दिल्ली जाने चटारोमा प्रधानमन्त्रीले घोडेजात्रा नहेर्ने
छिमेकी भारतको तीन दिने भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा घोडेजात्रामा सहभागी नहुनुहुने भएको छ ।
अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य हुने गरेको थियो । तर,आज दिउँसो साढे १ बजे दिल्ली उड्ने कार्यक्रम रहेकाले घोडेजात्रामा प्रधानमन्त्री देउवाको सहभागिता नहुने भएको हो ।
‘प्रधानमन्त्रीज्यू आजै भारत भ्रमणमा जानु हुने भएकोले उहाँ सहभागी हुन सक्ने अवस्था भएन । अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा आउनुहुन्थ्यो’,सैनिक प्रवक्ता नारायण सिलवालले भने ।
सैनिक मञ्च टुँडिखेलमा सेनाले आज दिउँसो २ बजे घोडेजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै छ । तर,प्रधानमन्त्री देउवा २ः४५ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समयतालिका छ ।
घोडेजात्राकै दिन भारत भ्रमणको कार्यतालिका बनाएर प्रधानमन्त्री देउवाले परम्परा तोडेको आरोप पनि लागेको छ । भारत भ्रमण पूर्वनिर्धारित भएकाले सोहीअनुसार समय मिलाउनुपर्नेमा त्यसो नगरेर प्रधानमन्त्रीले विगतको अभ्यास मिचेको जानकारहरु टिप्पणी गर्छन् ।
टिप्पणीहरू