वेलहोपको पर्खालभित्र अभ्युदयको दाबी

वेलहोपको पर्खालभित्र अभ्युदयको दाबी

चितवनको भरतपुर–५, कल्याणपुरस्थित अभ्युदय बहुद्देश्यीय सहकारी संस्थालाई आफ्नो जग्गा पाउन हम्मे–हम्मे परेको छ । खोज्दा भेटिएपनि फर्काउन मुश्किल छ ।

पशुपक्षीको दाना उत्पादन गर्ने ठूलै कम्पनी नेपाल वेलहोप एग्रिटेक प्रा.लि.को कम्पाउण्डवालभित्र अभ्युदयको जग्गा देखिएको छ । आफ्नो जग्गा छोडिदिन अभ्युदयले वेलहोपलाई भन्दै आएको वर्षाैं भइसक्यो तर वेलहोपले बेवास्ता गर्दै आयो । पहिले त छिमेकी हो, एकदिन फर्काइहाल्छ भनेर अभ्युदयले त्यति साह्रै कर पनि गरेको थिएन । अहिले भवन बनाउन परेपछि भने जसरी पनि आफ्नो जग्गा फर्काउने चटारो परेको छ ।

केही अघि अभ्युदयले नापी कार्यालयका कर्मचारी बोलाएर जग्गा नाप्न समेत लगायो । सो क्रममा बाटोबाट हेर्दा अभ्युदयको जग्गा पर्खालभन्दा उता वेलहोपतर्फ जाने नै देखियो । सोहीअनुसार नापी कार्यालय भरतपुरका सर्वेक्षकहरूले तयार पारेको मुचुल्कामा वेलहोपका कर्मचारी रुद्रमणि कँडेलले पनि स्थानीय साक्षीको रूपमा हस्ताक्षर गरेका थिए ।तर पछि आफ्नो नाम हटाइदिन भन्न थाले । नापीका कर्मचारीहरूले नमिल्ने बताएपछि कार्यालयमै गएर फोटो खिच्ने बहानामा उक्त मुचुल्का कागज मागेर आफ्नो नाम केरिदिए । सरकारी लिखत त्यसरी जबरजस्ती केरमेट गरेको कसुरमा उनलाई पुलिसले पक्राउ गरेकोमा गल्ती भयो भन्दै आत्मालोचनाको कागज गरेर छुटकारा पाएका छन् ।

नेपाल वेलहोप एग्रीटेक प्रा.लि.का सञ्चालक सुरेश वैद्य हुन् । उनका पिताले पहिले यहाँको जग्गा लिजमा लिएर एग्री फ्लोरा कम्पनी चलाएका थिए । लिजमा लिएको जग्गा पछि आफैं किन्न सफल भए । पिताकै पालामा लगाइएको पर्खाल भत्काएर जग्गा छोड्न अहिले सुरेश वैद्यहरूको मनले नमानिरहेको बताइन्छ । अभ्युदयको जग्गा एक कठ्ठा मात्रै हो । एग्री फ्लोरा प्रा.लि., नेपाल वेलहोप एग्रीटेक प्रा.लि. र सुरेश वैद्यको नाममा थुप्रै जमिन छ यहाँ ।

वेलहोपको तर्फबाट पनि नापी कार्यालयमा आफ्नो जग्गा नाप्न निवेदन परेपछि गत फागुन २० गते नापीबाट उही अमिन गएर नाप्ने काम भयो । पछाडि नहरबाट नाप्दा वेलहोपकै केही जग्गा नपुगेको देखिएको सर्वेक्षक नवीन अधिकारी बताउँछन् । बताइएअनुसार नहरपारि पनि वैद्यहरूकै जग्गा पर्छ तर उनीहरू उता जान मान्दैनन् । अभ्युदयको भनाइचाहिँ यो छ कि वेलहोपको आफूसँग जोडिएको प्लट मात्र नापेर छिनोफानो गरिनुपर्छ ।

अभ्युदयका व्यवस्थापक उत्तमकुमार सापकोटाका अनुसार सहकारीको जग्गा वेलहोपतर्फ पछाडिको पर्खालभित्र पाँच मीटरजति परेको छ । वेलहोपका साहुको आवासतर्फको कम्पाउण्डभित्र पनि सहकारीको केही जग्गा पर्ने उनले बताए । जग्गा लालपुर्जा मात्र हेरेर किनेको अभ्युदयका संस्थापक अध्यक्ष नवराज चापागाईंको भनाइ छ । आफूहरू जग्गा लिने प्रक्रियामा रहेको र आवश्यक परे पत्रकार सम्मेलन गर्ने भन्दै वर्तमान अध्यक्ष लेखनाथ खनाल अरु केही बोल्न चाहेनन् ।

अभ्युदय सहकारीको सल्लाहकार समेत रहेका वडाअध्यक्ष पदमपाणि सुवेदी भन्छन्, ‘सहकारीको जग्गा वेलहोपले च्यापेको छ, उसले जसरी पनि पर्खाल भत्काएर अभ्युदयलाई जग्गा छोड्नुपर्छ ।’ सुरेश वैद्य पुँजीपति मान्छे, सहकारीको जग्गा स्थानीय जनताको थोरै–थोरै पुँजी जम्मा गरेर जोडेको सम्पत्ति भन्दै नछोडे वेलहोपलाई अप्ठ्यारो पर्ने स्थिति आफूले देखेकोसमेत वडाअध्यक्ष सुवेदीले बताए ।

– अजय गोर्खाली

टिप्पणीहरू