अध्यक्ष ओलीद्वारा जसरी पनि जित्न,जति पनि भित्र्याउन निर्देशन
पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नका लागि चुनावी रणनीति बनाउन बसेको नेकपा एमालेको तेश्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको दुई दिने बैठक ‘जीतदेखि जीतसम्म’ को रणनीति तय गर्दै सम्पन्न भएको हो ।
आज बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले जसरी पनि चुनाव जित्ने गरी तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ । सो क्रममा उहाँले देशभर एमालेको पक्षमा माहोल बनाउन पार्टी प्रवेशलाई व्यापक बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै ओलीले एकतावद्ध भएर कमरेडली भावना प्रदर्शन गर्न, भड्किलो नहुन र कम्युनिष्ट आचरण लागू गर्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार अध्यक्षले जो जसरी भए पनि पार्टी प्रवेशलाई महत्व दिन निर्देशन दिनुभएको छ ।
एमालेका लागि स्थानीय तहको चुनाव जीवन-मरणको सवाल भएकाले एकतावध्द भएर अभियानमा लाग्न अध्यक्ष ओलीले निर्देशन दिनुभएको हो । केन्द्रीय सदस्यहरुलाई स्थानीय तह निर्वाचन पार्टीको पक्षमा पार्न आ-आफ्ना भूगोलमा खट्न पनि ओलीले अह्राउनुभयो ।
‘कम्युनिष्ट आचरण देखाऊ’ र ‘जसलाई पनि पार्टी प्रवेश गराऊ’ भन्ने अध्यक्षको विरोधाभाषपूर्ण निर्देशनले केन्द्रीय सदस्यहरु भने अन्योलमा परेका छन् ।
‘कम्युनिष्ट आचरण देखाऊ’ र ‘जसलाई पनि पार्टी प्रवेश गराऊ’ भन्ने अध्यक्षको विरोधाभाषपूर्ण निर्देशनले केन्द्रीय सदस्यहरु भने अन्योलमा परेका छन् । नेताहरुका अनुसार कम्युनिष्ट आचरण देखाउने हो भने जसलाई पनि पार्टी प्रवेश गराउन नमिल्नुपर्ने हो ।
बैठकले ओलीको प्रतिवेदन पारित गरेको छ भने स्थानीय तह निर्वाचन उम्मेदवारको मापदण्डबारे निर्णय भएको छ । यसअघि हिजोको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि सुझाव राख्न चाहनेका लागि लिखित टिपोट बुझाउन भनिएको थियो । बैठकमा बोल्न नपाए पनि थोरै सदस्यले लिखित टिपोट बुझाएर चित्त बुझाएका छन् ।
केही महिला केन्द्रीय सदस्यले चुनावको प्रमुख पदमा ३३ प्रतिशत उम्मेदवार बनाउन सुझाव टिपाएको बताइन्छ । ओलीले एमालेकै अडानले महिलालाई ३३ प्रतिशतको आरक्षण छुट्याउने व्यवस्था संविधानमा राखिएको भाषण गरे पनि प्रतिवेदनमा यसबारे केही नलेखिएपछि महिला कमरेडहरुले लिखित टिपोट बुझाएको एक केन्द्रीय सदस्यले बताए । अघिल्लो चुनावमा एमालेले जम्मा १८ जनालाई प्रमुखको टिकट दिएको थियो,त्यसमा १० जनाले जितेका थिए ।
आजको बैठकमा केन्द्रीय सदस्य रेखा झाले पार्टीको आन्तरिक विषय मिडियालाई दिएको कुरा पनि उठेको थियो । रौतहटमा पूर्वमाओवादी नेता प्रभु साहले एकलौटी पदाधिकारी घोषणा गरेको भन्दै रेखाले ओलीलाई सम्बोधन गरेर लेखेको पत्र त्यसअघि नै मिडियामा पुगेपछि आक्रोशित हुनुभएका ओलीले मिडियामा बाँड्ने भए मलाई किन दिएको भनेर बैठकमा प्रश्न गर्नुभएको हो ।
त्यस्तै हिजो बैठक शुरुआत गर्दै अधिकांश समय नेता घनश्याम भुसालमाथि खनिनुभएका अध्यक्ष ओलीले आज समापनमा पनि वाम एकताको गीत नगाउन सचेत गराउनुभएको बताइन्छ ।
बैठकमा ओलीसंगै विष्णु रिमाल,प्रदीप ज्ञवाली र शंकर पोखरेलले पनि बोलेका थिए । रिमालले आर्थिक व्यवस्थापनको पाटोबारे धारणा राखेका थिए भने प्रदिप ज्ञवालीले विधानको सम्झाएका थिए । शंकरले भने बैठक सन्चालनमा समन्वय गरेका थिए । आधा दर्जन बढी उपाध्यक्षहरुले भने आज पनि बोल्न पाएनन् ।
टिप्पणीहरू