कहिलेदेखि शुरु हुन्छ एमसीसीको काउण्टडाउन ?
व्याख्यात्मक टिप्पणीसहित संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि देशमा निक्कै ठूलो हाउगुजी फैलिएको छ, कतिबेला अमेरिकी सेना आएर देश कब्जा गर्ला भन्ने । तर, कतिपय देशको स्थिति हेर्दा हामीले अनुमोदन वा कार्यान्वयन गरे पनि एमसिसी आफैँ फिर्ता जान सक्ने रहेछ ।
जसरी, प्रशारण लाइन निर्माण हुन नदिने, भएमा भौतिक रुपमै क्षति पु¥याउने भनी विभिन्न राजनीतिक दल र समूहले चेतावनी दिइरहेका छन्, त्यस्तो स्थितिमा एमसिसी आफैँ फर्किने अवस्था हुन्छ । यस्तो घटना हालै पश्चिम अफ्रिकामा अवस्थित भूपरिवेष्ठित देश बुर्किना फासोमा भएको छ । त्यहाँ एमसिसी परियोजना शुरु हुनासाथ आन्तरिक द्वन्द्व चुलिएर एमसिसी फिर्ता भएको थियो । यदि नेपालमा पनि त्यस्तो गतिविधि भएमा ऊ आफैँ पन्छिने खतरा छ ।
मुख्यतः विद्युत प्रशारण लाइन विस्तारसम्बन्धी काम सञ्चालन हुने एमसिसीको योजनाअनुसार अहिले पूर्वाधारसम्बन्धी काममात्रै अगाडि बढेको हो । जग्गा अधिग्रहण गर्ने, सडक निर्माणजस्ता कामको पूर्वयोजना बनेका छन् । तर, न जग्गा अधिग्रहण गरिएको छ, न सडक निर्माण नै थालिएको छ । त्यसैले अहिलेको स्थितिलाई ‘इन्ट्री इन्टु फोर्स’ भनिन्छ । यो भनेको पूर्वाधार निर्माणकाल हो ।
यो समयपछि शुरु हुने निर्माणकालबाट मात्र उक्त परियोजनाको अवधी गणना हुन्छ । संसदबाट एमसिसी पारित भएको मितिले पाँच वर्षको गणना भन्ने होइन । काम शुरु भएको मितिले र काम शुरु हुनुभन्दा अगाडि गर्नुपर्ने कामहरू गर्ने समयलाई काटेरमात्रै पाँच वर्ष गणना हुने सम्बद्ध व्यक्तिहरू बताउँछन् । भनिन्छ, पूर्वाधार निर्माणका लागि अझै १२ देखि १५ महिनाको समय लाग्छ ।
जस्तो कि, त्रिशुली, रातमाटे, दमौली, बुटवलतिर ट्रान्समिशन लाइनको सबस्टेशन बनाउनुपर्छ । त्यसअघि ती ठाउँको जग्गा प्राप्ति भएको हुनुपर्छ । सडक बनाउनुपर्ने हो भने पनि त्यो ठाउँ सरकारको नाममा आएको हुनुपर्छ । र, त्यसपछिको पाँच वर्षभित्र काम सक्नुपर्छ । एमसिसी परियोजनाका लागि अहिलेसम्म नेपाल सरकारको १३ अर्बभन्दा बढी खर्च भइसकेको छ । यदि पाँच वर्षमा काम सकिएन भने पाँच वर्ष पुग्नासाथ एमसिसी आफैँ फर्किन्छ ।
त्यसमाथि यसको कार्यान्वयनमै शंका गरिँदैछ । किनभने, एमसिसीको बारेमा नेपालको जनमत विभाजित छ । विप्लवहरूले एनसेलको टावर भत्काएझैँ एमसिसीले बनाउने ट्रान्समिशन लाइनमा क्षति पु¥याउने हो भने ऊ नेपालमा धेरै दिन रहन मान्दैन । सडक बनाउनु गाह्रो काम होइन, तर ट्रान्समिशन लाइन डाँडाकाँडा छिचोल्दै लैजानुपर्छ । विप्लवले ट्रान्समिशन लाइन हान्न थाल्यो भने एनसेलले जसरी एमसिसीले चन्दा दिँदैन, आफैँ छोडेर हिँड्छ ।
बाहिर–बाहिर ठूलै हौवाबाजी चले पनि एमसिसीभित्र भने बिजोग छ । पाँच तारे होटल याक एण्ड यतिमा कार्यालय छ । लाग्दो हो, सुविधासम्पन्न छ त्यो । तर, कर्मचारीका सेवाशर्त राम्रो नहुँदा र परियोजनाको भविष्यबारे बेलैमा टुंगो नलाग्दा थुप्रैले जागिर छोडिसकेका छन् । त्यहाँका कार्यालय प्रमुख खड्ग बिष्ट आफैँमा मिजासिलो छन्, तर उनीसँग काम गर्ने कर्मचारीहरू पालैपालो जागिर छोडेर हिँडिरहेका छन् ।
समस्यामा अमेरिका
सोभियत संघको विघटन र जर्मनको एकतापछि शक्ति राष्ट्रका रुपमा उदय भएको अमेरिकाले पुँजिवादी अर्थव्यवस्थाको अगुवाई त ग¥यो, तर यतिबेला उसको आफ्नै पुँजिबजार संकटमा छ । यो क्रम सन् २००८ बाटै शुरु भएको हो । भनिन्छ, पुँजिवादको नेतृत्व गलत दिशातिर गयो ।
अहिले विश्व पुँजिबजारमा चीनको चमत्कार शुरु भएको छ । भनिन्छ, हरेक दिन एउटा अर्बपति जन्मिन्छ । अर्थात्, सबभन्दा बढी अर्बपति चीनमा छन् । थुप्रै देशमा चीनको संयुक्त लगानीका परियोजना छन् । हाइब्रिड भनेजस्तो राजनीति र अर्थव्यवस्थाको मोडल हो, चिनियाँ मोडल । अमेरिकाले आफूलाई पुँजिवादको केन्द्र भन्छ । तर, उसको शक्ति क्षीण भइसक्यो । किनभने, अमेरिकाले जहाँ हात हाल्यो, त्यहीँ अस्तव्यस्त छ । अफगानिस्तान, इराक, लिबिया, सिरिया हुँदै अहिले युक्रेन त्यसको उदाहरण हो ।
नेपालले भने कुनै बेला अनन्य सहयोगीका रुपमा रहेको रुसलाई युक्रेन युद्धको मामिलामा चिढ्याएको छ । यसरी नेपाल अमेरिकन लबीतिर गएको नाममा चीनलाई पनि चिढ्याइएको बताइन्छ । एकातिर अमेरिका इण्डो प्यासिफिक भन्दै हामीतिर आउने, हामी भने निकट छिमेकीहरूलाई चिढ्याएर हजारौं माइल परको लाइन पक्रिने ठाउँमा पुगेका छौं । सन्तुलित सम्बन्ध बिगारेका छौं भनिँदै छ ।
टिप्पणीहरू