पणीहरू