बालबच्चाको पोषणका लागि गजुरीका घर घरै लोकल कुखुरा पालन !

बालबच्चाको पोषणका लागि गजुरीका घर घरै लोकल कुखुरा पालन !

-शंकर श्रेष्ठ

जताततै बोइलर कुखुरा पाल्ने किसानहरुको संख्या बढ्दै गर्दा गजुरी गाउँपालिकाका स्थानीयमा लोकल कुखुराप्रतिको मोह बढेको छ ।
स्थानीयहरुले घरघरै लोकल कुखुरा पाल्न थालेका छन् । कुखुरा छुनसमेत हुँदैन भन्ने ब्राहमणले समेत घरमा कुखुरा पालेका छन् । गजुरी गाउँपालिका–२,डाँडागाउँकी दुर्गा सिलवाल भन्छिन्–‘बालबच्चाको पौष्टिक आहारकै लागि भएपनि अहिले घरघरमै लोकल कुखुरा पाल्न थालिएको छ ।’

दुर्गाको घरमा अहिले २५ वटा कुखुरा छ । तर,उनले आजको दिनसम्म कुखुराको मासु खाएकी छैनन् । बालबच्चालाई खुवाएर बाँकी बसेको कुखुरा बेची राम्रै आम्दानी गरिरहेकी छन् । ‘आफू खान्न,बच्चालाई समय समयमा मासु खुवाएर बचेको कुखुरा बेच्दा राम्रो आम्दानी भइरहेको छ’, उनले भनिन् । एउटा भाले २ हजारको दरले हचुवामा छानिछानी बेच्ने गरेकी छन् ।

लोकल कुखुरा ग्रामीण बस्तीका प्रायः सबै घरमा पालिएका हुन्छन् । उद्देश्य विना नै पालिका कुखुरा न फस्टाउँछ न त स्थानीयले त्यसबाट फाइदा लिन सकेका हुन्छन् । तर, गजुरी गाउँपालिकाभित्रका अधिकांश स्थानीयले भने लोकल कुखुरालाई नै घरायसी आम्दानीको श्रोत बनाएका छन् ।

घर वरपर भएका झारबुट्टा घाँस नै खाएर पनि खाएर कुखुरा हुर्कने र धान,मकै गहुँलगायतका अन्न नै आहाराका रुपमा दिन सकिने भएकोले पनि कुखुरा घरायसी आम्दानीको श्रोत बनेको हो । परम्परागत कुखुरा पालनलाई नै व्यवस्थित गरेर घर खर्च चलाउनेहरु पनि गजुरीमा धेरै छन् ।

परम्परागत कुखुरा पालनलाई नै व्यवस्थित गराउँदा राम्रै आम्दानी भइरहेको गजुरी–१ उज्यालोगाउँकी हिरा बिकले बताइन् । अहिले हिरासँग भाले-पोथी गरी ३२ वटा बेच्ने बेला हुँदै गरेको कुखुरा छ । भन्छिन्–‘पहिले पनि अलिअलि पाल्ने गरेका थियौं,अहिले अझ राम्रो भएको छ ।’

हिराले पालेको आधाजसो कुखुरा त गाउँमै बिक्रि हुन्छ । पूजा चलाउन, सुत्केरी र बालबच्चालाई खुवाउन भन्दै गाउँकै मान्छेले कुखुरा किनेर लाने गरेको उनी बताउँछिन् । गाउँमा नबिकेको कुखुरा गजुरी,मलेखु, बेनिघाटलगायतका होटल व्यवसायीले किनेर ल्याउने उनले बताइन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) ले गजुरी गाउँपालिकामा कुखुरा वितरणसँगै घरबारी पोषण बगैँचाको लागि तरकारी र फलफूलको बिउ पनि वितरण गर्दै आएको छ ।

दुई वर्षसम्मका बालबालिका,किशोरी, गर्भवती एवं सुत्केरी महिलाहरुको पोषणसम्बन्धी चेतना अभिबृध्दि गरी खानपानमा सुधार ल्याउने र स्थानीय खाद्यवस्तु उत्पादनमा विविधिकरण एवं सुधार र खाद्य परिकार निर्माणमा विविधता ल्याई पोषण सुरक्षामा सुधार ल्याउने उद्देश्यसहित गजुरी गाउँपालिकाका ८ वटै वडामा विभिन्न गतिविधि सन्चालन गर्दै आएको फ्यानसेपकी आयोजना सहजकर्ता शर्मिला नेपालले बताइन् ।

गजुरीमा फ्यानसेपले २ वर्षमा ४७ वटा पोषण समूह गठन गरेको छ । एकजना सदस्य बराबर ५ वटा कुखुरा ८५ प्रतिशत अनुदानमा वितरण गरिएको सहजकर्ता नेपालले जानकारी दिइन् ।

पोषण सुरक्षाका दृष्टिकोणले संवेदनशील समूह निर्माण गरेर त्यही समूहका सदस्यहरुलाई आवश्यक सहयोग गर्दै कुखुरा पालन गरी मासु र अण्डाको उपभोगले पोषण अवस्थामा सुधार आएको छ । पहिलेको तुलनामा बालबालिका, गर्भवती,सुत्केरी आमाहरुको स्वास्थ्यमा सुधार आउन थालेको गजुरी–२ की स्वास्थ्य स्वयंसेविका मीना लामाले बताइन् ।घरमै कुखुरा पालेर बालबच्चालाई मासु र अण्डा खुवाउनकै लागि घरमै कुखुरा पाल्न थालेको सीता खरेलले बताइन् । ‘छोरा र छोरीको गरी २ जना बच्चा छ,त्यसमाथि पनि बच्चालाई यहीँ छोडेर छोरीज्वाई विदेशमा जानुभएको छ’, आमाको दूधसमेत खान नपाएको बच्चालाई मासु,अण्डा खुवाउन कुखुरा सजिलो भएको छ’ खरेलले भनिन् ।

लोकल कुखुरालाई बजारको पनि कुनै समस्या छैन । तयारी हुनेबित्तिकै केहि हप्तामै बिक्रि भइहाल्छ । प्रतिकिलो एक हजारसम्ममा बिक्रि हुँदै आएको छ । पछिल्लो महिनाहरुमा ६ महिनामा तयारी हुने कुखुराको चल्ला लगेर गाउँमै हुर्काउन पनि थालेका छन् ।

कुखुरा पालनमा गाँउपालिकाबाट पनि राम्रो सहयोग पाएको स्थानीयहरु बताउँछन् । कुखुरा पालन गर्ने किसानलाई गाँउपालिकाको तर्फबाट गर्न सकिने सहयोग गरिएको र माग र आवश्यकताअनुसार निरन्तर सहयोग गरिरहने गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए ।

टिप्पणीहरू