नेपाली राजदूतद्वारा ओहोदाको प्रमाणपत्र : बेलायतमा ‘भर्चुअल’, अमेरिकामा ‘पोष्टल’
बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतकी महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । प्रमाणपत्र बोकेर राजदूत दम्पत्ति बकिङहम प्यालेस पुगे पनि आचार्यले महारानीलाई टिभीमा हेर्दै टिभी छेउमा ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमबाट बडामहारानीले ओहोदाको प्रमाणपत्र बुझेको बताइएको छ ।आचार्यसँगै अमेरिकाको लागि नियुक्त राजदूत श्रीधर खत्रीले भने अहिलेसम्म ओहोदाको प्रमाणपत्र बुझाउन पाएका छैनन् ।
उनलाई ह्वाइट हाउसले अहिलेसम्म खबर नगरेको बताइएको छ । यता भारतका लागि नियुक्त राजदूत डा. शंकर शर्माले पनि ओहोदाको प्रमाणपत्र बुझाउन समय पाएका छैनन् । ओहोदाको प्रमाणपत्र नबुझाउँदै उनी आजदेखि तीन दिनसम्म प्रधानमन्त्रीको भ्रमण दलमा राजदूतको हैसियतमा सदस्य बनेका छन् ।
यसअघि गत वर्ष युवराज खतिवडाले पनि लामो समयसम्म अमेरिकी राजदूत जो बाइडेनसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन समय पाएका थिएनन् ।
उनले वासिँगटन पुगेको महिना दिनपछि राष्ट्रपति बाइडेनलाई हुलाकबाट ओहोदाको प्रमाणपत्र पठाएका हुन् । उनी गत असोजमा फिर्ता बोलाइएपछि ह्वाइट हाउस नछिरेरै स्वदेश फर्किने पहिलो राजदूत बनेका हुन् ।
टिप्पणीहरू