यताका वामपन्थी चीन जाने,उताका आज आउने

यताका वामपन्थी चीन जाने,उताका आज आउने

नेपालमा वाम गठबन्धन तितरवितर भएको बेला प्रमुख दुई कम्युनिष्ट पार्टीका नेताहरु उत्तरी छिमेकी चीनको भ्रमणमा निस्किएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एउटा टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङसहितको अर्को टोली त्यसतर्फ उडेको हो ।

एमसिसीविरोधी प्रखर माओवादी प्रमुख सचेतक गुरुङ वर्षमान पुन र ओनसरी घर्तीलाई लिएर आज बिहान चीनतर्फ गएका हुन् । एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन माओवादी नेताहरु त्यसतर्फ लागेको बताइएको छ ।

एमाले उपाध्यक्ष पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र प्रदेश सांसद मीना रखाल चीनमै छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चीनको खुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एन्ड कल्चरल एक्सचेञ्ज’ मा भाग लिन एमाले टोली चीन पुगेको हो ।

यता,आजै चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण हुँदैछ । नेपालमा वामपन्थी एकतामा जोड दिँदै आएको चिनियाँ कम्युनिष्ट पार्टीका उपल्लो तहका नेता वाङको नेपाल भ्रमणकै सेरोफेरोमा एमाले र माओवादी केन्द्रका नेताहरू चीन जानुलाई चासोका साथ हेरिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने संकेत गरेको तथा एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुल्ला राखेको सन्दर्भमा एमाले र माओवादी केन्द्रका नेताहरू एकैपटक चीन जानुलाई सामान्य रुपमा मात्रै बुझ्न नहुने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

टिप्पणीहरू