नेपालको घाँस चीनमा लैजाने बाटो खुल्यो
नेपाल र चीनबीच आज नौ वटा समझदारीपत्रमा हस्ताक्षर भएकाे छ । आज भएकाे समझदारीपछि चीनमा नेपालबाट घाँस निर्यात गर्ने बाटो खुलेकाे छ ।
आज दिउँसो परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यीबीच सिंहदरबारमा भएको भेटवार्तामा उक्त समझदारी भएको हो । भेटवार्तामा मन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता रहेको चिनियाँ समकक्षीलाई जानकारी गराउनुभयो ।
नेपाल र चीनबीच हस्ताक्षर हुने समझदारीहरुमा आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारी, खोप हस्तान्तरण र मर्मत सम्भार एवम् स्तरोन्नति पश्चात् अरनिको राजमार्ग हस्तान्तरण तथा घाँस निर्यातलगायत मुख्य हुन् ।
बालुवाटारमा प्रधानमन्त्री र विदेशमन्त्री वाङको भेटवार्ताकाे क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्य माध्यमबाट निरीक्षण गरिँदैछ ।
आजै साँझ परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नुहुने बताइएको छ ।



टिप्पणीहरू