प्रहरीमा एआइजी ३ र नायव निरीक्षकमा १४ सय बढी नयाँ दरबन्दी

प्रहरीमा एआइजी ३ र नायव निरीक्षकमा १४ सय बढी नयाँ दरबन्दी

नेपाल प्रहरीको एआइजीलगायत विभिन्न पदमा नयाँ दरबन्दी थपिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकन प्रतिवेदन २०७८ मा गरिएको सिफारिसबमोजिम क्याबिनेट बैठकले ती दरबन्दी थप गरेको हो ।

मन्त्रिपरिषद्को गत फागुन ५ गतेको निर्णयानुसार प्रहरी प्रधान कार्यालयमा रहने गरी अतिरिक्त महानिरीक्षक पदमा तीन वटा थप गरिएको छ । नयाँ थपिएका पदसमेत गरेर प्रहरीमा अब एआईजीको संख्या ७ हुनेछ । नयाँ थपिएका एआइजीको दरबन्दीअनुसार प्रशासन विभाग,प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरोमा एक एक जना रहने बनाइएको हो ।

यसैगरी नेपाल प्रहरी र प्रदेश प्रहरीमा विद्यमान प्रहरी नायव निरीक्षक पद ४ हजार दुई सय ९६ को ३३ प्रतिशत नयाँ थप गर्ने निर्णय पनि क्याबिनेटले गरेको हो । जसअनुसार उक्त पदमा अब १४ सय १८ जना थपिएर कूल पाँच हजार सात सय १४ कायम भएको छ ।

त्यसैगरी प्रहरी वरिष्ठ नायव निरीक्षकमा १४ सय १८ जना छन् । जसमा जनपद ११ सय ७१ र प्राविधिक दुई सय ४७ जना हुन् । प्रहरी हवल्दार १४ हजार नौ सय ८९ को २५ प्रतिशतबाट प्रहरी वरिष्ठ हवल्दार ३७ सय ४८, जनपद ३३ सय ८३ र प्राविधिक तीन सय ६५ कायम भएको छ ।

प्रहरी जवानतर्फ ४६ हजार दुई सय १९ को ३३ प्रतिशत प्रहरी सहायक हवल्दार १५ हजार दुई सय ५३ कायम भएको छ । जसमा जनपद १४ हजार पाँच सय ६७ र प्राविधिक छ सय ८६ पद कायम गर्नको लागि पद दर्ता गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लेखी पठाएको हो ।

टिप्पणीहरू