यसो गरे कसो होला ? भ्यूटावरमा ‘स्मृति’ शब्द बेस नहोला !

यसो गरे कसो होला ? भ्यूटावरमा ‘स्मृति’ शब्द बेस नहोला !

अहिले चर्चामा रहेको रोल्पाको भ्यूटावर मेरो नगरपालिकाको मेरै वडास्थित जंगलमा अवस्थित छ । रोल्पा नगरपालिका ३, सातदोबाटो नजिकै भ्यूटावर रहेको ठाउँ ‘पोखरालेक’ भनेर चिनिन्छ । नजिकैको रमणीय “हलहले’ मैदान र “रक गार्डेन’ सँग जोडिएको हुनाले पर्यटन प्रवर्धनमा यसले महत्वपूर्ण भूमिका खेल्नेमा दुई मत छैन ।

सोमवार भ्यूटावरको भव्यरुपमा उद्घाटन भएको हो । त्यसमा मलाई खुशी लागेको छ । तर ’जनयुध्द स्मृति भ्यूटावर’ का नामले उद्घाटन भएकोमा भने मेरो एउटा गम्भीर असहमति छ, त्यो हो ’जनयुद्ध स्मृति भ्यूटावर’ भित्रको शब्द ’स्मृति’ ।

“नेपाली बृहत् शब्दकोश’ अनुसार ’स्मृति’ भनेको ’स्मरण,सम्झना, हेक्का’ हो । जनयुद्धको नेतृत्व गर्ने ’प्रचण्ड’ ले टावर उद्घाटन र जनयुध्दमै सहभागी मेयर ’पुरण क्षेत्री’ ले सो टावर निर्माण गर्नुभएको छ भने जनयुध्द कसरी स्मृति भयो ? जनयुद्ध त हामीसँगै छ । जनयुद्धलाई स्मृति त हाम्रा नाति पनातिले पो गर्लान् । अर्को कुरा जनयुद्ध ’स्मृति’ होइन,यसले इतिहास निर्माण गरेको हो !

“जनयुद्धको नेतृत्व गर्ने ’प्रचण्ड’ ले टावर उद्घाटन र जनयुध्दमै सहभागी मेयर ’पुरण क्षेत्री’ ले सो टावर निर्माण गर्नुभएको छ भने जनयुध्द कसरी स्मृति भयो ?”

“खेमराज स्मृति भ्यूटावर’ राखेको भए तपाईंले मलाई जीवित सम्झनुहुन्थ्यो र ? कतै हामीबाटै जनयुद्धलाई मार्ने काम पो भयो कि ? सोचौँ । यो मेरो अबुझ विचार मात्रै पनि हुनसक्छ !

एक जुग बाँच्ने मान्छेको जन्मेपछि नाम जुराउन त विधि पुर्याउनुपर्छ । यो भ्यूटावर त जुगौँजुग बाँच्नेछ अब । नाम राख्न किन साँघुरो सोच राख्ने ? फराकिलो मन,फराकिलो दिलले सोचौँ । जे बित्नु बिति त गयो ! जे हुनु राम्रैका लागि भयो ।

हिँड्ने मान्छे लड्छ,लडेपछि फेरि उठेर हिँड्ने क्षमता हुन्छ ऊसँग । स्यावासीलाई सहर्ष स्वीकार्नुस्, आलोचनाबाट पाठ सिकेर अगाडि बढ्नुहोस् !

यो भ्यूटावरको सम्भावित नाम यी हुन सक्थे !
१. जनयुद्ध भ्यूटावरबाट स्मृति शब्द हटाउनुपर्ने : जुन मेयर र माओवादीलाई मन परेको छ ।
२. रोल्पा भ्यूटावर : नगरपालिकाको नामका साथै जिल्लाकै नामको प्रतिनिधित्व हुने
३. सातदोबाटो भ्यूटावर : सातदोबाटोमा अहिले आन्तरिक पर्यटनले चहलपहल बढ्दैछ
४. हलहले भ्यूटावर : टावर नजिकैको रमणीयस्थल
५. पोखरालेक भ्यूटावर : जहाँ भ्यूटावर अवस्थित छ, यो नामले स्थानीय खुशी हुने
६….. अरू पनि राख्न सकिन्छ ।

-खेमराज गाउँले

टिप्पणीहरू