बिहानै क्याबिनेट बैठक,होला त राजदूत नियुक्ति ?
अहिले बिहान ९ बजे क्याबिनेट बैठक बोलाइएको छ । सामान्यतयाः अपरान्हको समय बोलाइने क्याबिनेट अहिले बिहान बालुवाटारमा बस्न लागेको हो ।
रिक्त डेढ दर्जन बढी मुलुक र नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढ्ने सम्भावना अधिक रहेको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार भारतको तीन दिने भ्रमणमा जाँदै हुनुहुन्छ । बैशाख १० गतेदेखि स्थानीय तह निर्वाचनको निम्ति आचारसंहिता लाग्दैछ । त्यसैले राजदूत नियुक्तिको एजेण्डाउपर छलफल हुनसक्ने आकलन गरिएको हो ।
आचारसंहिता लागेपछि कम्तिमा बैशाख मसान्तसम्म सिफारिस भएका राजदूतको संसदीय सुनुवाईमा अप्ठेरो पर्नेछ । त्यसैले आज अकस्मात क्याबिनेट बैठक बोलाइएको स्रोतले बताएको छ ।
यता राजदूत नियुक्तिमा सत्ता गठबन्धनका दलहरुबीच नै भागबण्डा मिलेको छैन । अर्कोतर्फ परराष्ट्र मन्त्रालयका आठ जना सहसचिव राजदूतको लाइनमा बसेका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चार वटाको दरले राजदूत मागेका छन् । नेपाली काँग्रेसले यसअघि नै अमेरिका,बेलायत र भारतमा तीन वटा राजदूतको भाग पाइसकेको छ । उसले कतारमा ओमनबाट ५ बर्ष बिताएर फर्केकी शर्मिला पराजुली ढकाललाई सबैको सहमतिको राजदूत बनाउन लागेको चर्चा छ ।
दलहरुबीच संख्यामा कुरो मिलेको छैन भने कसलाई कुन देशमा नियुक्ति दिने भन्नेबारे पनि अर्को सहमति भएको छैन । चीन, जापानलगायतका मुलुकमा धेरैले आँखा लगाएका छन् । यस्तो अवस्थामा अहिले ९ बजे क्याबिनेट बैठक बोलाइएको हो ।
टिप्पणीहरू