४ बजे आउँदैछन् चिनियाँ पाहुना

४ बजे आउँदैछन् चिनियाँ पाहुना

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । वाङ दिउँसो चार बजे काठमाडौँ ओर्लने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउन लागेका विदेशमन्त्री वाङ पाकिस्तान, अफगानिस्तान, भारत हुँदै काठमाडौँ आइपुग्ने बताइएको छ ।

परराष्ट्रका अनुसार काठमाडौँ ओर्लिएलगत्तै वाङ बत्तिसपुतलीस्थि होटल द्वारिकामा आरामका लागि जाने तालिका छ । आज कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।

भोली दिउँसो दुई बजेतिर उनी नेपाल–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । वार्ता सकिएपछि नेपाल–चीनका सम्बन्धीत पदाधिकारीबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

द्विपक्षीय वार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । भोली नै परराष्ट्रमन्त्री खड्काले वाङको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन् ।

विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने जनाइएको छ ।

नेपालको तीन दिने भ्रमण सम्पन्न गरी आइतबार बेलुकी उनी स्वदेश फर्कनेछन् ।

टिप्पणीहरू