पलकाे निवेदन दमौलीबाट पोखरा, आयो यस्तो आदेश

पलकाे निवेदन दमौलीबाट पोखरा, आयो यस्तो आदेश

नाबालिका बलात्कार आराेपमा पुर्पक्षका लागि तनहुँ जेलमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखरामा दर्ता गरेको रिट निवेदनमाथि आज पहिलो सुनुवाई भएकाे छ । जिल्ला अदालत तनहुँले धराैटीमा रिहाइकाे आदेश नदिएपछि त्यसविरुद्ध उनी पुनरावेदनका लागि उच्च अदालत पुगेका थिए ।

प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएकाे थियाे । सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकाेमा अदालतले थप अनुसन्धानकाे लागि पुर्पक्षमा पठाउने आदेश दिएकाे हो । जिल्ला अदालतकाे आदेशबाट असन्तुष्ट उनले उच्च अदालतमा निवेदन दिएका हुन् ।

पलले आफू बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । आजको बहसपछि अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेकाे सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताएका छन् ।

निवेदन दिए पनि थप अनुसन्धान विना आदेश दिन नमिल्ने उनले बताए । तनहुँ अदालतले दिएकाे थुनछेककाे आदेश र आदेश जारी गर्दाकाे प्रतिलिपी, प्रमाण माग गरेकाे उनकाे भनाइ छ ।

तनहुँ अदालतकाे आदेशबारे निर्क्याैल गर्न पुनःबहस हुनेछ । पललाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको थियो ।

टिप्पणीहरू