किन लिन्छन् पटक–पटक नागरिकता ?

किन लिन्छन् पटक–पटक नागरिकता ?

सस्तो नागरिकता लिन विभिन्न बहाना बनाउनेहरूलाई प्रशासनले अनुसन्धान गरेर समात्न थालेको छ । पक्राउ परेकाहरूबाट प्रहरीले तरकारीकै मूल्यमा खरिद बिक्री गरेको रहस्य खुलेको छ ।

नागरिकता बनाउन आउनेको शंकास्पद गतिविधिका आधारमा गरिएको अनुसन्धानबाट त्यस्ता केही घटनाको पर्दाफास भएको हो । ‘शंका लागेर सोधपुछ गर्दा झुटा विवरण पेश गरी नागरिकता लिन खोजेको देखियो’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो, ‘नागरिकता उपलब्ध गराउन सहज प्रक्रिया अपनाउँदा अपनाउँदै असहज व्यवहार र शंकास्पद गतिविधि देखाएपछि शुरु गरिएको सूक्ष्म अनुसन्धानबाट झुटा विवरण पेश गर्नेहरू पक्राउ परेका हुन् ।’

एक महिनाको बीचमा झुटा विवरण पेश गरी नागरिकता लिन खोज्नेहरू तीन जना पक्राउ परेका छन् भने केहिमाथि अनुसन्धान शुरु गरिएको छ । स्थानीय तहबाट सिफारिससहित आएका व्यक्तिहरूले झुटा विवरण पेश गरेको प्रशासनले जानकारी दिएको छ । वडाध्यक्षको सिफारिसबिना नागरिकताको नयाँ र पुरानो दुबै सिफारिस हुन सक्दैन । वडाध्यक्षहरू गाउँमा नबस्ने भएकाले पनि यस्ता समस्या देखिएका हुन् ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–५ का वडाध्यक्ष राजकुमार गौतमले कानुनविपरीत अर्काे विवाह गरेकी श्रीमतीलाई समेत नागरिकता सिफारिस गरिदिनुभएको छ । पहिला विवाह भएकी श्रीमती र कान्छीलाई एकैपटक नागरिकता बनाउन सिफारिस गर्ने वडा अध्यक्ष गौतममाथि अनुसन्धान शुरु भएको छ । प्रशासनले पहिलो विवाह भएकी श्रीमतीको नागरिकता बनाएर पठाएको छ भने अर्काेको बनाएको छैन ।

काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका घर भएका एक व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट २०७७ चैत १२ गते नेपाली नागरिकता प्राप्त गरी विदेश जाने प्रलोभनमा आफ्नै दाइलाई बुवा उल्लेख गरे, किर्ते नक्कली जन्मदर्ता बनाई नाबालक भाइलाई काकाको नाममा सनाखत गराएर पुनः २०७८ पुस २५ गते झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिए । उनले प्राप्त गरेको पछिल्लो नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालयले २०७८ फागुन १३ गते रद्द गरेर अनुसन्धान थालिएको प्रहरी प्रमुख चक्रराज जोशीले बताउनुभयो ।

धुलिखेल नगरपालिका–६ बस्ने वर्ष ३८ का सुभाषकुमार श्रेष्ठले २०४९ पुस २९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाली नागरिकता प्राप्त गरेका थिए । सोही आधारमा कतार एयरलाइन्समा जागिर खाए । छाडेर फेरि त्यहीं जागिर खान खोज्दा निजले दिएको आवेदनमा उमेर बढी भएपछि २०७१ वैशाख २० गते पुनः काभ्रेपलाञ्चोकबाट दोहोरो नागरिकता प्राप्त गरे ।

जिल्ला प्रशासन कार्यालयले २०७८ फागुन १३ गते दोश्रो पटकको नागरिकता प्रमाण पत्र रद्द गरी अनुसन्धान गरिरहेको छ । यसअघि रोशी गाउँपालिकामा पनि नक्कली अभिभावक बनेर नागरिकता लिन खोज्ने दुई जना पक्राउ परेका थिए । नमोबुद्ध नगरपालिका घर भइ शिखरआम्बोटे माईती भएकी एक महिलाले दोहोरो नागरिकता बनाएर विदेश गएकी छन् ।

बनेपाको एक परिवारले अमेरिका पठाउने शर्तमा झुटा विवरण पेश गरी नागरिकता बनाइदिएको छ । केही वर्षअघिलाई नागरिक नेपालकै भएको झुटा विवरण पेश गरी नागरिकता उपलब्ध गराइएको थियो । यसै काण्डमा बनेपा नगरपालिका–६ का वडासचिव केही महिनाअघि हिरासतमा बसेका थिए ।

– मोतिराम तिमल्सिनाबाट

टिप्पणीहरू