वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोग आवेदन अनलाइनबाट
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जाँदा मृत्यु वा घाइते भएकालाई दिने आर्थिक सहायता लिन चाहने परिवारले अब अनलाइनबाट नै निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डले वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटना भएको मितिले एक वर्षभित्र बोर्डबाट नियमानुसारको आर्थिक सहायता वा क्षतिपूर्तिका लागि स्थानीय तह मार्फत्समेत निवेदन दिन सकिने व्यवस्था कार्यान्यवयनमा ल्याएको हो ।
२०६४ को नियमावलीलाई संशोधन गरेर थप सरल र सहज बनाउने उद्देश्यले बोर्डको सचिवालयबाट अनलाइन सफ्टवेयर प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याउन लागिएको बोर्डले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागनु २९ गते मन्त्रीस्तरीय निर्णय गर्दै पीडित परिवारले घटना भएको एक वर्षभित्र अनलाइनमाध्यमबाट फर्म भरेर स्थानीय तहबाटै सहायता लिने व्यवस्था गरेको छ ।
वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७८’ स्वीकृत गरेपछि उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । बोर्ड सचिवालयबाट प्रवाह हुने सेवाका लागि स्थानीय सेवाग्राहीलाई सहजीकरण गर्न इच्छुक सबै स्थानीय तहले यहि चैत मसान्तभित्र आधिकारिक व्यक्तिको सम्पर्क नम्बर, इमेल ठेगाना र दस्तखत नमुना उल्लेख गरि सचिवालयमा पत्राचार गर्नसमेत आग्रह गरिएको छ ।
टिप्पणीहरू