मोरङको लेटाङमा ‘एउटा बिराउने सारा पिराउने !’
‘एउटा बिराउने सारा पिराउने’ यो कथन मोरङको लेटाङमा हालै भएको एक जनाको हत्याकाण्डसँग ठ्याक्कै मेल खाएको छ । गत चैत ६ गते साँझ लेटाङमा एक जना महिला प्रहरीको ज्यान जाने गरि आपराधिक घटना भएको थियो । स्थानीय अराजक समूहको आक्रमणबाट भएको उक्त घटनामा प्रहरी जवान २६ वर्षिया उर्मीला श्रेष्ठको हत्या भएको थियो ।
लेटाङ–५ खेरुवास्थित जनविकास माध्यमिक विद्यालयका समाजिक शिक्षक पौडेलले आफैँले पढाउने गरिएकी १४ वर्षीया बालिकालाई होली खेल्ने बहानामा यौन दुव्र्यवहार गरेको आरोप लागेपछि स्थानीय आक्रोशित बनेका थिए । पुराना घटनामा पटक–पटक बद्नाम भैसकेकाले प्रहरीबाट न्याय पाउनेमा स्थानीय ढुक्क थिएनन् । मिलापत्र गराएर दोषीलाई उन्मुक्ति दिने प्रपञ्च हुनसक्ने आशंकामा स्थानीय रुष्ट भए । त्यसैले आरोपित शिक्षक पौडेललाई प्रहरीको जिम्मा लगाउन नहुनेमा एकथरीले जोड दिइरहेका थिए । घटना छानबिन गरेर मात्र आरोपितलाई प्रहरीको जिम्मा लगाउनुपर्ने उनीहरुको माग थियो ।
एमाले समर्थक भनिएका आरोपित शिक्षकलाई बचाउन षड्यन्त्र हुनसक्ने खतरा देखेका स्थानीय आन्दोलनको मुडमा पुगिसकेका थिए । त्यतिबेलै आन्तरिक रुपमा मिलापत्र गराउन वडाध्यक्ष र स्थानीय न्यायिक समितिको पहलमा प्रयास पनि भयो । जसका कारण विद्यालय व्यवस्थापन समितिले आरोपित शिक्षकलाई प्रहरीको जिम्मा लगाउन ढिलाई गर्दा स्थानीयको आशंकालाई बल पुर्याएको थियो । त्यसपछि आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडपको अवस्था निम्तियो ।
झडपमा २८ जना प्रहरी र थुप्रै आन्दोलनकारी घाइते भए । प्रहरीको गोली लागेर एक जना स्थानीय युवा गम्भिर घाइते भए । झडपपछि साँझ आरोपित शिक्षकलाई प्रहरीको गाडीमा हालेर ल्याउने क्रममा दिउँसैदेखि आक्रोशित एक समूहले प्रहरीमाथि धारिलो हतियार प्रहार गर्दा प्रहरी जवान श्रेष्ठको निधन भएको हो । घटना यति उग्र भयो कि प्रशासनले सो क्षेत्रमा दुई दिन, दुई रात कर्फ्युसमेत लगाउनु परेको थियो ।
उक्त घटनाका दोषीलाई कारवाही गर्न प्रधानमन्त्री आफैँले प्रहरीलाई कडा निर्देशन दिनुभएको थियो । हाल केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी), १ नम्बर प्रदेश प्रहरीको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय, मोरङको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा घटनाको अलग्गै आन्तरिक छानबिन पनि गराइरहेको छ ।
प्रहरीले द्वन्द्वकालको त्रसादिपूर्ण आतंक बिर्साउने गरि गाउँ–गाउँ सर्च अप्रेसन चलाएर २० जनालाई पक्राउ गरि कर्तव्य ज्यान कसूरमा मुद्दा दर्ता गराएको छ । एक पतित शिक्षक र अर्का अराजक व्यक्तिले गरेका अपराधिक कार्यले निर्दोष दर्जनौंले मुद्दा मामिला खेप्नु परेपछि लेटाङवासीहरु भन्न थालेका छन्, ‘एउटा बिराउने, सारा पिराउने !’
टिप्पणीहरू